सूचनाको शक्ति - The Power Of Information

        

घरमै पारस पुगेपछि मुस्कुराए हेमन्त !

बाँके । साविकको मध्य तथा सुदूरपश्चिमका बिरामी हेर्ने भेरी अस्पताल नेपालगन्जमा कार्यरत डा.पारस श्रेष्ठलाई अस्पतालमा दिनहुँजसो आउने विरामी चेकजाच गर्न भ्याईनभ्याई हुन्छ । बाहिरी दुनियाँ भन्दा विरामीको उपचारमा डा.श्रेष्ठको दिन बित्ने गर्छ । डा.श्रेष्ठलाई सामाजिक सन्जाल हेर्ने फुर्सद बिरलै हुन्छ । त्यसो त उनी फुर्सदमा इन्टरनेटमा समाचार खोज्ने गर्छन् ।

बुधबार विहानै डा.श्रेष्ठले आफ्नो मोबाइल चलाउँदै जाँदा सामाजिक सञ्जालहरुमा पीडाबोध गराउने समाचार हेरे । कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित दिदीको घरमा बस्दै आएका मृगौला पीडित हेमन्त सिंह ठकुरीका बारेमा सामाजिक सञ्जालमा भेटिएको समाचार पढेपछि डा.श्रेष्ठलाई खुल्दुली लाग्यो । मृगौला रोग विशेषज्ञ डा.श्रेष्ठले समाचार पढेपछि बिहीबार मृगौला पीडित हेमन्तकै घरमा पुगे ।

डा.श्रेष्ठले मृगौला पीडित हेमन्तसँग करिब एक घण्टा बिताए । उनले मृगौला पीडित हेमन्त र उनकी दिदी सुमित्रा सिंह ठकुरीसँग डा.श्रेष्ठले जिज्ञासा राख्दै बिरामीको अवस्था, उपचार लगायतका विषयमा सोधे । सो क्रममा डा.श्रेष्ठले मृगौला पीडित हेमन्तको स्वास्थ्य चेकजाँचसमेत गरेका थिए । डा.श्रेष्ठले उपचारका लागि आफ्नो सबै सहयोग तथा निगरानीमा राख्ने बताएपछि हेमन्तको अनुहारमा मुस्कान देखिएको थियो ।

स्वास्थ्य बिग्रिँदै गएपछि उठबस गर्न समेत समस्या भइरहेका बेला स्वास्थ्य अवस्थाका बारेमा चासो राख्दै डा.श्रेष्ठ घरमै पुगेपछि मुस्कुराउँदै मृगौला पीडित हेमन्तले भने, ‘मेरो घरमा भगवान आउनुभएको छ । मलाई भगवानले बचाउनुहुन्छ भन्ने आश जागेको छ ।’ आफुले मृत्यु कुरिरहेको बताउँदै मृगौला पीडित हेमन्तले भने, ‘मिडियाकै कारण डाक्टर सा’ब मेरो घरमा पुग्नुभयो । मलाई देउता नै घरमा पुगेजस्तो लागेको छ । उहाँ त भगवानै हुनुहुँदोरहेछ ।’

डा.श्रेष्ठसँगै नेपालगन्जको यसोदा फार्मेसी र यसोदा इन्दे्रणी डाइगोनोष्टीका सञ्चालक रोशन केसी, स्वास्थ्य प्राविधिक किरण चौधरी पनि हेमन्तको घरमा पुगेका थिए । उनीहरुले उपचारका क्रममा लाग्ने औषधि तथा अन्य परिक्षण शुल्क ब्यहोर्ने बताएका छन् । ‘हेमन्तको उपचारका लागि आफूहरुका तर्फबाट पूर्ण सहयोग हुन्छ,’ फार्मेसी सञ्चालकद्वयले भने, ‘हामीले ल्याब परिक्षणका लागि हेमन्तको रगतको नमूना पनि लिएका छौं ।’

हेमन्तले औषधि र खानेकुरा समय मिलाएर खाने गरे भने एक महिनामै हिँडडुल गर्न सक्ने डा.श्रेष्ठले बताए । हेमन्तसँग करिव एक घण्टा बिताएका डा.श्रेष्ठले उपचारमा चिन्ता नगर्न आग्रहसमेत गरे । उनले भने, ‘हेमन्त तिमीले चिन्ता नगर्नु, हामी सन्चो बनाउछौं ।’ डा.श्रेष्ठ मृगौला पीडित हेमन्तलाई फेरी भेट्ने बाचा गर्दै नेपालगन्ज फर्किएका थिए ।

हेमन्तकी दिदी सुमित्राले भनिन्, ‘भाईको उपचारमा आर्थिक सहयोगका लागि सबैसँग आग्रह गरेका थियौं । भाईले मृत्युलाई कुरिरहेको छ, यहिबेला डाक्टर सा’ब भगवान बनेर घरमै आउनुभयो । अब भाईलाई निको हुन्छ भन्ने आश पलाएको छ ।’ हेमन्तको उपचारमा पूर्ण सहयोग हुने बताउँदै एसोदा फार्मेसीका प्रोपाइटर स्नेहा थापाले भनिन्, ‘औषधि र ल्याव खर्च हामीले ब्यहोर्छौ । यो हाम्रो जिम्मेवारी हो, कसैको जीवन रक्षा हुन्छ भने सहयोग गर्नुपर्छ ।’

२८ वर्षीय हेमन्त कामको सिलसिलामा गत कातिकमा पोखरा गएको१७ दिनपछि विरामी भएर काम गर्न नसकेपछि घर फर्किएसँगै भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि भर्ना गरिएको थियो । गत मंसीर ७ गते भेरी अस्पतालले दुवै मृगौला फेल भएको जानकारी गराएसँगै उपचारका लागि आर्थिक अभाव झेलिरहेको हेमन्तको परिवारमा डाक्टर घरमै पुगेसँगै खुशीयाली छाएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार २०:५४