सूचनाको शक्ति - The Power Of Information

        

छोटी नाकाबाट खसीबोका तस्करी बढ्यो, प्रहरी भन्छ– ‘बरामद गछौं, भन्सारले बुझ्दैन’

बाँके । सरकारले क्वारेन्टाइनमा कडाइ गरेपछि खसीबोकाको आयात तीन महीनादेखि शुन्य भएको छ । भारतलगायत मुलुकबाट आयातित खसीबोकाको भन्सार विन्दुमा क्वारेन्टाइन (गुणस्तरको प्रमाण) जाँच हुन थालेपछि आयात शुन्य भएको हो ।

पशुसेवा विभागले भारतबाट कुनै न कुनै स्वास्थ्य प्रमाण नलिई आएमा त्यसको क्वारेन्टाइन नगर्नु भन्ने परिपत्र गरेपछि पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहाले तीन महिनायता कुनै पनि पत्र काटेको छैन । पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहाका पशु स्वास्थ्य प्राविधिक अमर शाहीका अनुसार तीन महिनायता भारतबाट खसीबोका आयात हुन सकेका छैनन् ।

‘माथिबाट ऐनअनुसार मात्र भारतबाट आयात हुने पशु पंक्षीको क्वारेन्टाइन गर्नु भन्ने आदेश थियो,’ उनले भने, ‘सोही अनुसार काम गर्दा भारतबाट खसीबोका आयात हुन सकेका छैनन् ।’ प्राविधिक शाहीका अनुसार नेपालमा खसीबोका भित्र्याउँदा भारतीय क्वारेन्टाइनको स्वास्थ्य, सेनेटरी प्रमाण, ल्याब रिपोर्ट लगायतका प्रमाणहरु पेश गर्नुपर्ने हुन्छ ।

पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहाका अनुसार तीन महिनायता खसीबोका आयात भएको छैन । आयात नहुँदा बजारमा मूल्य मनोमानी छ । ‘मुख्य उद्देश्य रोग नभित्रियोस् भन्ने हो । पुरानो क्वारेन्टाइन ऐनलाई कडाइ गरेका छौं,’ पशु स्वास्थ्य प्राविधिक शाहीले भने, ‘कागजातमा कडाइ भएपछि आयात भएको छैन ।’

फागुन ३ देखि क्वारेन्टाइन ऐन कार्यान्वयनमा आएको छ । ऐनअनुसार सम्बन्धित मुलुकबाट स्वस्थ भएको कागजपत्र बनाउनुपर्छ । कागजपत्रबाट निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुन्छ । पशु क्वारेन्टाइन चेकपोष्टका अनुसार फागुनमा फाटफुट खसीबोका आयात भएका तिए । त्यसपछि भने ठप्प जस्तै भएको छ ।

‘क्वारेन्टाइन चेकजाँच नहुँदा जीवित वस्तुबाट रोग आउनसक्छ, मासुबाट इन्फेक्सन हुन सक्छ,’ उनले भने, ‘नेपालमा बिक्री गर्न रोगमुक्त भनेर सम्बन्धित सरकारको प्रमाणपत्र आवश्यक छ । वस्तुमा रोग छैन भनेर प्रमाणपत्र दिनुपर्छ । प्रमाणपत्र भए आयातमा कुनै अवरोध हुँदैन । सरकारले रोक्न सक्दैन ।’

क्वारेन्टाइन चेकजाँचले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने पशु स्वास्थ्य प्राविधिक शाहीले बताए । ‘विगतमा क्वारेन्टाइन प्रमाणपत्र नमागे पनि अब प्रमाणपत्र चेक हुन्छ,’ उनले भने, ‘प्रमाणपत्र नभए आयात हुँदैन ।’ खसीबोका आयात हुने मुख्य नाका नेपालगन्ज नै हो । यहाँ भारतको उत्तरप्रदेशबाट खसीबोका आयात हुँदै आएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले पशुसेवा विभागको निर्णयले उपभोक्ताले स्वथ्यकर मासु उपभोग गर्न पाउने भएसँगै स्वदेशी उत्पादनमा पनि वृद्धि हुने बताए । उनले भने, ‘ऐन विगतमै कार्यान्वयन हुनुपथ्र्यो तर भएन ।’

