सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षित स्थानतर्फ सर्दै राप्ती तटीय क्षेत्रका नागरिक

बाँके । राप्ती नदीमा पानीको सतह खतरामाथि पुगेपछि शनिबार पटक–पटक साइरन बजाइयो । राप्ती नदी शनिबार दिउँसो चार बजेपछि खतराको तह पार परेको राप्ती नदी गाउँ पसेपछि स्थानीयहरु रातभर जाग्राम बसेका छन् । राप्ती नदी शनिबार डुडुवा गाउँपालिकाको कृषि चौफेरीमा पसेपछि स्थानीयहरु रातभर सुतेका छैनन् ।

कृषि चौफेरीसँगै टेपरी, पिप्रहवा गाउँमा पनि राप्तीको बाढी पसेको छ । राप्ती नदीको बाढी आउँदा सबैभन्दा पहिले यिनै गाउँहरु डुवानमा पर्दै आएका छन् । पहाडमा पानी परेर पानीको सतह बढेको जानकारी पाएपछि स्थानीयहरु सचेत भइसकेका छन् । स्थानीय प्रशासनले पनि शनिबार दिउँसो एक बजेदेखि सतर्कता अपनाउन भन्दै नदी तटीय क्षेत्रका गाउँहरुमा साइरन बजाइरहेका छ ।

साइरन बजेपछि गाउँका धेरै मानिसले खाद्यान्न उच्च ठाउँमा राख्न थालेको होलियाका स्थानीयबासी राजकुमार शुक्लाले बताए । उनले भने, ‘गाउँलेहरु रातभर जाग्राम बसेका छन् । खाद्यान्न, लत्ता कपडा उच्च ठाउँमा सारिरहेका छन् ।’ स्थानीय प्रशासनले पनि राप्ती नदीमा पानीको सतह शनिबार खतराभन्दा माथि पुगेपछि सुरक्षित स्थानको पहिचान गरिसकेको छ ।

डुबान तथा बाढीपीडितलाई तत्काल उद्धार गर्न र सुरक्षित ठाउँमा राख्न सुरक्षित स्थान पनि पहिचान गरिसकेको भइसकेको बाँकेका प्रमूख जिल्ला अधिकारी मदन भुजेलले बताए । ‘विपद् आइहालेमा बाढी प्रभावितलाई सुरक्षित रुपमा राख्नेछौं,’ उनले भने । उनका सामुदायिक भवन, सडक, विद्यालय, सामुदायिक वन, सुरक्षित आश्रय भवन, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका भवनहरुमा व्यवस्था गरिएको छ ।

नजिकको खुला तथा अग्लो ठाउँ, मन्दिर र सामुदायिक वनको खुला ठाउँलाई पनि आश्रयस्थलका रूपमा निर्धारण गरिएको प्रजिअ भुजेलले बताए । ‘हामीले बाढी प्रभावित क्षेत्रहरुको पहिचानसँगै कुन ठाउँका बाढीपीडितलाई कुन स्थानमा सुरक्षित राख्ने भनेर उच्च स्थान पनि छनौट गरिसकेका छौं,’ उनले भने । जिल्ला आपतकालिन केन्द्रले गाउँहरु डुवानमा पर्ने सम्भावना रहेकाले उद्धार टोलीलाई ‘हाइएलर्ट’मा राखेको छ ।

दाङ्ग र प्युठानमा अधिक बर्षा भएपछि राप्ती नदीको सतह बढेसँगै तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि सुरक्षित स्थानको पहिचान गर्न थालिएको प्रजिअ भुजेलले जानकारी दिए । उनले भने, ‘शनिबार नदीमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नदी तटीय क्षेत्रका स्थानीय नागरिकलाई सजक रहन भन्दै साइरन बजाइसकेका छौं । राप्तीमा बाढी आइहालेमा नागरिकलाई सुरक्षित स्थानमा राख्न सुरक्षित स्थानहरु पहिचान गरिरहेका छौं ।’

नदीमा पानीको सतह बढेपछि सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको प्रजिअ भुजेलले बताए । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख गौरी बुढाथोकीका अनुसार नदीमा पानी तह द्रुतगतिमा बढिरहेकाले डुवान परेको सूचना आउने बित्तिकै उद्दारमा खटिनका लागि टोली तयारी अवस्थामा छ । नदीको सतह ५ मिटर ४० सेन्टीमिटर हुने वित्तिकै साइरन बजाएर तटिय क्षेत्रका बासिन्दालाई अन्यत्र बस्न आग्रह गरिन्छ ।

