सूचनाको शक्ति - The Power Of Information

        

वडा स्तरीय क्रिकेटमा वडा नं. ४ र १५ विजयी

बाँके । नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ४ र १५ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदान बिहिवार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ४ ले वडा नम्बर २ लाई ५ बिकेटले पराजित गर्दै बिजयी भएको हो ।

खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २ ले निर्धारित १५ ओभरमा ६ बिकेट गुमाउँदै ९५ रन बनाएको थियो । उसका लागि अमर लाल श्रेष्ठले ४०,बिरेन्द्र कुमार गुप्ता १६ र रितेश सिंह १४ रनको पारी खेलेका थिए । ४ का बलर निजामुदिन हल्बाइले २, सुनिल भन्डारीले १ बिकेट लिए । जवाफी व्याटिङगमा आएकोवडा अध्यक्ष मो. सफिक बेहना आफै मैदानमा उत्रिएको वडा नं. ४ ले ६ ओभर ४ बलमै बिजयी लक्ष भेटायो ।

उसका लागि राष्ट्रिय क्रिकेट खेलाडी आकाश बिस्टले १७ बलमा ८ चौक्का र १ छक्काको मद्दतले ४३ रन को पारी खेले भने सुनिल भण्डारीले १० बलमा २५ र पूर्व खेलाडी मो. सलिम मुसलमानले १२ रन बनाए । २ नम्बबरका बलर रितेश सिंह र रोहित सिंहले २–२ बिकेट लिए । खेलमा आकाश बिस्ट म्यानअफ द म्याच घोषित भए । अध्यक्ष बेहना भने ४ बल खेलेर २ रन बनाउदै आउट भए ।

त्यस्तै दोस्रो खेलमा वडा न १५ बिजयी भयो । उसले वडा नम्बर १३ लाई ८ रनले पराजित गर्यो । खेलमा पहिला व्याटिङ गरेको १५ ले निर्धा्रित १५ ओभरमा ८ बिकेट गुमाउदै १ सय ८ रन वनायो । उसका लागि जिवल राइले ३४, गुरुचन सिंहले १९, नरेन्द्र सिंहले १४ रनको पारी खेले । १३ का बलर पवन केवटले ३ तथा प्रशान्त श्रेष्ठले २ र विशाल डाँगीले २ विकेट लिए ।

जबाफी व्याटिङमा आएको वडा नं १३ ले १५ ओभरमा सय रन मात्र बनाउन सक्यो । उसका लागि प्रताप शर्माले २८ र विशाल डाँगीले २१ रन बनाउनु बाहेक अन्य ले राम्रो प्रदशन गर्न सकेनन् । १५ का नरेन्द्र सिँहले ३ र जिवल राइले २ विकेट लिए । खेलमा नरेन्द्रसिंह म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा २३ र १९ तथा दोस्रोमा ३ र ११वडा बिच खेल हुने प्रतियोगिताका संयोजक तरुण बज्राचार्यले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द ग्रुप अफ सिक्टिनले सो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

अहिले सम्म १५ जनाले सो नगद पाएका छन् । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले यसको व्यवस्था गरेको हो । त्यसै गरि खेल हेर्न आउने दर्शक मध्य प्रत्येक दिन १ जनालाई गोला प्रथाबाट फ्यान अफ द डे घोषणा गरि आकर्षक पुरस्कर दिइनेछ । यसबीच ग्री एसि र आयोजक द ग्रुप अफ सिक्टीनबीच प्रायोजक पत्रमा हस्ताक्षर भएको छ । आयोजक संस्थाका अध्यक्ष बिष्णु अर्याल र ग्री एसिका मार्के्टिङ अफिसर रियाज अन्सारीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सो पत्रमा गरि एसीको डिलर न्यू निजाम स्टोरले आयोजकलाई १ टन क्षमताको १ थान एसि उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । सो पुरस्कार म्यान अफ द सिरिजहुने खेलाडीले पाउने छन भने यस अघि पनि बिबि साइकलले म्यान अफ द सिरीजलाई गेर वाला साइकल उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १२:१३