बाँके । बालमैत्री गाउँपालिका निर्माणमा खजुरामा तदारुकता देखाइएको छ । बालमैत्री अभियानमा अग्रसर गाउँपालिकाले नीति तथा कार्यक्रमका साथै बजेट विनियोजन गर्दै अभियानलाई अघि बढाइरहेको छ । खजुरा गाउँपालिकाले लिएको बालमैत्री अभियानलाई साथ र सहयोग भने गाउँपालिकामा रहेका बाल क्लब तथा किशोरी क्लबहरुले साथ दिइरहेका छन् ।
उनीहरुले यतिमात्र नभई बाल क्लब, किशोरी क्लब गठन, पुनःगठन र विस्तार गर्दै बालमैत्री गाउँपालिकामा परिणत गराउन कसरतमा जुटेका छन् । गाउँपालिकाका विभिन्न वडा, समुदाय तथा विद्यालय स्तरमा गठित बालक्लब र किशोरी क्लबमा आबद्ध बालबालिकाले बालबालिका सम्बन्धी ब्याप्त समस्या, चुनौतीलाई न्यूनीकरण गर्न समुह छलफलसँगै सम्बद्ध सरोकारवालालाई झक्झकाउने समेत गरेका छन् ।
गाउँपालिकाले बामलमैत्री अवधारणालाई अवलम्बन गरेपश्चात बालक्लबहरूले बालबालिकाको क्षेत्रमा क्रियाशीलरूपमा कार्यक्रमहरु सञ्चालन गर्न थालेपछि परिवर्तन आएको छ । बिहान विद्यालय पुग्ने र बेलुकी घर फर्किने बालबालिका पछिल्लो समयमा बालमैत्री अभियानमा क्रियाशील बन्न थालेका छन् ।
बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, सार्वजनिक सवालमा सरोकारवालालाई झक्झक्याउनेदेखि टोल, विद्यालय सरसरफाइ लगायतका कार्यक्रम बालक्लब तथा किशोरी क्लबले स्वयं सञ्चालन गर्दै आएका छन् । जसका कारण बालबालिकाविच अन्तरक्रिया, ज्ञानसीप र सूचना प्रवाह हुनुका साथै उनीहरुको ब्यवहारमा समेत परिर्वतन आएको छ ।
गाँउमा हुने बालविवाह, बालश्रम, बाल दुव्र्यवहारका घटना होस् विद्यालय जानबाट बञ्चित बालबालिकाका सवाल क्लबका बालबालिकाहरुले सल्लाह र परामर्श दिँदै समस्या समाधानका बाटोहरु पहिल्याउने गरेका छन् । बालबालिकाका सवालमा स्वयम बालबालिकाहरु नै क्रियाशिल भएर अघि बढ्दा यसले सकारात्मक सन्देश दिएको सम्बद्ध सरोकारवालाहरुको बुझाई छ ।
बालमैत्री उन्मुख गाउँपालिका यसअघि बालमैत्री अवधारणाअनुरुप विभिन्न सूचकहरु समेत पुरा गरेको छ । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार खजुरालाई बालमैत्री बनाउन नीति तथा बजेट विनियोजन गर्दै कार्यक्रमहरु अघि सारिएको छ । उनले भने, ‘हामीले बाल संरक्षण नीति निर्माण गरी बालसंरक्षण कोष खडा गर्नुका साथै बालक्लब, सञ्जाल गठन, विस्तार र सञ्चालन कार्यविधि बनाइसकेको छ ।’
पछिल्ला समयमा बालक्लब र किशोरी क्लबमार्फत चालिएका अभियानले गाउँपालिकामा सकारात्मक प्रभाव परेको भन्दै थप कार्यक्रम गर्न हौसला पाएको अध्यक्ष कक्षपतिले बताए । ‘हामी जिल्लाको पहिलो बालमैत्री गाउँपालिकाका रुपमा परिणत गर्न तल्लिन छौं, त्यही अनुरुप बजेट तथा कार्यक्रमहरु विनियोजन गरि बालबालिकाको अर्थपूर्ण सहभागितामूलक रुपमा अघि बढिरहेको छ,’ कक्षपतिले भने ।
उनका अनुसार गाउँपालिकाका केही वडामा अझ पनि बालबालिका समस्या र चुनौतीहरु छन् ती समस्याहरु समाधान गर्न सजग र सचेत बनाइएको छ । बालमैत्री गाउँपालिका निर्माणको नीति अवलम्बन गरेसँगै खजुरालाई पूर्ण खोप तथा साक्षर गाउँपालिका घोषणा भइसकेको छ । बालमैत्री गाउँपालिका निमार्णका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै अध्यक्ष कक्षपतिले बालबालिकाका सवालमा बालबालिकाद्वारा गरिने गतिविधि बढि प्रभावकारी हुने बताए ।
यसै आर्थिक वर्षमा बालमैत्री अभियानका अधिकांश सूचक पुरा गरी गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी भइरहेको छ । सोही अनुसार गाउँपालिकाका सवै वडालाई निर्देशन दिएको बताउँदै अध्यक्ष कक्षपतिले भने, ‘बालमैत्री गाउँपालिका निर्माणका लागि सबैको साथ र सहयोग अपिहार्य छ ।’ यस्तै खजुरा गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले बालमैत्री अभियान अवलम्बन गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको बताए ।
उनले भने, ‘बालमैत्री अभियनालाई ध्यानमा राखेर चालु आर्थिक वर्षमा गाउँपालिकाले रु.१२ लाख बालबालिकाका लागि विनियोजित गरेको छ । ज्ञानोदय उमावि श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ दाहालले गाउँपालिकामा पछिल्लो समय शैक्षिक गुणस्तरता बढेको बताए । उनले भने, ‘शैक्षिक गुणस्तरतामात्र नभई विद्यालयमा विद्यालय जाने उमेरका बालबालिकाको बढोत्तरीसँगै बीचमै कक्षा छाड्नेको संख्यामा कमी आएर विद्यार्थी टिकाउदर बढेको छ ।’
अभिभावकमा शिक्षाप्रति आएको सचेतनासँगै बालक्लब र किशोरी क्लबमार्फत बालबालिकाले चलाएका अभियान प्रबद्र्धनात्मक कार्यक्रमले थप सहयोगी भूमिका दिएको उनको बुझाई छ । श्रोत ब्यक्ति दाहालका अनुसार गाउँपालिकामा बालविवाह, यौनजन्य हिंसा लगायतका केही जटिल समस्याहरु रहेको भए पनि यसतर्फ गाउँपालिका र सम्बद्ध वडा कार्यालयहरु सचेत बन्दै आएको बताए ।
सत्यपाटी - ।