सूचनाको शक्ति - The Power Of Information

        

बागेश्वरी केवल टेलिभिजनका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध सीआइबीमा उजुरी

बाँके । बागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेको छ । शाहसँगै सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुलीविरुद्ध पनि उजुरी दिएको छ ।

इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध पुर्याइ करोडौं रकम भुक्तानी गरिसकेका लाखौ नेपाली उपभोक्तामाथि अन्याय गरेको आरोप लगाउँदै उपभोक्ता हित संरक्षण मञ्चले उजुरी दर्ता गरेको हो ।

मञ्चले इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनीहरु आवद्ध नेपाल केवल टेलिभिजन महासंघले क्लिन फिड लागू गर्ने सरकारी तयारीविरुद्ध सांकेतिक आन्दोलन गर्दै सोमबार दिउँसो तीन बजेदेखि विदेशी च्यानलहरु २४ घण्टाका लागि प्रसारण बन्द गरेपछि उजुरी दिएको हो ।

मञ्चले दर्ता गरेको उजुरीमा कानून बमोजिम दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक संघ नामक संस्थाका नामबाट केही व्यक्तिहरुले इन्टरनेट तथा टेलिभिजन सेवाको सञ्चालन प्रशारणमा अवरोध पुर्याएको भन्दै उनीहरुमाथि कारवाही गर्न माग गरिएको छ ।

सार्वजनिक सेवा टेलिभिजन अवरुद्ध पार्ने अपराधजन्य कार्यमा संलग्न व्यक्तिलाई सजाय गर्न र अवरुद्ध सेवा सञ्चालन गरी उपभोक्ताको हित संरक्षण तथा पीडित उपभोक्तालाई क्षतिपूर्ति भराउनु आवश्यक रहेको मञ्चले उल्लेख गरेको छ । मञ्चका उपमहासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उजुरी दर्ता गरेका हुन् ।

मञ्चले उजुरी दर्ता गरेका व्यक्ति आवद्ध केवुल तथा टेलिभिजन कम्पनीको कार्यालयमा रहेको उपभोक्तासँगको सझौता, कारोवार, प्रशारण सम्वन्धी सम्पूर्ण विवरण, कागजात तथा कप्युटर फाइल समेतको रेकर्ड झिकी बुझी अनुसन्धान गर्न समेत माग गरेको छ । नेपाल सरकारले विज्ञापन सम्वन्धी विधेयकको मस्यौदा तयार गरि उक्त विधेयक हाल संसदमा विचारधिन छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलवार १५:३७