प्रजिअ भुजेलका अनुसार तटिय क्षेत्रका बासिन्दालाई सावधान रहन आग्रह गर्दै जिल्लाका एफएम रेडियोबाट सूचना प्रशारण गरिएको छ । राप्ती नदीमा पानीको सतह द्रुत गतिमा बढेपछि लक्ष्मणपुर बाँधको ढोका खोल्ने विषयमा भारतीय अधिकारीसँग कुरा भइरहेको प्रजिअ भुजेलले बताए । ‘भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध समयमा खोलिदिँदा डुवानको जोखिम कम हुन्छ,’ प्रजिअ भुजेलले भने ।

नदीको बाँध खोल्दा आफ्नो देशका डुवान हुने भएकाले भारतले हत्पती लक्ष्मणपुर बाँध खोलि दिदैन । शनिबार पानीको सतह ६ मिटरसम्म पुगेपछि स्थानीय प्रशासनले साइरन बजाएर स्थानीयहरुलाई उच्च ठाउँमा सर्न आग्रह गरिरहेको छ । ‘प्रहरीले गएर उच्च ठाउँमा सर्न आग्रह गरिरहेको छ,’ जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख बुढाथोकीले भने । कुसुममा मापन भएको पानी फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गंगापुर, नरैनापुर पुग्न ४÷५ घण्टा लाग्छ ।

बुढाथोकीका अनुसार जिल्लास्थित विपद् व्यवस्थापन समितिले उद्धारका लागि तालिम प्राप्त जनशक्ति र उद्धार सामग्रीको व्यवस्था मिलाइसकेको छ भने सबै सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखेको छ । प्रमुख जिल्ला अधिकारी भुजेलका अनुसार नेपाली सेनाका ११५, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरीका ५० र अन्य गैरसरकारी क्षेत्रका १७३ जनालाई उद्धारकर्तालाई तालिमसमेत दिएर उद्दारका लागि तयारी अवस्थामा राखिएको छ ।

उनले यसबाहेक स्थानीय तहमा गठन भएका विपद् व्यवस्थापन समितिहरु पनि उद्दारमा खटिने जानकारी दिँदै उद्दार तथा राहतका लागि चाहिने सम्पूर्ण सामग्री तयारी अवस्थामा राखेको बताए । नदीमा आएको बाढीले खतराको संकेत पार गरेलगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेले आ–आफ्ना विभिन्न युनिटमार्फत सर्तक रहन स्थानीयहरुलाई आग्रह गरिरहेको छ । विपद आइहालेमा उद्दारको लागि तयारी अवस्थामा राखिएको बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिए ।

‘शनिबार पानीको बहाव खतराको संकेतभन्दा निकै माथि पुगेपछि राप्ती तटीय क्षेत्रमा रहेका प्रहरी युनिटहरुलाई ‘हाइअलर्ट’मा राखेका छौं,’ प्रहरी उपरीक्षक वलीले भने, ‘राहत तथा उद्दार सामग्रीहरु पनि तयारी अवस्थामा राखिएको छ ।’ राप्तीसोनारी–१ कुसुमस्थित जलमापन केन्द्रका अनुसार हिजो साँझ ६ मिटर पुगेको पानीको सतह विहान ६ः३० मा पानीको सतह ३ मिटर ६० सेन्टिमिटर तल झरेको छ ।

केन्द्रका गेजरिडर भद्रबहादुर थापाका अनुसार शनिबार दिनभर निरन्तर बढेको पानीको सतह रातीदेखि घटेको छ । ‘पानीको सतह रातीदेखि घटेको छ । पहाडी क्षेत्रमा बर्षा कम भएकाले पानीको सतह बढ्ने क्रममै छ,’ उनले भने । बाढीबाट सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकाको वडा नं. ५,६,७ र डुडुवा गाउँपालिकाको वडा नं. १ सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन् । त्यस्तै लक्ष्मणपुर बाँध आसपासका होलिया, बेतहनी, गंगापुर, मटैया, फत्तेपुर, कचनापुर लगायतका गाउँहरु डुबानको जोखिममा पर्ने गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतवार ०७:०९