बाँके । स्थानीय निर्वाचनका बेला उम्मेद्वारहरुले खजुरा गाउँपालिकालाई देशकै नमुना बनाउने भनेका थिए । उबेला निर्वाचनको माहोलमा यस्तो भनेका होलान् भनेर धेरैले विस्वास गरेनन् । गाउँपालिकामा जनप्रतिनिधिहरुले गरेको काम र प्रगति हेर्दा साँच्चै केही प्रगति हुँदैछ भन्ने भान थुप्रैलाई हुन्छ ।
गाउँपालिका क्षेत्रमा पक्की अर्थात् कालोपत्रे, ग्रावेल सडक धमाधम बनिरहेका छन् । शैक्षिक सुधारका लागि पहल भइरहेको छ । गाउँपालिकालाई साक्षर घोषणा भइसकेको छ । स्वास्थ संस्थाहरु स्तरोन्ती हुने क्रममा छन् । किसानहरु व्यवसायीक बनिरहेका छन् । उद्योग खुल्ने क्रम बढ्दै छन् । योसँगै स्थानीयले सहजरुपमा सेवा पाउन सकेका छन् ।
खजुरालाई नमुनारुपमा बनाउन विभिन्न कसरत पनि भइरहेका छन् । खजुरालाई हरित शहरका रुपमा विकास गर्न गत जुलाई ९ मा उज्वेकिस्तानको टासकेन्ट शहरमा खजुरा गाउँपालिका र चिनियाँ इन्स्टिच्यूट फर साउथ–साउथ को–अपरेशन इन अग्रिकल्चरबीच संयुक्त हस्ताक्षर भएपछि खजुराबासीहरु थप उत्साहित भएका छन् ।
गाउँपालिकाका आठवटै वडा समेटिने गरी हरित शहर त्यसमा पनि कृषिको विकासलाई महत्वपूर्ण पाटोका रुपमा लिइएको छ । अहिले गाउँका चोकचोकमा हरित शहर कस्तो बन्छ भन्ने चर्चा भइरहेको छ । खजुराबासीमा खुसीयाली छाएको छ । कसरी हरित शहर बन्छ भन्नेमा स्थानीयहरु कोतुहलता दर्शाइरहेका छन् ।
गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले ‘हरित खजुरा’ परियोजनाका लागि उज्वेकिस्तानमा भएको सम्झौताका बारेमा जानकारी दिँदै कृषिमा दीगो विकास गरि हरित शहरको सपना पुरा गर्ने अवसर प्राप्त भएको बताए । अध्यक्ष कक्षपतिका अनुसार सन् २०२० देखि यो परियोजनाको सुरुवात हुनेछ ।
हरित शहर बनाउन उज्वेकिस्तानमा द्विपक्षीय सम्झौता गरी स्वदेश फर्किएपछि अध्यक्ष कक्षपतिले यो सम्झौता खजुराबासीका लागि मात्र नभई सिंगो राष्ट्रका लागि ठुलो अवसर भएको बताउनुभयो । उनले भने, ‘परियोजना खजुरा गाउँपालिकाकै लागि मात्रै नभएर नेपालकै लागि गौरवको योजना हो ।’
सिंगो राष्ट्रमै खजुरा गाँउपालिकाले संयुक्त राष्ट्र संघ लगायत विभिन्न सहयोगी संस्थाहरुको साथ पाउनु गर्वको विषय भएको भन्दै अध्यक्ष कक्षपतिले भने, ‘यसले कृषिमा आमुल परिवर्तन ल्याउनेछ, सिचाई, प्रविधि, उन्नत बीउविजन, प्रविधिको प्रयोगले कृषि प्रणालीमा सुधार ल्याई समुन्नत र समृद्ध खजुरा हुनेछ ।’
हरित खजुरा परियोजना ‘सुनौलो अवसर’ भएको भन्दै अध्यक्ष कक्षपतिले भने, ‘देशकै लागि गर्व गर्ने अवसर प्राप्त भएको छ । हामी अत्यन्त उत्साहित छौं ।’ कृषिमा समृद्धि भएको हेर्न अबका केही वर्षमा देशविदेशका मानिसहरु खजुरामा आउने छन् । परियोजनाको सफलतासँगै यसले छिमेकी पालिका सहित बर्दिया, सुर्खेत र दाङ हुदै सिंगो राष्ट्रलाई समेट्ने छ ।
इन्स्टिच्यूट फर साउथ–साउथ को–अपरेशन इन अग्रिकल्चरबीच भएको संयुक्त हस्ताक्षरित पत्रमा खजुरा गाउँपालिकामा हरित कृषि विकासको समर्थन गर्दछ भनिएको छ भने दोश्रो बुँदामा गाउँ र शहरी विकासको बीचमा राम्रा अभ्यासहरुको पारस्परिक शिक्षा र सिकाई आदानप्रदानको सुविधा खजुरा गाउँपालिका र चीन क्षेत्रका शहरहरुसँग हुनेछ भनिएको छ ।