उनले छोटी नाकाहरुबाट खसीबोका तस्करी भइरहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । ‘मुख्य नाकाबाट आयात बन्द भएको छ । तर छोटी नाकामा तस्करी मौलाइरहेको छ । यसतर्फ पनि ध्यान दिनुपर्छ । छोटी नाकाबाट आयात हुने खसीबोकालाई रोक्न सकिएन भने क्वारेन्टाइन चेकजाँच कडाई गर्नुको कुनै अर्थ रहँदैन,’ श्रेष्ठले भने ।

छोटी नाकाबाट तस्करी हुँदै आए पनि व्यवसायीहरुले भने खरीद मुल्य निकै उच्च भएको भन्दै उपभोक्तासँग पनि चर्कै मूल्य असुलेका छन् । भन्सार कडाइको फाइदा उठाउँदै व्यवसायीले जिउँदो खसीबोकाको मूल्य मनोमानी असुल्दै आएका छन् । मासुमा पनि सोहीअनुसार मूल्य वृद्धि भएको उपभोक्ताहरुको भनाई छ ।

‘दुई महिनादेखि खसीबोका आयात भएका छैनन् । खसीबोका अभाव भएपछि मूल्य अकासिएको छ,’ नेपालगन्ज–४ का उपभोक्ता श्याम शाहीले भने, ‘दुई महिनाअघि किलोको रु.३५० जिउँदो खसीको मुल्य अहिले प्रतिकिलो रु.५०० पुगेको छ ।’ व्यवसायीहरुले बाँकेका छोटी नाकाहरुबाट खसीबोका नेपालगन्ज भित्र्याउँदै आएका छन् ।

भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिइ ल्याएका पशुपंक्षी तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति लिएपछि पछिल्लो समय खसीबोका तस्करी हुन थालेका छन् । नाकामा रहेका नेपाली पशु क्वारेन्टाइन चेक पोष्टले ‘क्वारेन्टाइन नगर्ने’ भएपछि व्यापारीले छोटी नाकाहरुबाट भन्सार छली गर्दै खसीबोका नेपालगन्ज भित्र्याउन थालेका हुन् ।

व्यापारीले भारतबाट स्वास्थ्य लगायतका विभिन्न प्रमाण ल्याउन नसक्ने र भारतबाट प्रमाणपत्र नल्याएसम्म नेपाली क्वारेन्टाइनले जाँच पास नगर्ने भएपछि व्यापारीहरु चोरीको बाटो अपनाउन थालेका हुन् । नेपाली क्वारेन्टाइनले जाँच पासमा कडाई गरेपछि व्यवसायीहरुले भने सिमावर्ती क्षेत्रबाट तस्करी गरेर खसीबोका नेपाल आयात गर्न सुरु गरिसकेका छन् ।

खुला सिमानाको फाइदा उठाउँदै छोटी नाकाबाट नेपालगन्ज भित्र्याइएका खसी बोका व्यवसायीहरुले जम्मा पारेर काठमाडौं र पोखरा पठाउने गर्दछन् । भन्सारबाट बैधानिक रुपमा तीन महिनायता खसीबोकाको आयात नभए पनि बजारमा भने भारतीय खसी बोकाको मासु बिक्री वितरण भइरहेको उपभोक्ताहरु बताउँछन् ।

जाँचमा कडाइ गरेपछि खसीबोकाको अवैध आयात ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए । उनले भने, ‘बाँकेका छोटी नाका हुँदै तस्करी बढेको छ । हामीले बरामद गरिरहेका छौं । छोटी नाकाहरुमा पनि क्वारेन्टाइनको व्यवस्था मिलाउनुपर्छ ।’

उनले बरामद गरिएका खसीबोका भन्सार र पशु क्वारेन्टाइन चेकपोष्टले बुझ्न नमान्ने गरेको बताए । ‘खसीबोका बरामद भएपछि फर्जी कागजात बनाएर व्यापारीहरुले दुख दिन्छन्,’ प्रवक्ता सापकोटाले ठट्यौली पारामा भने, ‘भारतीय खसीले हिन्दी बोल्दैन, नेपाली जान्दैन । व्यापारीलाई नेपाली खसीबोका भएको कागजात बनाउन सजिलो छ ।’

सापकोटाका अनुसार तस्करी गरेर आएका खसीबोका बरामदपछि भन्सार र पशु क्वारेन्टाइन चेकपोष्टले बुझ्न नमान्दा प्रहरीलाई निकै समस्या भएको छ । बाँके प्रहरीले क्वारेन्टाइन ऐन कार्यान्वयनमा आएपछि हालसम्म ७०० बढी खसीबोका बरामद गरिसकेको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार ०८:०३