सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषध कारोबारमा समातिने भरियामात्रै

बाँके । दुई साताअघि एक नेपाली महिला भारतको रुपैडिहामा अफिम सहित समातिइन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त टोलीले नेपाली महिलालाई चेकजाँचका क्रममा अफिमसहित पक्राउ गर्यो । उनी रु.५ हजारको लोभमा अफिम पु¥याउनकै लागि नेपालगन्जबाट रुपैडिहा पुगेकी थिइन् ।

भारतीय प्रहरीका अनुसार, लागुऔषध तस्करीको सूचनामा चेकपोष्टमा जाँच गर्दा जाजरकोटकी काली खत्री १ किलो ८ सय ग्राम अफिमसहित फेला परिन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई थप कारवाही अगाडि बढायो । नेपालगन्जको धम्बोझी चोकदेखि रुपैडिहा पुर्याउन तस्करले महिलाको प्रयोग गर्दै आएका छन् ।

पक्राउ परेकी खत्रीले भनेजस्तै लागुऔषधका कारोबारीहरुले व्यवस्थित सञ्जाल नै स्थापना गरेर निष्फिक्री कारोबार चलाइरहेका छन् । प्रहरीले पक्राउ गरेका कारोबारीको बयान तथा अनुसन्धानबाटै पनि यो तथ्य खुल्छ । एकजना पक्राउ परे त्यही काम अर्कोलाई लगाउने, ओसारपसार गरिदिएवापत निश्चित रकम दिने सुविधामा काम लगाउने गरेको पाइएको छ ।

प्रहरीले बाँकेका विभिन्न ठाउँबाट हरेक दिनजसो लागुऔषधसहित मानिस पक्रन्छ अनि ओसारपसारमा संलग्न रहेको अभियोगमा मुद्दा अघि बढाउँछ । तर, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार त्यसरी पक्राउ पर्नेमध्ये अधिकांश ‘भरिया’ मात्रै हुन्छन्, जसलाई आफूले बोकेर ल्याइदिएको सामान के हो भन्ने सुइँको पनि हुँदैन । यो क्रम लगातार बढ्ने क्रममा छ ।

लागुऔषध नियन्त्रणमा खटिएका प्रहरीका अनुसार कारोबारीहरुले गृहिणीलाई समेत लागुऔषध बोकाएको भेटिएको छ । ‘सागसब्जी र खाद्यान्न खरीद गर्न भारतीय बजार पुग्ने गृहिणीलाई पनि लागुऔषध बोकाएको पाइएको छ,’ प्रदेश ५ लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रमूख एवं प्रहरी निरीक्षक बीरबहादुर थापाले भने, ‘यसरी उनीहरुले नयाँनयाँ उपाय लगाएर कारोबार चलाएका छन् । यसले जालो तोड्न गाह्रो भएको छ ।’

प्रहरीले नेपालगन्जको जमुनाहा नाकाबाट वर्षौं अघिदेखि लगातारजसो मान्छे समातिरहँदा पनि प्रतिबन्धित लागुऔषध नेपाल भित्र्याउने क्रम रोकिएको छैन । मान्छे पक्राउ परिरहने तर कारोबार चाहिँ पटक्कै नघट्ने समस्याले प्रहरी हैरान छ । पछिल्लो समयमा प्रहरीले नियन्त्रणमा लिएका कारोबारीलाई ठूला तस्करले समेत परिचालन गरेको पाइएको छ । तर, केही व्यक्ति मात्रै होइन, नेपालगन्जमा ठूलै समूह कारोबारमा लागेकाले लागुऔषध कारोबारको जालो तोड्न प्रहरी सफल हुन सकेको छैन ।

जमुनाहा नाकाबाट भित्रिने लागुऔषध पश्चिम नेपालका धेरै सहरहरु हुँदै काठमाडौंसम्मै पुग्ने गरेको छ । लागुऔषधकै क्षेत्रमा लामो समयदेखि काम गरिरहेका अभियन्ताहरु पनि बाँके हुँदै अन्यत्र ओसरपसार हुने लागुऔषध र कारोबारी संख्या धेरै भएको बताउँछन् । ‘बाँकेमा प्रयोगकर्ताहरु पहिलेभन्दा धेरै घटेका छन्,’ अभियन्ता अभिराज क्षेत्रीले भने, ‘तर, बाँकेमै धेरै कारोबारी पनि छन् । यसको अर्थ बाँके ट्रान्जिटका रुपमा बढी प्रयोग भइरहेको छ ।’

उनका अनुसार ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार प्रहरीले दुई–चार जना प्रयोगकर्ता समात्दैमा भत्काउन कठिन छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि कारोबारीभन्दा पनि बढी प्रयोगकर्ता नै समातिरहेको छ । प्रयोगकर्ता समात्ने तर कारोबारीसम्म पुग्न सक्दा लागुऔषध तस्करीको सञ्जाल बलियो हुँदै गएको हो । लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट बाँके हुने गरेको छ ।

