सूचनाको शक्ति - The Power Of Information

        

भारतीय मालवाहक गाडी जाँच नगर्न २२ जिल्लामा गृहको पत्र, सीमा तस्करीलाई बढवा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल आउने कच्चा पदार्थ बोकेका मालवाहक सवारी जाँच नगर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । ट्राफिक प्रहरीले भारतीय सवारीलाई जाँच गरेको, रोकेको, अनावश्यक दुःख दिएको लिखित तथा मौखिक गुनासो आएको भन्दै थापाले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएका हुन् ।

यो निर्देशन तराईका २२ जिल्लामा लागू हुने गृह मन्त्रालयले जनाएको छ । गत वैशाख २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भारतबाट नेपाल भित्रिने कच्चा पदार्थ बोकेका मालवाहक सवारीसाधन जाँच गर्ने, भारवहन क्षमता परीक्षण गर्ने काम प्रहरीले गरिरहेको उल्लेख गर्दै सो काम सम्बद्ध निकायलाई नै गर्न निर्देशन दिइएको छ ।

यो निर्णय कार्यान्वयन गर्न जेठ २ गते गृहले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी मुख्यालयलाई पत्राचार गरेको छ । गृहको पत्रमा नियामक निकायको अनुमति र समन्वयबेगर भारतीय सवारी नरोक्न निर्देशन दिइएको छ । गृहको पत्रमा तेस्रो देशबाट नेपाल भित्रिने ठूला मालवाहक ट्रक र कन्टेनरबारे केही पनि उल्लेख गरिएको छैन ।

गृह मन्त्रालयले प्रहरीले क्षेत्राधिकारबाहिर काम गरिरहेकाले यस्तो निर्देशन दिनुपरेको जनायो । गृह प्रवक्ता रामकृष्ण सुवेदीले प्रहरीको काम मालवाहक सवारी रोक्ने नभएकाले गृहले क्षेत्राधिकारबाहिर काम नगर्न निर्देशनमात्र दिइएको बताए । भारतबाट आउने सवारीलाई सशस्त्र प्रहरीले भन्सारमा जाँच गर्दै आएको छ । नेपाल प्रहरीले प्रज्ञापन पत्र र जाँचपास हुँदा जाँच गर्दै आएको छ ।

नक्कली प्रज्ञापन पत्र बनाई भन्सार जाँचपास व्यापक हुने गरेको भन्दै प्रहरीले जाँच गर्ने गरेको छ । सडकको भारवहन क्षमताभन्दा बढी बोक्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रोक्दै सडकमै कारबाही गर्दै आएको छ । प्रवक्ता सुवेदीले भारक्षमता मापन गर्ने काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र तस्करी नियन्त्रण गर्ने काम अर्थ मन्त्रालयको भएकाले गृहले त्यसमा हस्तक्षेप गर्न नमिल्ने बताए ।

‘प्रहरीले तस्करी हुन्छ भनेर गाडी रोक्ने हैन, अर्थ मन्त्रालय र भन्सार विभागले गर्ने हो,’ उनले भने, ‘सडकको भारक्षमता जाँच्ने काम ट्राफिक प्रहरीको हैन ।’ गृहले अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भने यसबारे कुनै जानकारी गराएको छैन । प्रवक्ता सुवेदीले भने दुबै मन्त्रालयलाई बोधार्थ लेखिएको दाबी गरे । पत्रमा ती मन्त्रालयलाई बोधार्थ लेखिएको छैन ।

‘पत्रमा छुटेको होला तर छुटेको भए हामी लेखेर पठाउँछौं,’ उनले भने । सुवेदीले सम्बन्धित निकायको कार्यक्षेत्रमा नजान प्रहरीलाई निर्देशनमात्र दिइएको बताए । गृहको पत्रमा भनिएको छ, ‘बाटोमा ट्राफिक प्रहरीबाट ओभरलोड भनेर ट्रक, ट्रेलरहरू समाती दुःख दिने, जरिवाना तिराउने, हैरानी दिने गरिएको छ, शान्ति सुरक्षाका लागि अनुरोध आएमा व्यवस्था गर्ने, क्षेत्राधिकारविपरीत रोक्ने र दुःख दिने काम कहीँकतै नगर्न अनुरोध छ ।’

