सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा डाक्टरको चरम लाहपर्वाही, १० दिनदेखि बिरामी अलपत्र

बाँके । चिकित्सकको लाहपर्वाहीका कारण उपचारका लागि सल्यानबाट आएका एक जना विरामी भेरी अस्पतालमा दश दिनदेखि अलपत्र परेकी छन् । बनगाड कुपिण्डे नगरपालिका–१ सल्यानकी जैशरी पुन उपचारका लागि भर्ना भए पनि डाक्टरको लाहपर्वाहीका कारण अलपत्र परेकी हुन् ।

पाठेघर सम्बन्धी समस्याका कारण उपचारका लागि अस्पतालमा भर्ना भएकी पुनको उपचारमा संलग्न डा.युवराज कार्कीको लापरबाही र ढिलासुस्तीका कारण विचल्लीमा परेकी छन् । डा.कार्कीले दिनदिनै भोली पर्सी अपरेसन गर्छु भन्दै आफूलाई १० दिनदेखि उपचारबाट बञ्चित गराइरहेको उनको गुनासो छ ।

डा.कार्कीले झुठो बोलेर अपरेशन नगरिदिएका कारण उनले १० दिनसम्म पनि उपचारबाट बञ्चित गराएको बताइन् । पाठेघर समस्याले थलिएकी ६५ वर्षिय पुन उपचारका लागि जेठ २४ शुक्रबार भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको उपचारमा संलग्न डा.कार्कीले पाठेघरको अप्रेसन गरि फाल्नुपर्ने भन्दै भर्ना गराए । अस्पतालको विवरण अनुसार सोही दिन भर्ना भएकी पुनको १० दिनसम्म पनि अप्रसेन हुन सकेको छैन ।

उनका श्रीमान् भीमबहादुर पुनले भने, ‘डाक्टरको सल्लाह बमोजिम अस्पताल भर्ना गरियो । डाक्टरले श्रीमतीको अप्रेशन आजभोली गर्ने भन्दै १० दिनदेखि आश्वासन दिइरहेका छन् । तर अप्रेशन कहिले गर्ने भन्ने टुंगो छैन । घरबाट ल्याएको रकम पनि सकिन थाल्यो ।’ भीमबहादुरका अनुसार पहिलो पटक २५ गते अप्रेशन गर्ने भनेर डाक्टरले तयारी गर्न लगाए पनि त्यसपछि हरेक दिन मिति सरिरहेको छ ।

उनले भने, ‘डाक्टरले हरेक दिन आएर भोली अप्रेशन हुन्छ भन्नुहुन्छ, हामी सोही अप्रेशनका लागि तयारीमा बस्यौं । फेरि आउनुहुन्छ, अप्रेशन नगरेरै अर्को मिति तोक्नुहुन्छ ।’ हरेक दिन अप्रेसन मिति तोकेर डाक्टरले आफैले बेवास्ता गर्दै विभिन्न बाहनामा मिति टार्ने गरेको भीमबहादुरले बताए । पटकपटक डा.कार्कीले मिति सार्दा र आफैले भनेको मितिमा अप्रेशन नगर्दा भीमबहादुरले आजित बनेका छन् ।

उनले भने, ‘जेठ ३० गते बिरामीलाई रिफर गर्नुस्, हामी नीजिमै भए पनि अप्रेशन गर्छौं भन्यौ, उहाँँले भोली अप्रेशन हुन्छ भन्नुभयो, तर भएन ।’ विरामीले थलिएकी जैशरी र उनका श्रीमान् आजित भएपछि गुनासो लिएर अस्पताल प्रशासनमा पुगेपछि गाइने विभाग प्रमुख डा.कल्पना थापाले भोली आफैले अप्रेशन गरिदिने आश्वासन दिएकी छन् ।

