सूचनाको शक्ति - The Power Of Information

        

निसानामा घुमुवा प्रहरी, भोजपुरमा ‘विप्लव’ जिल्ला इन्चार्ज र प्रहरी जवान मारिए

विप्लव समूहको गोली प्रहारबाट मारिएका प्रहरी जवान सञ्जिव राई ।

विप्लव समूहको गोली प्रहारबाट मारिएका प्रहरी जवान सञ्जिव राई ।


भोजपुर । भोजपुरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ । भिडन्तमा एक प्रहरी र विप्लव समूहका ओखलढुङ्गा जिल्ला इञ्जार्जको मृत्यु भएको छ । विप्लव समूहका ओखलढुङ्गा जिल्ला इञ्चार्ज निरकुमार राईको मृत्यु भएको छ भने विप्लव समूहका कार्यकर्ताको गोली प्रहारबाट प्रहरी सञ्जीव राईको मृत्यु भएको छ ।

अर्का एकजना प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएका छन् । विप्लव समूहले प्रहरीको ‘घुमुवा’ टोलीमाथि आक्रमण गरेको थियो । प्रहरी स्रोतका अनुसार भोजपुर सदरमुकाममै हतियारसहित विप्लव समूह बसेको सूचनापछि घुमुवा टोली त्यहाँ पुगेको थियो । प्रहरीको घुमुवा टोली सादा पोशाकमा परिचालित हुन्छ । घुमुवा टोलीले गोप्य रुपमा सूचना संलकन गर्ने काम गर्छ ।

प्रहरीलाई विप्लव समूह बसेको सूचना पाएपछि भोजपुर सदरमुकाममै उनीहरु बसेको स्थानमा पुगेका ‘घुमुवा’ प्रहरी सञ्जिव राई मारिएका हुन् । गस्ती टोलीभन्दा अगाडि रहेका सञ्जीव मारिएपछि प्रहरी कारवाहीमा विप्लव समूहका नेता पनि मारिएको प्रहरीको भनाइ छ । विप्लव समूहको गोली प्रहारबाट मारिने सञ्जिव पहिलो प्रहरी हुन् ।

यसअघि विप्लव समूहले प्रहरी लगायत सुरक्षाकर्मीमाथि आक्रमण गर्ने आफ्नो पार्टीको कुनै योजना नरहेको दाबी गर्दै आएको थियो । भोजपुरमा आजको घटनापछि विप्लव समूहविरुद्ध सुरक्षा निकाय कठोर रुपमा प्रस्तुत हुनसक्ने बताइएको छ । प्रहरी महानिरीक्षकको कार्यालयका एसपी रमेश थापाका अनुसार हतियारसहित विप्लव समूहका कार्यकर्ता बसेको सूचना प्राप्त गरेपछि प्रहरी खटिएको थियो ।

घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र लोडेड म्यागजिन बरामद भएको छ । मृतक प्रहरी जवान सञ्जिवको घर खोटाङ भएको बताइएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका जिल्ला इन्चार्ज नीरकुमार राई भोजपुरकै षडानन्द नगरपालिका–१३, बोयाका हुन् । राई तत्कालीन माओवादी जनयुद्धमा जनमुक्ति सेनामा कार्यरत थिए । यसअघि भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–१मा प्रहरीको गोली लागेर विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरेको ज्यान गएको थियो ।

केही समय अघिमात्रै प्रहरी कारवाहीमा विप्लव समूहका जिल्ला इञ्जार्ज कुमार पौडेलेको ज्यान गएको थियो । विप्लव समूहले पौडेलको हत्या गैरन्यायिक भएको दाबी गर्दै आएको छ भने गृहमन्त्री रामबहादुर थापाले दोहोरो मुडभेडमै पौडेलेको मृत्यु भएको दाबी गर्दै आएको छ । पछिल्लो समय विप्लव समूहले पूर्वी नेपालमा आफ्ना गतिविधि बढाउँदै लगेको छ ।

विप्लवको निसानामै थिए घुमुवा प्रहरी !

यसअघि नै विप्लव समूहले सादा पोशाकका घुमुवा प्रहरीमाथि आक्रमण गर्नसक्ने भन्दै प्रहरी प्रधान कार्यालयले सतर्कता अपनाउन निर्देशन दिएको थियो । विप्लव समूहका केही गतिविधि शंकास्पद रहेको सूचना प्राप्त भएपछि यस्तो निर्देशन दिइएको थियो । गत जेठ ७ गते मंगलबार नेकपाको मेची ब्यूरोले एक विज्ञप्ति जारी गर्दै सादा पोशाकमा खटिएका र सुराकी गर्दै हिँड्नेलाई आफ्ना गतिविधि बन्द गर्न भनेको थियो ।

त्यसपछि प्रधान कार्यालयले एक्लै नहिँड्न, सादा पोशाकका प्रहरीलाई सतर्क रहन र पहाडी इलाकामा रहेका चौकीको सुरक्षामा ध्यान दिन भनेको थियो । योबाहेक स्वास्थ्य समस्या भएका प्रहरीलाई पनि सुरक्षाका साथ बस्न निर्देशन दिइएको ती अधिकारीले बताए । गत फागुन अन्तिम साता सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार १२:३४