‘यसले कृषिमा आमुल परिवर्तन ल्याउनेछ, सिचाई, प्रविधि, उन्नत बीउविजन, प्रविधिको प्रयोगले कृषि प्रणालीमा सुधार ल्याई समुन्नत र समृद्ध खजुरा हुनेछ ।’
एक वर्षअघि गाउँपालिकाका अध्यक्ष कक्षपतिले इन्स्टिच्यूट फर साउथ–साउथ को–अपरेशन इन अग्रिकल्चरले दुबईमा गरेको ग्रीन इकोनोमिक समिट सम्मेलनमा भाग लिएपछि हरित खजुरा बनाउने अभियान सुरुभएको हो । सम्मेलनमा अध्यक्ष कक्षपतिले खजुरालाई कसरी हरित शहर बनाउन सकिन्छ भन्ने अवधारणासमेत प्रस्तुत गरेका थिए ।
कक्षपतिले प्रस्तुत गरेको प्रस्तावनालाई साउस साउथ कर्पोरेसनले चासोका रुपमा लिँदै फेब्रुवरी २३ मा कर्पोरेसनका तर्फबाट मिस्टर एलेक्सले एउटा पत्र पठाउँदै खजुरा गाउँपालिकामा कसरी हरित शहरका रुपमा विकास गर्न सकिन्छ भन्ने सुझाव माग्दै खजुराको विगत र वर्तमान अवस्थासँगै आगामी योजनासहितको पत्र पठाइएको अध्यक्ष कक्षपतिले बताए ।
खजुरा गाउँपालिकाले पठाएको प्रस्तावनाको अध्ययनपछि पुनः कर्पोरेसनका एलेक्स मुले मार्च १८ मा अर्को पत्र पठाउँदै काम गरिने परियोजनाको स्थानीय क्षेत्र, परियोजना स्थापनाको कुल लागत, यसमा नेपाल सरकारको नीति के छ, यसको प्रतिफल, मौसम सम्बन्धी जानकारी, नेपाल सरकारले के सहयोग गर्न सक्छ लगायतका जवाफ मागिएको थियो ।
दोस्रो पटक कर्पोरेसनलाई आवश्यक कागजातसहित हरित खजुरा अभियानको प्रतिवेदन बुझाएलगतै कर्पोरेसनका डाइरेक्टर एलेक्स मुसहित प्रावधिकको टोलीले लगातार चार दिनसम्म खजुराको अनुगमन गरेको थियो । टोलीले खजुरा गाउँपालिकाको भौगोलिक अवस्था, आर्थिक अवस्था, सम्भावना, समस्या, परियोजनाको डिपिआर लगायतको जानकारी लिएको थियो ।
अनुगमनका क्रममा कर्पोरेसनको टोलीसँग गाउँपालिकाभित्रका किसानहरुले कृषिलाई आधुनिकीकरण गरी बैज्ञानिक तरिकाबाट गर्ने इच्छा व्यक्त गरेका थिए । हरित शहरमा ग्रीन एग्रिकल्चर पनि सँगसँगै लगिने भएकाले पनि यो परियोजना लागु भए खजुराबासीको आर्थिक अवस्था बलियो बन्ने आशा गरिएको छ ।
परियोजनाले खजुराको वडा नं. १, २, ३ र ४ इजराइली अवधारणा अनुसार बनेको बस्तीलाई हरित शहरका रुपमा विकास गर्न गर्नेछ भने मधेशी तथा मुस्लिम समुदायको बाहुल्यता रहेको वडा नं. ५, ६, ७ र ८ मा ग्रीन एग्रिकल्चरको रुपमा विकास गरिनेछ । परियोजना लागु भए देशकै नमुना र सुविधा सम्पन्न गाउँपालिका बन्नेमा खजुराका जनप्रतिनिधिको विश्वास छ ।
हरित शहर निर्माणका क्रममा खजुरामा लाखौं बोटविरुवा रोपिने छन् । हरेक घरमा रुखविरुवा, फलफुलका विरुवा, तरकारी बारी हुनैपर्ने गरी योजना बनाइनेछ । खजुराका जनताको आयश्रोत उकास्ने मुख्य उद्देश्य राखिएको परियोजना जतिसक्दो छिटो सञ्चालन होस् भन्ने खजुराबासीको चाहना छ । हरित शहर परियोजनाले खजुराको मुहार परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।
सत्यपाटी - ।