सूचनाको शक्ति - The Power Of Information

        

अछाममा सुरक्षा व्यवस्था थप मजबुत पारियो


अछाम । प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको चुनावलाई लक्षित गरी विभिन्न स्थानमा हिंसात्मक घटना बढिरहेका बेला अछाममा पनि सुरक्षा व्यवस्था थप मजबुत पारिएको छ । अछामका प्रहरी नायव निरीक्षक दधिराम न्यौपानेका अनुसार जिल्लामा शान्ति सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ । जिल्ला भरी २ हजार सुरक्षाकर्मी खटाइएको उनले जानकारी दिए ।
अछाम जिल्लाका ५५ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले निष्कर्ष निकालेको छ । १९७ मतदानस्थललाई सुरक्षाका हिसावमा ५५ अतिसंवेदनशील, ६५ संवेदनशील र ९ सामान्य गरी तीन प्रकारमा वर्गीकरण गरिएको समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए । अछाममा स्थानीय तह चुनावका दिन केही मतदान केन्द्र नजिक बमसमेत विस्फोट भएका थिए । अछामका दुर्गम क्षेत्रमा रहेका ६७ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम मंगलसेनमा ल्याउन सिफारिस गरिएको चौधरीले बताए ।
अघिल्लो चुनावमा अछामको रहफ, सिउडी लगायतका स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइएको बताइएको छ । ‘सवारी साधनको अवस्था हेरेर हेलिकप्टर परिचालन हुने प्रजिअ चौधरीले बताए । अछाम जिल्लामा ६४ हजार ७७६ पुरुष, ७२ हजार १२५ महिला र दुई तेस्रो लिंगी गरी १ लाख ३६ हजार ९०३ मतदाता रहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलवार १०:४९