अस्पतालमा कार्यरत डाक्टरबाट पीडित बनेका पुन दम्पत्ती लामो समयसम्म अस्पतालमा बस्नुपर्दा आर्थिक समस्या भएको बताए । सल्यानबाटस्वास्थ्य सेवा लिनकै लागि नेपालगन्जस्थित भेरी अस्पतालमा आएका पुन दम्पत्ती आर्थिक समस्या पर्न थालेपछि अस्पतालबाट आफन्त कहाँ गएर बस्न थालेका छन् । डा.कल्पनाले भोली अप्रेशन हुने बताएपछि आफन्तकहाँ गएको भीमबहादुरले बताए ।

यस्तै भेरी अस्पताल प्रसुति कक्षमा रहेकी बाँके राप्तीसोनारी–६, राजपुरकी चम्फी चौधरीको अवस्था पनि उस्तै छ । ७५ वर्षिय चम्फीको पाठेघर बाहिर निस्किएर उनलाई असह्य पीडा भइरहेको छ । दश वर्षदेखि दुवै आँखा नदेख्ने चम्फीको पाठेघरको अप्रेशन गर्न डाक्टरले पनि हेलचेक्र्याई गरिरहेको आफन्तहरुको गुनासो छ । डाक्टरले लामो समयदेखि अप्रेशनका लागि आलटाल गर्ने गरेकाले पीडित बनेको चम्फीकी बुहारी प्रसधनी थारुले बताइन् ।

‘खेती किसानीको समयमा छिट्टै उपचार होला भनेर यहाँ आएका हौं, नौ दिन भइसक्यो, सासु आमाको न त अप्रेशन भएको छ, न त डाक्टरले केही भन्छन् । यो त डाक्टरको ठूलो लापरबाही मात्र नभई गैरजिम्मेवारी हो,’ उनले भनिन्, ‘नौ दिनदेखि अस्पतालमै छु, पालो कुर्दाकुर्दै आफू पनि विरामी परिसके । डाक्टरले अप्रेशन गर्ने कुनै सुरसार नदेखाएपछि सासु आमाले मलाई यहाँबाट घर लैजा भन्दै आत्तिनुभएको छ ।’

अस्पतालमा कार्यरत डाक्टरहरु पछिल्लो समय आफ्ना नीजि क्लिनिकमा ब्यस्त हुने हुँदा विरामीले सर्वसुलभ र प्रभावकारी सेवा पाउनबाट बञ्चित हुनुपरेको हो । ‘विरामीलाई आफू अनुकुल गराएर राख्ने त्यो भयो भने सेवा दिने नत्र विभिन्न बहाना देखाउने काम बन्द गर्नुपर्छ,’ भेरी अस्पतालमा उपचार गराइरहनु भएका दयाराम कँडेलले भने, ‘यहाँका डाक्टरहरुको नियत नै ठिक छैन ।’

डा.कार्कीले विरामीमाथि चरम लापरबाही गर्दा अस्पतालमा आउने अन्य विरामी पनि आजित बन्ने गरेका छन् । डा.कार्कीकै कारण अस्पताल आउने बिरामीमात्रै नभई कर्मचारीहरु समेत तनाव झेल्दै आएका छन् । भेरी अस्पतालमा रहेका डाक्टर स्वयम्ले विरामीलाई विभिन्न बहानामा आलटाल गर्ने गर्दासमेत अस्पताल प्रशासनले भने सो विषयमा चासो नदिएको विरामीहरुको गुनासो छ ।

रगतदेखि अल्ट्रसाउण्डसम्म यिनिहरुले भनेको ठाँउमै परीक्षण गराउनुपर्छ । त्यसो भएन भने रिपोर्ट नै गलत छ भन्दै कागजमा प्याथोलोजिको नाम लेख्दै त्यही गएर परीक्षण गराउन निर्देशन दिन्छन् । अस्पतालका डाक्टरले विरामीको उपचारमा देखाएको लापरबाहीले विरामी मर्कामा परेका छन् । आफूअनुकुल प्याथोलोजीमा स्वास्थ्य परीक्षण गराई कमिशन असुल्ने डाक्टरमाथि कारबाही हुनुपर्ने विरामीको माग छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार १७:२५