सडकमा ट्राफिक प्रहरी तथा प्रहरीले जाँच गर्दा उद्योगहरूमा जाने कच्चापदार्थका ठूला साधनहरूलाई अवरोध पुगेको गृहको पत्रमा उल्लेख छ । र, यस्तो बाधा व्यवधान नगर्न अनुरोध गरिएको छ । गृहको पत्रमा तराईका २२ जिल्लाको नाम नै उल्लेख गरिएको छ । ती जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रहेका छन् ।

यी जिल्लामध्ये झापा, मोरङ, बारा, पर्सा, रुपन्देही र बाँकेमा अत्याधिक तस्करी हुने गरेको छ । भन्सार जाँचपास कडाइ गरे पनि नक्कली प्रज्ञापन पत्र बनाएर तस्करी गर्ने गरिएको भन्दै प्रहरीले निगरानी गर्ने गरेको थियो । यस्तोमा प्रहरीले भन्सारसँग समन्वय गरी भन्सारलाई नै त्यस्ता मालवाहक सवारी कारबाहीका लागि जिम्मा लगाउने गरेको थियो । नक्कली प्रज्ञापन पत्र भेटिई आएको मालवाहक सवारीलाई कारबाही गर्न भन्सारले राजश्व अनुसन्धान विभाग पठाउने गरेको थियो ।

राजश्व अनुसन्धान विभागमा मालवाहक सवारी पुगेपछि मुद्दा टुंगिन लामो समय लाग्ने गरेको भन्दै उद्योगी रुष्ट थिए । भन्सार चोरी पैठारी नियन्त्रणको ‘राजश्व गस्ती’मा सशस्त्र प्रहरी पनि खटिने गरेको छ । सशस्त्र प्रहरीलाई समेत निर्देशन दिइएकाले राजश्व गस्तीमा अब सशस्त्र प्रहरी खटिनेरनखटिने अन्यौल छ । गृहको निर्देशन कच्चापदार्थ बोकेका ठूला गाडीलाई मात्र भएकाले अन्य मालवाहक साधन पूर्ववत् रूपमै जाँच गर्न सकिने प्रहरीले जनायो ।

रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले भने, ‘कच्चापदार्थ बोकेका ठूला मालवाहक गाडीलाई दुस्ख नदिनु भनिएको हो । अरु गाडी हामी मजाले जाँच गर्न सक्छौं ।’ भन्सार कार्यालयहरुमा एक्सरे उपकरण छैन । प्रज्ञापन पत्र हेरेर भन्सार जाँचकीहरुले मालवाहक साधनको सिल खोल्छन् र नयाँ सिल राखेर जाँचपास गराउँछन् । यसमा भन्सार कर्मचारी र भन्सार एजेन्टहरूको मिलेमतो रहने गरेको र झुठो प्रज्ञापन पत्र बनाएर तस्करी हुने भइरहेको भन्दै प्रहरीले बीचबीचमै रोकेर समात्ने गरेको छ ।

प्रहरीले सीमा नाकाबाट भित्रने गाडीहरु नियमित जाँच गर्दै आएको छ । सीमा नाका भएकाले विभिन्न अवैध वस्तुहरु भित्रने, बिना कागजात गाडी नेपाल प्रवेश गर्ने, तस्करीका सामानहरु नेपाल छिर्ने भएकाले सीमा क्षेत्रमा कडा जाँच हुने गरेको हो । गृहले पठाएको पत्रमा प्रहरीबाट ओभरलोड भनेर ट्रक र ट्रेलहरुलाई दुख दिने, जरिवाना तिराउने, हैरानी दिने र २–३ दिनसम्म रोकेर राख्ने गरेको पाइएको भन्दै अबदेखि जाँच नगर्नु भनिएको छ । प्रहरीले कागजात नभएका र ओभरलोड भएका, भन्सार छलेर ल्याएका मालबाहक गाडी र सामानहरु बरामद गरे पनि गृहको यो पत्रले तस्करीलाई बढवा दिएको सीमा क्षेत्रका प्रहरीले बताएका छन् ।

