सूचनाको शक्ति - The Power Of Information

        

चौध सय नेपालीको ज्यान लिने कतारको विश्वकप रंगशाला (भिडियो)

नयाँ दिल्ली । सन् २०२२ मा कतारले विश्वकप फुटबलको आयोजना गर्दैछ । कुनै पनि अरब मुलुकले विश्वकपको आयोजना गर्न लागेको यो पहिलो पटक हो । सन् २०१० डिसेम्बर २ तारिखका दिन कतारमा विश्वकप आयोजना हुने घोषणा भएको थियो । विश्वकपका लागि फुटबल रंगशाला चाहिन्छ ।

कतारले रंगशाला निर्माणको लागि हजारौँ कामदार आफ्नो देशमा मगायो । नेपालबाट पनि हजारौँ कामदार त्यहाँ पुगेका छन् । तर रंगशाला निर्माण हुन थालेयताका ९ वर्षको अवधिमा रंगशाला निर्माण गर्न गएका करिब १४ सय नेपालीको मृत्यु भएको अरब न्युजले जनाएको छ । डब्लूडिआरको खोजमूलक भिडियो डकुमेन्ट्रीको आधारमा अरब न्युजले यो तथ्य सार्वजनिक गरेको हो ।

डब्लूडिआरका अनुसार कतारमा रंगशाला बनाउन गएका हजारौँ नेपालीमध्ये १ सय १० जनाको प्रत्येक बर्ष मृत्यु हुने गरेको छ । कतार रंगशाला निर्माणका क्रममा निधन भएका नेपाली परिवारले कतारबाट कुनै राहत तथा अनुदान नपाएको गुनासो डकुमेन्ट्रीमार्फत् गरेका छन् । डब्लूडिआरले ‘ट्र्याप्ड इन कतार’ शीर्षकमा शुक्रबार (२२ जेठ) भिडियो सार्वजनिक गरेको हो ।

त्यसमा कतारमा रंगशालाको काम गर्न गएका मानिसहरुले आधारभूत मानवीय आवश्यकता नपाएको देखाइएको छ । दुखका बाबजुद भविष्य सुखद हुने आशामा त्यहाँ नेपालीहरुले काम गरिरहेका छन् । एक नेपाली कामदार दीलप्रसाद भन्छन्, ‘हामी थुनिएका छौँ, हरेक दिन हामी रोटी र पानी खाएर काम गर्न बाध्य छौँ, पैसाबिना हामी केही गर्न सक्दैनौँ ।’

‘उनीहरुको अवस्था महिनैपिच्छे बिग्रँदै गएको छ, मलाई थाहा छैन मैले कहिलेसम्म यहाँ काम गर्छु,’ अर्का एक नेपालीले भने, ‘म घर जान चाहान्छु, हामीले घरमा फोनसमेत गर्न सक्दैनौँ ।’ काठमाडौँका पत्रकार दिनेश रेग्मीले कतारमा ३ वर्ष विताए । यहाँ रिपोर्टिङ गरे । उनका अनुसार कतारले विश्वकप आयोजना गर्ने अनुमति पाएयता नेपाली कामदारको अवस्था सुधार भएको छैन ।

‘जब म केही वर्ष अगाडि कतारमा थिएँ, मैले नेपाली कामदार त्यहाँ प्रताडित भएको पाएँ । उनीहरु ठूलो आशाका साथ त्यहाँ पुगेका छन्’ रेग्मी भन्छन्, ‘उनीहरुलाई न्युनतम पारिश्रमिक पनि दिइएको छैन, उनीहरुको अवस्था धेरै दयनीय छ । उनीहरु दिनदिनै नेपाली राजदूतावासमा आफ्नो अवस्थाको बारेमा बताउन जान्छन् । उनीहरु सहयोग र समस्याबाट छुट्कारा माग्छन् । कतारको ज्यादतिविरुद्ध हस्तक्षेप गर भन्छन् ।’

अरब न्युजसँग रेग्मीले भने, ‘नेपाली कामदारले घर फर्कन्छुभन्दा सास्ती पाउँछन् । केहीको काम गर्दागर्दै मृत्यु भएको छ । केही सुत्दासुत्दै मरेका छन् । त्यहाँको गर्मी र बासस्थानको अवस्थाले धेरैको ज्यान जाने गरेको छ । कतार सरकारले मृतकको शवपरीक्षण समेत गर्दैन ।’ तथ्याङ्क अनुसार हरेक वर्ष मृत्यु हुने १५० नेपालीमध्ये अधिकांसको रंगशाला निर्माणका क्रममा मृत्यु हुने गरेको छ ।

बारा जिल्लाका किशोर तामाङ सन् २०१५ मा कतार गएका थिए । ऋण लिएर विदेश हानिएका उनको कतारको रंगशाला बनाउने क्रममा भित्ताबाट खसेर मृत्यु भएको थियो । उनका परिवारले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन् । नुवाकोटका जगत नेपालीको कथापनि उस्तै छ । उनको कतार पुगेको ६ महिनापछि मृत्यु भएको थियो । हृदयघातका कारण उनको निधन भएको थियो । चर्को घाम, सुत्ने बस्ने व्यवस्था नराम्रो भएका कारण उनको ज्यान गएको उनका परिवारका सदस्यहरु बताउँछन् ।

कतार न्युजसँग कुरा गर्दै नेपालको अध्यागमन विभागले भनेको छ, ‘हामीलाई कतारको अवस्था र त्यहाँका नेपाली कामदारको अवस्थाको बारेमा थाहा छ । हामी नेपाली कामदारलाई त्यहाँ जान निरुत्साहित गरिरहेका छौँ ।’ इजिप्ट टुडेले समेत कतारमा रहेका नेपाली कामदारको बारेमा समाचार बनाएको छ । टुडेका अनुसार कतारको रंगशाला निर्माणमा खटेका कामदारमध्ये भारत र नेपालका कामदारको संख्या ५० प्रतिशत छ । तथ्याङ्क भन्छ, सन् २०१३ मा मात्र नेपालका १९१ नेपाली कामदारको मृत्यु भएको थियो । सन् २०१२ मा १६९ नेपालीले ज्यान गुमाएका थिए । (अरबन्यूजबाट)

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार १७:५१