सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका बिटमै प्रहरी छैनन्, अलिनगरमा पोष्टमात्रै, सुरक्षामा चुनौती

बाँके । नेपालगन्जले दिन प्रतिदिन आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ । जीर्ण सडक, पुलपुलेसा, नाला लगायतका संरचनाहरुले स्वरुप परिवर्तन गरेका छन् । सडक चौडा पारिएका छन्, सडकहरु रातभर झिलिमिली छन्, चोकचोकमा उच्च क्षमताका बत्ती (हाइमाष्ट) जडान गरिएको छ ।

शहर जति विकासको गतिमा अघि बढिरहेको छ, सुरक्षा चुनौति पनि उत्तिकै थपिएको छ । सुरक्षा चुनौतिलाई ध्यानमा राखेरै नेपालगन्जका चोकचोकमा प्रहरी बिट रंगरोगनसहित चिटिक्क पारेर राखिएका छन् । तर ती बिटमा प्रहरी छैनन् । स्थानीयलाई भने सडकमा प्रहरीका गाडी दौडिएपछि सुरक्षा दिइरहेको महसुस हुन्छ ।

नेपालगन्जका कारकाँदो, न्यूरोड, त्रिवेणी मोड, भेरी अञ्चल अस्पताल अगाडि, बाँके गाउँ, घरबारी टोलका प्रहरी बिट रित्तै छन् । नेपालगन्जको सेतु विक चोकमा चिटिक्क परेको प्रहरी बिट छ तर त्यहाँ एक महीनायता प्रहरी छैनन् । चोकचोकका प्रहरी बिट खाली भएको कारण सुनाउँदै बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा भन्छन्, ‘धेरै प्रहरीको एकैपटक रमाना भएकाले केही बिटहरु खाली भएका छन् ।’

प्रवक्ता सापकोटाले अन्यत्र सरुवा भएका प्रहरीको एकैपटक रमाना दिँदा र जिल्लामा आउनेहरु आइनपुग्दा यस्तो अवस्था आएको बताए । नेपालगन्जलाई केन्द्र बनाएर सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुदका लागि भन्दै रमाना नदिएर राखिएका प्रहरीहरु एकैपटक रमाना बुझेर जाँदा धेरै जना बाहिरिएका छन् । त्यसो त जिल्लामा दरबन्दी अनुसारका प्रहरी पनि छैनन् । बाँकेमा ९ सय हाराहारीमा प्रहरी दरबन्दी रहेको छ ।

प्रहरीले संख्या नै खुलाउन नचाहे पनि जागीर छोड्ने प्रहरीको संख्या ठूलो छ । एक जना प्रहरी अधिकृत भन्छन्, ‘सिपाही १३÷१४ वर्षमा हवल्दार हुन्छ । त्यसको केही वर्षमा उसको पेन्सन हुन्छ र उ बाहिरिन्छ । बीचैमा जागीर छोड्नेहरु पनि धेरै छन् ।’ नेपालगन्ज बजारमा वडा प्रहरी कार्यालयबाट प्रहरी खटिन्छन् । वडा कार्यालयमा ९९ जनाको दरबन्दी रहेको छ । त्यसमा पनि अहिले आधाजति मात्रै छन् ।

वडा प्रहरी कार्यालयले मुख्यमुख्य बिटमा मात्रै प्रहरी राख्ने गरेको छ । धम्बोझी, वीपीचोक, पुष्पलाल चोक, त्रिभुवनचोक, पुरैना, बसपार्कको प्रहरी बिट भने खाली छैनन् । वडा प्रहरीका अनुसार न्यूनतम् संख्यामा ड्यूटीमा खटाउन पनि कम्तीमा ४० जना प्रहरी अपुग रहेका छन् । वडा प्रहरी कार्यालयका इन्चार्ज नारायण डाँगीले प्रहरीको संख्या अलिकति कमी भए पनि बिट नै खाली गर्ने अवस्था नरहेको बताए ।

‘हामीले मिलाएर ड्यूटीमा खटाएका छौँ, संख्या नै कमी भएपछि अलिअलि असर त परिहाल्छ,’ डाँगीले भने, ‘केही बिटमा प्रहरी नपुग्दा त्यहाँ मोबाइल टोलीले ध्यान दिइरहेको हुन्छ ।’ नेपालगन्ज भीआइपीहरु आइरहने ठाउँ हो । एकैपटक ४÷५ जनासम्म भीआइपी आउने भएकाले प्रहरीलाई अझ हैरानी हुने गरेको छ । त्यसै पनि दरबन्दी कमी छ । दरबन्दी अनुसारकै प्रहरी पनि छैनन् ।