बाँके प्रहरीले केही समयको फरकमा कारोबारीहरु समात्न थालेको लामो समय बितेको छ । तर, कारोबारीहरुको सक्रियता पटक्कै घटेको छैन । यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरु नै बताउँछन् । नेपाली बजारमा सहजै उपलब्ध नहुने लागुऔषधका लागि प्रयोगकर्ताहरु महंगो मुल्य तिर्न राजी हुने गरेका कारण कारोबारीहरु राम्रो आम्दानीको लोभमा जोखिम मोलेर कारोबार चलाइरहेका छन् ।

‘रु.५ हजारका लागि अफिम बोकेर नेपाली महिला रुपैडिहा आएको पाएका छौं,’ रुपैडिहा थाना प्रभारी निरीक्षक मनिष कुमार पाण्डेले भने । नेपालबाट भारत अफिम तस्करी भएर जाने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र प्रदेश नं. ५ ब्यूरो नेपालगन्जले दैनिकजसो लागुऔषध नियन्त्रणमा लिइरहेको छ । यसअघि असार पहिलो साता पनि ठूलो परिणामको अफिम नियन्त्रणमा लिएको थियो ।

बाँके प्रहरीले साढे १८ किलो अफिमसहित चार जनालाई नियन्त्रणमा लिएको थियो । बाँकेको प्रहरी टोलीले जाजरकोट त्रिवेणी नलगाड नगरपालिकाका पृथ्वीबहादुर विक, विरबहादुर विक, राजेन्द्र विक र पूर्वी रुकुम पुथाउत्तरगंगाकी शर्मिला मगरलाई नियन्त्रणमा लिएको थियो । नेपालगन्जमा पक्राउ परेका उनीहरुले पनि केही रकमको लोभमा अफिम तस्करी गरेको बयान प्रहरीलाई दिए ।

‘प्रतिदिन रु.१५ हजार पाउने शर्तमा अफिम नेपालगन्ज पु¥याउने जिम्मा लिएका थियौं,’ प्रहरी नियन्त्रणमा परेकी शर्मिला मगरले पत्रकार सम्मेलनमै भनेकी थिइन् । प्रहरी निगरानीका वावजुद नेपाल–भारत सीमामा लागुऔषधको कारोबार घट्न सकेको छैन । बाँकेका लागुऔषधको कारोबार बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ । पहाडी जिल्लाबाट अफिम ल्याएर नेपालगन्ज सीमामार्फत भारत लैजाने गरिएको छ ।

लागुऔषध तस्करीका लागि भरियाहरुको प्रयोग हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । लागूऔषधका कारण पारिवारिक सम्बन्ध र समाज नै भताभुंगको अवस्थामा जान लागेको बताउँदै यसलाई नियन्त्रण गर्न सबै संयन्त्र परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर वलीले बताए । उनले भने, ‘लागुऔषध नियन्त्रण होइन, निषेध गर्ने गरी कार्ययोजना बनाएर अघि बढेका छौं ।’

लागुऔषधको कारोबार र ओसारपसार नियन्त्रण गर्न छुट्टै विभाग नै परिचालन गरे पनि प्रहरी यसमा उल्लेख्य सफलता हात पार्न सकेको छैन । प्रहरी अधिकांश घटनामा प्रयोगकर्ता वा भरियासम्म मात्रै पुगेको देखिन्छ । जबकी, उनीहरुलाई ज्याला दिएर प्रतिबन्धित लागुऔषध नेपाल भित्र्याउन लगाउने गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । प्रहरी उपरीक्षक वलीले भने, ‘लागुऔषधका भरियामात्रै होइन, यसका मुख्य कारोबारी, स्थानीय एजेण्टलाई समेत पक्राउ गर्ने गरी लागिपरेका छौं ।’

प्रहरीले लागुऔषधको कारोबार बढेको भन्दा पनि प्रहरी चनाखो हुँदै जाँदा पक्राउ पर्ने र मुद्दाको संख्या बढ्दै गएको बताएको छ । नेपालबाट प्रहरी आँखा छलेर भारत पुग्नेहरु भारतीय प्रहरीको फन्दामा समेत पर्ने गरेका छन् । भारतमा लागुऔषधसहित समातिएका धेरै नेपाली अहिले पनि बहराइच जेलमा सजाय भोगिरहेका छन् । पछिल्लो समय प्रहरीले सीमामा कुकुरको प्रयोग गरेर लागुऔषधको निगरानी गरिरहेको छ । यसले पनि जिल्लामा भएको लागुऔषध सम्बद्ध घटना बढेको देखाउँछ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलवार ११:४९