बाँके । विकास निर्माणका क्षेत्रमा सर्वाधिक आलोचित पप्पु–रसुवा कन्स्ट्रक्सनको अर्को लापरबाही बाहिर आएको छ । पप्पु कन्स्ट्रक्सनकै लापरबाहीका कारण बाँकेको बैजनाथ गाउँपालिका–३, नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । निर्माण अलपत्र पारेपछि निर्माण कम्पनीलाई दिइएको पेश्की रकम फिर्ता लिइएको छ ।
तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकोमा सम्झौता अवधि पूरा हुनलाग्दा समेत चार प्रतिशतमात्र निर्माण कार्य गरेर अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना इकाई कार्यालय नेपालगन्जले जनाएको छ । निर्माणाधिन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको हो ।
हालसम्म चार प्रतिशत मात्रै काम भएपछि मोविलाइजेशन बापतको रु.७ करोड ६ लाख फिर्ता लिइएको आयोजना इकाई कार्यालय नेपालगन्जका प्रमुख सुवास बस्नेतले जानकारी दिए । निर्माण कम्पनीको तीन बर्षे ठेक्का सम्झौताको अवधी कात्तिक ४ गते सकिँदैछ । सम्झौता अवधी समाप्त हुने बेलासम्म ४ प्रतिशत मात्रै काम गरेपछि कार्यालयले मोविलाइजेशन बापत उपलब्ध गराएको रकम फिर्ता लिइएको कार्यालय प्रमुख बस्नेतले बताए ।
तीन हजार जना अट्ने क्षमताको निर्माणाधिन कारागारको रु.५३ करोड कुल बजेट रहेकोमा पप्पु–रसुवा कन्स्ट्रक्सनले २०७३ कात्तिक ८ गते रु.३८ करोड ६८ लाख ७९ हजार २८१ मा ठेक्का सकार गरेको थियो । कारागारको २५ वटा भवन संरचना बनाइने लक्ष्य रहे पनि अहिले पाँच वटा संरचनामा अत्यन्तै सुस्त गतिमा काम भइरहेकोले पेश्की रकम फिर्ता लिनुपरेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।
‘सम्झौता अवधी सकिन लाग्दासमेत चार प्रतिशन मात्रै काम सम्पन्न भएको छ । यो प्रगति हेर्दा आयोजना सम्पन्न हुन अझै धेरै समय लाग्ने देखिएको छ । त्यसैले पनि हामीले निर्माण कम्पनीलाई दिइएको पेश्की रकम फिर्ता लिएका छौं । अब नयाँ ढंगले काम अघि बढ्छ,’ उनले भने । उनका अनुसार मुख्य कारागार भवन, तीन तले प्रशासनिक भवनका काम नै थालिएको छैन । दुई वर्षअघि ठेक्का सम्झौता भए पनि गत वर्षदेखि मात्र काम सुरु गरिएको थियो ।
पेश्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु भएपछि क्षेत्रीय कारागारको निर्माण अन्यौल बनेको छ । मानव बस्ती बाक्लिँदै गएपछि तथा कैदीबन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि क्षेत्रीय कारागार निर्माण सुरु गरिएको थियो । निर्माण कम्पनीसँग पेश्की फिर्ता लिएसँगै निर्माण कार्य अन्यौल बनेको जिल्ला कारागार बाँकेका जेलर भरत पाण्डे बताउँछन् ।
‘तीन हजार क्षमताको कारागार निर्माण सकिएपछि समस्या छिट्टै समाधान हुने अपेक्षा गरेका थियौं । पेश्की फिर्ता लिएपछि पुनः टेण्डर प्रक्रियामा जानुपर्ने भएपछि निर्माण कार्य अनिश्चित बनेको छ । यसले जिल्ला कारागारमा कैदीबन्दीहरुको व्यवस्थापनमा समेत चुनौति थपिएको छ,’ जेलर पाण्डेले भने । क्षेत्रीय कारागार निर्माणमा ढिलाई भएकाले बाँके जिल्ला कारागारका कैदीबन्दीहरुले समेत दुख झेल्दै आएको उहाँको भनाई छ ।
उनले भने, ‘क्षेत्रीय कारागार निर्माणमा ढिलाई हुदा जिल्ला कारागार बाँकेमा रेहका कैदीले दुख पाए । यहाँ क्षमताभन्दा बढी कैदीबन्दी छन् । क्षेत्रीय कारागार निर्माण अन्यौल बन्यो ।’ उका अनुसार जिल्ला कारागारको सुरक्षा दिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । तीन सय क्षमता रहेको जिल्ला कारागारमा हाल ६५८ जनालाई राखिएको छ ।
अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको नौवस्तामा क्षेत्रीय कारागार र गनापुरमा खुला कारागार निर्माणको काम शुरु गरिएको थियो । दुवै कारागार निर्माण भएपछि नेपालगन्जको मानव बस्तीको बीचमा रहेको जिल्ला कारागारलाई विस्थापित गरिने योजना रहेको थियो । तर ठेक्का तोड्ने प्रक्रिया सुरु भएपछि कैदीबन्दीहरुको व्यवस्थापनमा थप चुनौति देखिएको छ ।
१० बिघा क्षेत्रफलमा पाँच वर्षभित्र सक्ने गरी दुईवटा कारागार भवन निर्माण सुरु गरिएको थियो । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुले सुरक्षा चुनौती बढेको छ । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गर्दाका बखत आसपासका क्षेत्रमा बस्ती नरहे पनि अहिले कारागार वरिपरि बाक्लो बस्ती छ । जसले सुरक्षा चुनौतिसमेत बढाएको छ ।
सत्यपाटी - ।