सूचनाको शक्ति - The Power Of Information

        

नगर बस चलाउँदै नेपालगन्ज उपमहानगर, महिला चालक प्राथमिकतामा

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले सात वटा बस खरीद गरेर आफै बस सञ्चालनको तयारी थालको छ । अन्य स्थानीय तहसँग सोझो यातायात सम्बन्ध बढाउने नीति लिएको उपमहानगरपालिकाले आफै सञ्चालन गर्ने गरी बस खरिद गरेको हो । खरीद गरेका बस नेपालगन्ज आइपुगेका छन् ।

बस सञ्चालनका लागि महिला चालकलाई प्राथमिकता दिने तयारी गरेको उपमहानगरपालिकाले त्यसका लागि प्रशिक्षण दिइसकेको छ । उनीहरुलाई प्राथमिकतामा राखेर बस सञ्चालन गर्ने उपमहानगरपालिकाको तयारी छ । प्रदेश सरकारले सहयोग गरेको सात करोडमध्ये पाँच करोड खर्च गरेर बस खरीद गरेको उपमहानगरले नेपालगन्जदेखि खजुरा, कम्दी, गौघाट, बेतहनी, कोहलपुरलगायत स्थानमा बस सञ्चालन गरिने जनाएको छ ।

तालिम पाउने वित्तिकै बस चलाउन नसक्ने भए पनि शुरुमा महिलालाई सहचालकको रुपमा काममा लगाउँदै दक्ष चालक बनाउने उपमहानगरपालिकाको योजना रहेको सूचना अधिकारी शरद पौडेलले बताए । यद्यपी दक्ष महिला भए चालकको जिम्मेवारी समेत दिइने सूचना अधिकारी पौडेलको भनाई छ ।

उनका अनुसार बस सञ्चालनका लागि कार्यविधि बन्ने क्रममा रहेको छ । बसमा दुव्र्यवहार, चोरी नहोस् भनेर क्यामेरा जडान गरिने सूचना अधिकारी पौडेलले बताए । ग्रामीण बजारसम्म सहुलियत भाडादरमा नगर बस चलाउने योजना अघि सारेको उपमहानगरले बस सञ्चालन भने साउन महीनापछि गर्ने जनाएको छ ।

हाल माइक्रोबस र सनराइज (सानो गाडी)ले नेपालगन्जदेखि कोहलपुर, खजुरा, गौघाट लगायतका ग्रामीण क्षेत्रमा यात्रुलाई सेवा दिइरहेका छन् । नेपालगन्ज उपमहानगरले सहुलियत भाडादरमा ग्रामीण बजार क्षेत्रसम्म सिधैं बस सेवा सञ्चालनमा ल्याएपछि ग्रामीण क्षेत्रका बासिन्दालाई राहत हुने सूचना अधिकारी पौडेलले बताए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार ०८:४३