सूचनाको शक्ति - The Power Of Information

        

गाउँमा पुगेन वित्तीय साक्षरता

बाँके । बजारमा बैंकिङ्ग प्रतिश्पर्धा चलिरहेको छ । शहरोन्मुख बजारमा शाखा विस्तार गर्न बैंकहरुको होडबाजी नै चलेको छ । हरेक वर्ष बैंक तथा वित्तीय संस्थाका शाखा खुल्ने क्रम बढेको छ । संघीयतापछि राष्ट्र बैंकले बैंकिङ्ग सेवा नपुगेका स्थानीय तहमा वाणिज्य बैंकहरुले अनिवार्य शाखा विस्तार गर्नुपर्ने तीनि बनाएपछि गाउँमा बैंकहरु त पुगेका छन्, तर बैंकप्रति स्थानीयहरुको पूर्ण विश्वास भने देखिँदैन ।

शहर केन्द्रीत बैंकहरु गाउँमा पुगे पनि स्थानीयहरुले अझै भरोसा गरिसकेका छैनन् । स्थानीय तहको गठनसँगै बाँकेका बैजथाथ, राप्तीसोनारी, नरैनापुर, खजुरा लगायतका ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्था पुग्न खोजे पनि त्यो पर्याप्त छैनन् । सर्वसाधारणमा वित्तीय साक्षरताको अभाव छ । ग्रामीण क्षेत्रमा बैंकप्रति अविश्वास छ भन्ने सुन्दा त झन् यसक्षेत्रमा काम गर्ने सरोकारवाला निकायलाई उदेक लाग्छ ।

बाँकेको अति बिकट नरैनापुरजस्ता ठाउँमा पुगेको सनराइज बैंकका प्रबन्धक खडकप्रसाद देवकोटाले आफ्नो अनुभव सुनाउँदै भने, ‘वित्तीय साक्षरताको कुरा छाड्नुहोस् यहाँ त सुरुमा बैंकप्रति अविश्वास थियो ।’ द्वन्द्वकालको समयमा गाउँबाट बैंकहरु बिस्तापित भएपछि अहिले पनि सर्वसाधारणहरु बैंकहरु गाउँ छाडेर शहर जान्छ की भनेर प्रश्न गर्ने गर्छन् । स्थानीयहरुलाई बैंकप्रति अझै पूर्णरुपमा विश्वास लागिरहेको छैन ।

प्रबन्धक देवकोटा भन्छन्, ‘वित्तीय साक्षरताका बिषयमा जतिसक्यो जानकारी गराएका छौं ।’ बैंकका काम अति नै संवेदनशील हुन्छन् । सामान्य हस्ताक्षर नमिल्दासमेत काम हुँदैन । गाउँमा ‘एकचालिस’ लेख्नुपर्ने ठाउँमा ‘एकतालिस’ लेख्ने पनि छन् । हामीले स्थानीय सेवाग्राहीलाई धेरै सिकाउन बाँकी छ ।’ नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरताका लागि अभियान सुरु नगरेको होइन । राष्ट्र बैंक र निजीस्तरका बैंकहरु यस्ता कार्यक्रमहरु सञ्चालन पनि गरिरहेका छन् ।

‘वाणिज्य बैंकलाई जुन पूर्वाधार चाहिन्छ, त्यो प्रयाप्त छैन । विजुली, बाटो, सुरक्षा चौकी, इन्टरनेटजस्ता पूर्वाधारहरु बैंकहरुका लागि महत्वपूर्ण हुन्छन्,’ प्रबन्धक देवकोटा भन्छन्, ‘गाउँमा अझै पूर्वाधार अभाव छन्, यही अभावका बीचमा पनि हामीले सक्दो सेवा दिइरहेका छौं ।’ संघीयतापछि ग्रामीण क्षेत्रमा बैंकिङ्ग सेवा अनिवार्य भए पनि बिजुली, इन्टरनेट, सडक पूर्वाधार लगायतका कारण बैंकहरुले पनि सोंचेजस्तो सेवा प्रवाह गर्न सकिरहेका छैनन् ।

