सूचनाको शक्ति - The Power Of Information

        

कुष्ठरोग नियन्त्रणमा नयाँ अभियान : बिरामीको सम्पर्कमा रहनेलाई पनि औषधी

बाँके । कुष्ठरोग नियन्त्रण प्रभावकारी बनाउन सरकारले नयाँ अभियान अघि सारेको छ । देशका विभिन्न जिल्लामा नमूनाका रुपमा कार्यान्वयनमा आएको उक्त अभियान यस बर्षदेखि बाँके र बर्दियामा पनि सञ्चालन भएको छ ।

कुष्ठरोग नियन्त्रण कार्यका लागि सरकारले बर्षौंदेखि ठूलो रकम खर्चिदै आए पनि संक्रमितको दर निरन्तर उस्तै देखिएपछि नयाँ अभियान थालिएको हो । अभियानमा प्राविधिक सहयोग गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दामियन फाउण्डेशनका नेपाल प्रतिनिधि डा.सुशील कोइरालाले जानकारी दिए ।

‘पूर्वका तीन जिल्लाबाट पाइलट प्रोजेक्टका रुपमा सुरु भयो यो परियोजना यस बर्षदेखि बाँके र बर्दियामा पनि कार्यान्वयनमा आएको हो,’ क्षय/कुष्ठरोगका क्षेत्रमा क्रियाशीलसमेत रहेका दामियन फाउण्डेशनका प्रतिनिधि डा.कोइरालाले भने, ‘यो नयाँ अभ्यासले कुष्ठरोग पूर्णतः नियन्त्रणमा आउने विश्वास लिएको छ ।’

डा. कोइरालाका अनुसार, तराईका जिल्लामा कुष्ठरोगको समस्या निरन्तर देखापरेपछि सरकारले नयाँ ढंगले सोचेको हो । जसअनुसार, संक्रमितसँग नियमित सम्पर्कमा आउने कम्तीमा ३० जनालाई औषधी खुवाइनेछ । जसमा परिवारका सबै सदस्य, विद्यार्थी भए साथी, शिक्षक र छिमेकी परिवारका सबै सदस्य हुनेछन् ।

‘सातामा २० घण्टाभन्दा बढी समय संक्रमितसँग बिताउने जो कसैलाई पनि यो औषधी अनिवार्य गरिएको छ,’ बाँकेमा स्वास्थ्य इकाइहरुलाई प्राविधिक सहयोग गरिरहेको टिबी नेपालका क्लिनिक इन्चार्ज हिक्मत खड्काले भने, ‘त्यसका लागि संवेदनशील विधि अपनाइएको छ । यो विधि प्रभावकारी हुनेमा हामी पनि विश्वस्त छौं ।’

बिरामीले नियमित औषधी खाएर ठिक भए पनि उसको सम्पर्कमा रहेको अर्को व्यक्तिमा संक्रमणको आशंकाले सरकारले रिफाम्पिसिन नामक औषधी खुवाउने भएको हो । ‘बर्दियामा सुरु भइसकेको छ,’ खड्काले भने, ‘बाँकेमा यसैसाताबाट यो अभियान सुरु हुँदैछ ।’ बाँकेमा ४०० बढी मूल बिरामीको सम्पर्कमा रहने थप ३० जनालाई औषधी खुवाइने छ ।

जिल्लास्थित स्वास्थ्यकर्मी र गाउँटोलका महिला स्वास्थ्य स्वयंसेविकामार्फत २०७३ साउनयता उपचारमा रहेका सबै बिरामी तथा उनको सम्पर्कमा रहेका कम्तीमा ३० जनालाई औषधी खुवाउने अभियान सुरु गर्न लागिएको हो । त्यस हिसाबले बाँकेमा मात्रै १२ हजार बढीलाई यस बर्ष औषधी खुवाइनेछ ।

सोही अभियान अन्तरगत कोहलपुर वडा नं. १४ र १५ का स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई टिबी नेपाल र दामियन फाउण्डेशनले अभिमूखिकरण गरिसकेको छ । ‘अब स्वास्थ्यकर्मी र स्वयंसेविकाहरु घरघर पुगेर बिरामी र उनको सम्पर्कमा रहनेहरुलाई औषधी खुवाउनु हुनेछ,’ खड्काले भने ।

घरदैलोमै गएर दिइने सेवाका कारण क्षय/÷कुष्ठरोगका नयाँ बिरामी पनि पहिचान हुने विश्वास अभियानले लिएको छ । ‘औषधीले कुनै साइड इफेक्ट पनि नपर्ने भएकाले गर्भवती महिलाबाहेक सबैले औषधी खान सक्नुहुनेछ,’ डा.कोइरालाले भने, ‘यो अभियानले स्वास्थ्यकर्मीलाई जागरुक बनाउने काम पनि गर्नेछ ।’

बिरामीलाई गोप्य राखेर औषधी खुवाउने अभियान चलाइने स्वास्थ्य चौकी समशेरगन्जले जनाएको छ । कोहलपुर १४ र १५ को केन्द्रका रुपमा रहेको समशेरगन्जबाट २०७३ सालयता १६ जनाले कुष्ठरोगको उपचार गराइरहेका छन् । मुलुकभर प्रति १० हजारमा एक जनामा कुष्ठरोगको संक्रमण देखिए पनि तराईमा समस्या बढी रहेको सरकारी तथ्यांकले जनाएको छ ।

‘बर्षेनी ३ हजारको संख्या नघटेपछि अभियानको प्रभावकारीता खोजिएको हो,’ क्षय तथा कुष्ठरोगका क्षेत्रमा कार्यरत टिबी नेपालका क्लिनिक इन्चार्ज खड्काले भने । नेपाल सरकारले निजी क्षेत्रसँगको साझेदारीमा अभियान सञ्चालन गरेको हो ।

प्रकाशित मिति : १० असार २०७६, मंगलवार ०९:१३