‘ड्यूटी गर्ने प्रहरीकै संख्या जुटाउन मुश्किल परिरहेको बेलामा भीआइपीको पछि लाग्नुपर्ने बाध्यताले हैरान बनाएको छ,’ एक जना अधिकृत भन्छन्, ‘मन्त्री आउँदा पछि लाग्नैपर्छ । उच्च स्तरीय नेताहरु आउँदा पछि लागेर सुरक्षा पनि दिनैपर्छ ।’ नेपालगन्जमा कर्णाली र सुदूरपश्चिम प्रदेश जाने भीआइपी पनि आइरहन्छन् । उनीहरुलाई नाकासम्म स्कर्टिङ गर्नुपर्ने प्रहरीलाई बाध्यता रहेको छ ।

प्रहरी बिटमा मासु पसल

प्रहरी बिटमा प्रहरी नै नहुने भएपछि दुरुपयोग उस्तै बढेको छ । केही सयमअघि बिटमा प्रहरी नभएको फाइदा उठाउँदै बिटमै मासु पसल सञ्चालन गरेको पाइएको थियो । नेपालगन्ज–८ को रानीतलाउ नजिकको सब्जीमण्डीमा मासु व्यवसायी रिजवान कुरैसीले प्रहरी बिटमै मासु पसल सञ्चालन गरेको भेटिएको थियो । उनले प्रहरी बिटमा खसी काट्नका लागि प्रयोग हुने सामाग्रीसहित मासु पसल नै सञ्चालनमा ल्याएका थिए ।

जिल्ला संयुक्त बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा मासु व्यवसायी रिजवानले प्रहरी नभएको भरपुर फाइदा उठाउँदै प्रहरी बिटको दुरुपयोग गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतमले जानकारी दिए । प्रहरीले बिटमै मासु पसल सञ्चालन गर्ने कुरैसीलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले प्रहरी बिट भए पनि प्रयोगविहीन अवस्थामा नरहेको दावी गरे ।

पोष्ट बन्यो, प्रहरी छैनन्

राप्तीसोनारी गाउँपालिका–५ का स्थानीबासीले शान्ति सुरक्षाको माग गरेपछि अलिनगरमा अस्थायी प्रहरी पोष्ट तयार भयो । घर, शौचालय र भान्सा तयार भयो । स्थानीयको श्रमदान र रु.५ लाखको लागतमा प्रहरीलाई आवश्यक पर्ने पूर्वाधार तयार गरेको एक महीना बितिसक्दा पनि प्रहरी भने त्यहाँ पुग्न सकेको छैन ।

‘अस्थायी प्रहरी पोष्ट तयार हुँदासमेत प्रहरी आउने सुरसार छैन,’ स्थानीयबासी समेत रहनुभएका वडा न. ५ का वडाध्यक्ष झगरु थारुले भने, ‘जिल्लामा एसपी सा’बसँग सुरक्षाकर्मी पठाइदिन धेरै पटक आग्रह गरिसक्यौ, उहाँले छिट्टै पठाउँदै छौं भन्नुहुन्छ, तर अहिलेसम्म पठाउनुभएको छैन ।’

जनशक्ति कम भएकोका कारण तत्काल पठाउन नसकिएको बताउँदै त्यसको लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाएको बताउँदै बा“केका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले पठाउने प्रक्रियामै रहेको जानकारी दिए । उनले भने, ‘प्रहरी प्रधान कार्यालयलाई यहाँबाट जानकारी पठाएका छौं, त्यसको जवाफ आएपछि पठाउने हो ।’

राप्तीसोनारी–४ धामपुरमा रहेको प्रहरीलाई निकै लामो दुरी पर्ने, जंगल क्षेत्र र घटना बढ्दै गएकोले तत्काल प्रहरी पोष्टमा प्रहरी पठाउनुपर्ने माग स्थानीयहरुको माग छ । प्रहरी पोष्ट तयार भइसक्दा पनि प्रहरी नआएको भन्दै स्थानीय कैलाश थारुले भने, ‘हामीले निकै पहिलेदेखि पहल गरेका हौं, पहिले संरचना अभाव देखाइयो, त्यो तयार भएपछि तत्काल प्रहरी आएर बस्नुपर्छ ।’

प्रकाशित मिति : ८ असार २०७६, आइतवार ११:२५