केही दिनअघि मात्रै २ नम्बर प्रदेश अन्तरगतको एक प्रहरी कार्यालयले कागजात बिनाका ११ वटा मालबाहक गाडी नियन्त्रणमा लिएको थियो । व्यवसायीले छाड्न भन्दै पटकपटक दबाब दिए पनि प्रहरीले कागजात नभएकाले कारबाही नगरी छाड्न नमिल्ने बताएको थियो । त्यसपछि प्रहरीलाई चुनौती दिँदै राजधानी काठमाडौं छिरेका व्यावसायीले गृहमन्त्रीलाई भेट गरेका थिए । व्यवसायीको भेटपछि गृहले २२ वटा जिल्लालाई पत्र लेख्दै मालबाहक गाडी जाँच नगर्न निर्देशन दिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो ।

सीमाका प्रहरी भन्छन्, ‘हामी चेपुवामा परयौं’

गृहको उक्त निर्णयले तस्करी, कालोबजारीलाई बढवा दिने जानकारहरु बताउँछन् । प्रदेश ५ का एक उच्च पदाधिकारीले गृहको उक्त निर्देशनले प्रहरीलाई चेपुवामा पारेको प्रतिक्रिया दिए । ‘अहिले राजधानी लगायत देशका विभिन्न ठाउँमा विस्फोटका घटनाहरु भइरहेका छन् । गाडी नै जाँच नगरी पठाउँदा विस्फोटन गराउने समूहले विस्फोटक पदार्थ मालबाहक गाडीमार्फत नै ल्याउन पनि सक्छन्,’ ती अधिकारीले भने, ‘अनि भोलि विस्फोट भएपछि नाकाको प्रहरी के हेरेर बसेको छ भनेर उल्टै हामीमाथि कारबाही हुन्छ ।’

नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न ठाउँमा विस्फोट गराउँदै आएको छ । उक्त विस्फोटक पदार्थ दक्षिण सीामा नाका भारतबाट आउनको गरेको यसअघि नै सुरक्षा निकायले बताउँदै आएका छन् । यस्तो अवस्थामा गाडी नै जाँच गर्न नपाएपछि विस्फोटक पदार्थहरु भित्रने उनीहरुको चिन्ता छ । अझ भारतीय सीमा हुँदै भन्सार छलेर तस्करी हुने कुरा नौलो होइन । यसरी तस्करी गरेको सामान गाडीमै काठमाडौंसम्म आउने गरेका उदाहरण पनि छन् ।

गत बैशाख पहिलो साता स्वयम्भूमा ना ५ ख ४८४२ नम्बरको बसमा जाँच गर्ने क्रममा प्रहरीलाई ३ लाख ५० हजार रुपैयाँ घुसको अफर आएको थियो । घुस दिन खोज्ने बसका चालक काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने सर्लाहीका श्याम विश्वकर्मा, कलंकी बस्ने सुर्खेतका दीपा रानामगर र नुवाकोट ककनी गाउँपालिका–२ का भरत तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा उक्त बसमा ५० लाखभन्दा बढीका कपडा र अन्य समान फेला परेका थिए । उनीहरुले ती सामान भारतबाट भन्सार छलेर काठमाडौं ल्याएका थिए ।

सीमा नाकाका प्रहरीले दिनहुँजसो भन्सार छलेर आएका समान र गाडीहरु नियन्त्रणमा लिँदै आएको छ । अब जाँच नै गर्न नपाउने भएपछि लागुऔषध, विभिन्न हातहतियार, विस्फोटक पदार्थ, मुलुकको राष्ट्रिय सुरक्षा खतरा पर्ने चिजहरु पनि भित्रन सक्ने सुरक्षा विज्ञ तथा पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन् । ‘यदि गृहले जाँच नै नगर भनेको छ भने भोलि देशमा केही भएमा त्यसको जिम्मा पनि उसैले लिनुपर्यो,’ उनले भने, ‘जाँच नै नगर्नु भन्ने आदेश जुन छ, यो सुनेर म अचम्ममा परेको छु ।’

प्रकाशित मिति : २ असार २०७६, सोमबार १७:३४