सूचनाको शक्ति - The Power Of Information

        

सहयोग संकलन भन्दै ठगी गर्ने गिरोह सक्रिय, बेखबर प्रहरी

बाँके । बाँकेमा भारतबाट आएर सहयोग संकलन भन्दै विभिन्न बाहानामा रकम ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ । प्रहरी भने हालसम्म बेखबर रहेको छ । भारतको राजस्थानमा कलेज बनाउनका लागि रकम सहयोग मागिरहेको नेपालगन्जको धम्बोझीमा भेटिएकी करीब २४ वर्षिय एक युवतीले बताइन् ।

उनले शिक्षक, विद्यार्थी गरेर २०० जनाको टोली नेपाल आएको बताइन् । तर विभिन्न ठाँउसम्म पुग्दा उनीहरुले कलेज बनाउन, हावाहुरी पीडितका लागि सहयोग रकम संकलन गर्ने लगायतका विभिन्न बाहानामा रकम मागिरहेको खुलेको छ । एउटै कुरालाई फरक फरक ठाँउमा पुग्दा फरक बताएपछि ठगी धन्दा हुनसक्ने देखिएको छ ।

नेपालगन्जका व्यापारी विवेक श्रेष्ठले उनीहरुको वोल्ने शैली पनि राम्रो नभएको भन्दै धेरै महिनादेखि यसरी रकम माग्दै हिँडेको जानकारी दिए । एउटै रंगको कालो टिर्सटमा रहेका उनीहरुले अंग्रेजी र हिन्दी भाषामा कुराकानी गर्ने गरेका छन् । उनीहरुले अंग्रेजी अक्षर लेखिएको एउटा कागजपत्र देखाएर सहयोग रकम भन्दै सर्वसाधारणबाट रकम लिइरहेका छन् । उनीहरुले अन्य प्रमाणहरु भने देखाएनन् ।

एउटै व्यक्तिले फरक फरक ठाँउमा फरक कुरा बोलेपछि ठगी गरिरहेको हुनसक्ने नेपालगन्जका अर्का स्थानीय गोपालराज पोखरेलले बताए ।  बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले यसरी अर्को मुलुकबाट आएर विभिन्न वाहानामा रकम सहयोग माग्न नमिल्ने बताए । उनीहरुले यसरी विभिन्न बाहानामा रकम असुल्नु ठगी धन्दा हुनसक्ने आशंका छ ।

यसबारे भर्खरै जानकारी पाएको बताउदै उनले त्यसरी विभिन्न बाहानामा रकम असुल्दै गरेको अवस्थामा भेटिए कानुनी कारवाहीको दायरामा ल्याइने बताए । यस्तो पाइएमा तुरुन्त प्रहरीलाई खवर गरिदिन उनले आग्रह गरे । उनीहरु नेपालगन्जको धम्बोझी, त्रिभुवन चोक लगायतका मुख्यमुख्य चोकमा पुगेर सर्वसाधारणबाट रकम मागिरहेको अवस्थामा भेटिएको स्थानीयहरुले बताएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १७:२३