सूचनाको शक्ति - The Power Of Information

        

खजुरा साक्षर घोषणा, ३७ हजार ८१६ जना साक्षर

बाँके । बाँकेको खजुरा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । खजुरा गाउँपालिकामा रहेका ८ वटै वडामा १५ वर्षदेखि ६० वर्षसम्मका उमेर समूहका ९६ दशमलव ९९ प्रतिशत मानिस साक्षर रहेकाले खजुरा गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । प्रदेश नं. ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले खजुरामा आयोजित कार्यक्रममा गाउँपालिका साक्षर भएको घोषणा गरिन् ।

उनले खजुरा गाउँपालिका साक्षर भएकोमा सराहाना व्यक्त गर्दै बाँके र कपिलवस्तु साक्षर भएपछि प्रदेश नं. ५ लाई साक्षर घोषणा गरिने बताइन् । मन्त्री पौडेलले साक्षर व्यक्ति समाजलाई योगदान दिने भन्दै शिक्षाले जीवनलाई उज्यालो पार्ने बताइन् । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिका साक्षर घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १५ वर्षदेखि ६० वर्षसम्मका ३८ हजार ९०१ जनसंख्या रहेकोमा ३७ हजार ८१६ जना मानिस साक्षर रहेको बताए ।

उनले अब पूर्णसाक्षर बनाउन अघि बढ्ने जनाउँदै शिक्षाको मूलगेट खोल्ने काम साक्षरताले गर्ने बताए । अध्यक्ष कक्षपतिले खजुरा गाउँपालिकाको शैक्षिक अवस्थाबारे जानकारी दिँदै ३० वटा सामुदायिक, १७ मदरसा, १८ संस्थागत विद्यालय गरी ६५ विद्यालय, १ सामुदायिक क्याम्पस, १ निजी क्याम्पस २ वटा प्राविधिक धारका नमूना विद्यालय सञ्चालन भइरहेको र निकट भविष्यमा बिएसस्सी एजीको पढाई हुने बताए ।

विभिन्न तहमा अध्ययन गर्ने करीब १७ हजार ८४९ विद्यार्थी रहेको खजुरा क्षेत्रलाई शैक्षिक हबको रुपमा समेत अघि बढाउन थालिएको उनले बताए । ‘खजुरा गाउँपालिका समृद्धिको आधार : हामी सबै शिक्षित भई पारौं साकार’ भन्ने मूल नाराका साथ घोषणा भएको कार्यक्रममा शिक्षा समिति सदस्य भक्तबहादुर केसीले सोच र चिन्तनमा परिवर्तन गर्न जरुरी रहेको बताउँदै साक्षर अभियानले सामुदायिक सार्वजनिक क्षेत्रमा काम गर्न सहज हुने उल्लेख गरे ।

उपप्रमुख एकमाया विकले स्वागत गरेको कार्यक्रममा सबै वडाका वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो । जिल्ला समन्वय समिति संयोजक अजयकुमार श्रीवास्तव, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, कर्मचारी, समाजसेवी, तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार १६:०३