सूचनाको शक्ति - The Power Of Information

        

नयाँ आर्थिक वर्षलाई स्वागत गर्न नेपालगन्जमा ‘म्युजिक कन्सर्ट’, ज्योति मगर आउँदै

बाँके । नयाँ वर्ष, चाडपर्व, दिवसहरुमा म्युजिक कन्सर्टहरु भइरहन्छन् । अधिकांश कन्सर्टहरु कुनै कुनै अवसरलाई लक्षित गरेर आयोजना गरिएका हुन्छन् । यो महीनालाई नेपालमा पुराना कार्यक्रम तथा योजनाहरुको समिक्षा गर्दै नयाँ कार्यक्रम तथा योजनाहरुको बार्षिक क्यालेन्डर बनाउने महीनाका रुपमा लिइन्छ । यतिबेला सबै पेशा र व्यवसायमा लागेका आम व्यक्तिलाई पुरानो कामको समिक्षा र नयाँ योजना निर्माणले ब्यस्त बनाइरहेको हुन्छ ।

यो अवस्था असार मध्यसम्ममा करिब सकिने अवस्थामा पुगेको हुन्छ । पुरानो कामको समिक्षा र नयाँ योजना बनाएर ब्यस्त भएका आम पेशा व्यवसायीलाई मनोरञ्जन दिने उद्देश्यका साथ मिम्स इभेन्ट म्यानेजमेन्टले कन्सर्ट आयोजना गर्ने भएको छ । बार्षिकरुपमा नयाँ कार्ययोजना बनाएर फुर्सदमा हुँदै गरेका आम पेशा व्यवसायीहरुलाई लक्षित गरी नेपालगन्जमा कन्सर्ट आयोजना गरिएको मिम्स इभेन्ट म्यानेजमेन्टका अध्यक्ष मिमबहादुर बुढाले बताए ।

उनले भने, ‘नयाँ आर्थिक वर्षलाई स्वागत गर्न आयोजना गरिएको कन्सर्टका लागि हामी तयारीमा जुटिरहेका छौं । हामीले असार १९ गतेसम्म सबै तयारी पुरा गरिसक्ने गरी लागिरहेका छौं । हाम्रीले गरेको पूर्व तयारीले असार २० गते नेपालगन्जस्थित सिद्धार्थ कटेजमा साँझ ७ बजेदेखि हुने ‘म्युजिक कन्सर्ट–२०१९’ मा कुनै खालको समस्या, अभाव हुन नदिन हामी संवेदनशील भएर लागिपरेका छौं । यसमा सम्पूर्ण सञ्चारमाध्यमहरुको साथ र सहयोगको अपेक्षा गरेका छौं ।’

‘म्युजिक कन्सर्ट–२०१९’ मा हामीले चर्चित गायिका ज्योति मगर, गायिका अमृता लिम्बु र स्थानीय गायिका रबिना तिवारी र डिजे विकासको प्रस्तुती रहने अध्यक्ष बुढाले जानकारी दिए । उनले सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जसँग समन्वय गरिसकेको जानकारी दिए । उनले भने, ‘हामीले केही नीजि क्षेत्रबाट पनि सुरक्षा गार्डहरु लिएका छौं ।’ अध्यक्ष बुढाले कन्सर्टलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न सञ्चारमाध्यमको सहयोगको अपेक्षा रहेको बताए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार ०८:२०