संघीयतापछि राष्ट्रियस्तरका बैंकहरु गाउँमा पुगेका छन् । गाउँमा बैंक पुगेसँगै वित्तीय साक्षरता बढ्ने बिश्वास गरिए पनि सोंचेअनुरुप हुन नसकेको प्रबन्धक देवकोटाको भनाई छ । ‘बैंकिङ सेवा शहर केन्द्रीत हुनुहुँदैन, ग्रामीण भेगमा पनि पुग्नुपर्छ भन्ने नेपाल राष्ट्र बैंकको धारणा छ हामी त्यसको कदर गर्दै ग्रामीण भेगका जनतालाई अभावका बीचमा पनि बैंकिङ सेवा दिन सदैव तयार छौं,’ प्रबन्धक देवकोटाले भने ।

वित्तीय संस्थाहरु शहर केन्द्रीत भएकै कारण वित्तीय साक्षरता अभियान गाउँमा पुग्न सकेको छैन । कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश रावतले ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता अभियान चलाउन आवश्यक रहेको बताए । उनी भन्छन्, ‘यही कुराको आवश्यकता महसुस गरी हामीले ग्रामीण क्षेत्रमा शाखा बिस्तार गर्ने र वित्तीय साक्षरता गाउँमा पुर्याउने लक्ष्य राखेका छौं ।’

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानीजस्ता विषयमा जानकारी दिने गरेको पनि प्रयाप्त नभएको प्रमुख कार्यकारी अधिकृत रावतले बताए । उनले भने, ‘साक्षरता अभियानमा सबै बैंकहरुले हातेमालो गर्दै अघि बढ्नुपर्छ । सेवाग्राहीलाई पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणजस्ता विषयमा सिकाउन जरुरी छ ।’

‘अवको साक्षरता वित्तीय पहुँच विस्तार गर्नेतर्फ भन्दा पनि वित्तीय स्थायित्व कायम गर्ने, प्रविधिमैत्री र समावेशी वित्तीय क्षेत्रतर्फ पनि जोड दिनुपर्ने हुन्छ,’ उनले भने, ‘वित्तीय साक्षरता वित्तीय क्षेत्रको क, ख पढाउने मात्रै हुनुहुँदैन ।’ गभर्नरले वित्तीय क्षेत्रका अंगका रुपमा रहेका बीमा र पुँजी बजारको साक्षरता अभियान पनि सँगसँगै चलाउनुपर्ने बताए । बैंकिङ क्षेत्रको साक्षरताले मात्रै वित्तीय स्थायित्व र समावेशीता हुन नसक्ने उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार, आर्थिक बर्ष २०७४÷०७५ सम्म बाँकेमा बैंक तथा वित्तीय संस्थाको शाखा १६२ पुगेको छ । तर ती शाखाहरु नेपालगन्ज र कोहलपुरजस्ता शहरमा मात्रै केन्द्रीत छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको आकर्षण बढाउन ‘वित्तीय साक्षरता’ अभियान सञ्चालन गरे पनि प्रभावकारी बन्न सकेको देखिँदैन । कतिपय बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकमैत्री सेवाका लागि पहल गरेका छैनन् ।

राष्ट्र बैंकको वित्तीय साक्षरता अभियानबारे सेवाग्राहीहरु पनि जानकार छैनन् । नेपालगन्जको न्यूरोडस्थित वेष्ट्रन डेभलप्मेन्ट बैंकमा खाता खोल्न पुगेका दीपक बर्माले आफूलाई वित्तीय साक्षरताका बारेमा जानकारी नभएको बताए । उनले भने, ‘मलाई अहिलेसम्म यस बिषयमा केही जानकारी छैन । दुई÷तीन वटा बैंकमा खाता खोलेको छु, रकम जम्मा गर्न र निकाल्न जाने गरेको छु, अरु केही थाहा छैन ।’

त्यसो त कतिपय बैंकका सञ्चालकहरुलाई समेत सामान्य बैंकिङ र लघुवित्तको बारेमा समेत जानकारी छैन । ‘बैंकका धेरै सञ्चालकहरुलाई नै वित्तिय साक्षरताका बारेमा जानकारी छैन,’ एकजना बैंक प्रबन्धकले भने । उनका अनुसार बैंकको सञ्चालक भएर पनि आधारभूत बैंकिङको बारेमा थाहा छैन । सामान्य मानिसलाई चाहिनेभन्दा बैंकका सञ्चालकहरुलाई अलि माथिल्लोस्तरको वित्तिय साक्षरता जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार १६:२६