सूचनाको शक्ति - The Power Of Information

        

भत्ता माग्न जाँदा ‘दम्पतीको मृत्यु दर्ता !’

दैलेख । भगवतीमाई गाउँपालिका–४ जगनाथकी ज्योतिकला खत्री ८२ वर्षकी भइन् । उनका श्रीमान् मनिराम खत्री पनि ८४ वर्षका भए । उनीहरु दुवै जनाले ७० वर्ष नाघेदेखि नियमित रुपमा ज्येष्ठ नागरिक भत्ता पाइराखेका थिए । असारको पहिलो साता नै सबैको घरघरै पुगेर गाउँपालिकाका कर्मचारीले हातहातै भत्ता दिए । साउन लागिसक्दा पनि आफूहरुलाई भत्ता किन नदिएको भनेर वडा कार्यालय पुगेपछि उनीहरुलाई भत्ता होइन, अब कहिल्यै भत्ता नपाउने कागज थमाइयो । त्यस्तो कागज थियो ‘दम्पतीको मृत्यु दर्ता !’

मृत्यु दर्ता विवरणमा ज्योतिकलाको २०७५ चैत्र २५ गते र मनिरामको २०७६ वैशाख १० गते निधन भएको व्यहोरा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले प्रमाणित गरेका छन् । अनलाइनबाट पञ्जिकरण गरिने भएकोले गाउँपालिकाका सूचना प्रविधि अधिकृत देवेन्द्र सिंहले अनलाइन इन्ट्रि गरेको खुलेको छ । गएको फागुनमा ज्येष्ठ नागरिक भत्ता लिएपछि दुवै दम्पतीले जगनाथबाट बर्दियाको बाँसगढी नगरपालिका–९ थमनियामा बसाइँ सर्न लागेको बताएका थिए । त्यसै अनुरुप चैतमा ती दुवै दम्पतीले वडाबाट बसाइँसराइ मागे ।

इन्टरनेटको सुविधा गाउँपालिका कार्यालयमा मात्र भएको कारण बसाइँसराइ गराइदिन वडा कार्यालयले गाउँपालिकालाई सिफारिस गर्यो । त्यही सिफारिसको आधारमा सूचना प्रविधि अधिकृत देवेन्द्र सिंहले बसाइँसराइ गरेको भनी अनलाइनमा इण्ट्रि गराए । तर अनलाइनमा इण्ट्रि गर्दा बसाइँसराइ हुनुपर्नेमा मृत्यु दर्ता जनाएको त्यही विवरण तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले प्रमाणित गरेको पुष्टी भएको छ । अनलाइनमा इण्ट्रि गर्दा गल्ती भएको सूचना प्रविधि अधिकृत सिंहले स्वीकार गरे ।

बसाइँसराइ गर्दा मृत्यु दर्ता कसरी भयो ? यसबारे लिखित स्पष्टीकरण मागिएको र यसमा लापरवाही गर्नेहरुलाई कारबाही गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताए । खत्री दम्पतीको विवरण सच्याउन केन्द्रीय पञ्जिकरण विभागमा लेखी पठाइएको पनि उनले जानकारी दिए । चैतमा पेस गरेको बसाइँसराइको कागज किन नदिएको ? असारमा पाउनुपर्ने ज्येष्ठ नागरिक भत्ता नपाएको ? भनेर सोधी खोजी गर्दा शुक्रबार मात्र यो कुरा थाहा भएको ज्योतिकलाकी छोरी नानकला अधिकारीले बताइन् ।

तीन छोरी र तीन छोराहरु सबैले विवाह गरी बाहिरै बस्ने गरेको कारण गाउँमा बस्दै आएका ज्योतिकला र मनिरामलाई जेठो छोरा पदम खत्रीले आफूसँगै बस्ने गरी बर्दिया बोलाएपछि उनीहरुले बसाइँसराइ माग्नुभयो, त्यो बेला उतै पठाइदिउँला भने तर अहिलेसम्म नपाएपछि बसाइँसराइ र भत्ता माग्न जाँदा यस्तो जानकारी आएको नानकलाले बताइन् । गाउँपालिका अध्यक्ष थापाले विभागबाट विवरण सच्याएर बाँचुञ्जेल नियमित सामाजिक सुरक्षा भत्ता पाइरहने व्यवस्था गरिने र पछिल्लो ४ महिनाको भत्ता विवरणमा गलत तथ्यांक भर्ने कर्मचारीलाई तिराउने तयारी भएको बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतवार ११:०६