सूचनाको शक्ति - The Power Of Information

        

आठौं खेलकूदमा वेतिथिको निरन्तरता, पूर्वाधार निर्माणमा ‘आफ्नो हात जगन्नाथ’ शैली

बाँके । नेपालगन्जमा गत वैशाखमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुदको चर्चा अझै ताजै छ । आठौं राष्ट्रिय खेलकुदले नेपालगन्जमा उत्सवमय वातावरण बनाएको थियो । आठौंले प्रदेश नम्बर ५ लाई केही गतिला पूर्वाधार दिएर गएको छ । आठौं राष्ट्रिय खेलकुद (वैशाख ५–११) को सफलतासँगै केही बेथितिले भने पुनः नेपाली खेलकुदमा निरन्तरता पाए ।

राष्ट्रिय खेलकुदको स्थानीय आयोजक हो क्षेत्रीय खेलकुद विकास समिति । समितिले खेल विकासलाई लक्षित गरेर दुई दर्जन पूर्वाधारमा रकम खर्च गर्यो । तर निर्माण भएका पूर्वाधारमा ‘आफ्नो हात जगन्नाथ’ शैलीमा रकम खर्च भयो । २४ योजनामध्ये क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ अध्यक्ष भीम ओलीले आफ्नो गृह जिल्ला बाँकेमा २३ वटा योजनामा रकम छुट्याए । बाँकेमा खर्च भएका २३ योजनामध्ये ओलीले आफ्नो गाउँवरपर मात्रै १३ योजनाका लागि रकम खर्च गरेको तथ्य खुलेको छ । क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओलीको कार्यकाल आगामी साउन १७ गते सकिँदैछ ।

चार वर्षे कार्यकाल सकिनै लाग्दा अध्यक्ष ओलीले मनोमानी ढंगबाट रकम खर्च गरेको देखिएको छ । कार्यकाल सकिनै लाग्दा अध्यक्ष ओलीले पदीय जिम्मेवारीको दुरुपयोग गर्दै आफ्नो गाउँपालिकामा अधिकांश खेलकुद पूर्वाधारका लागि बजेट विनियोजन गरेको आरोप लागेको छ । क्षेत्रीय खेलकुद विकास समितिको लेखा शाखाअनुसार ओलीको कार्यकालमा क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ ले ५ करोड २२ लाख, ७२ हजार ८९३ रुपैयाँ रकम पूर्वाधारमा खर्च गरेको छ ।

त्यसमध्ये ओलीले आफ्नो गाउँपालिकामा झन्डै २ करोड रकम खर्च गरेका छन् । विभिन्न १३ खेलकुद योजनामा ओलीले १ करोड ८६ लाख ५३ हजार २९५ रकम खर्च गरेको बताउँछन्, क्षेत्रीय खेलकुद विकास समितिका लेखा शाखा प्रमुख एवम् सूचना अधिकारी मीनबहादुर जिसी । आफ्नो निर्वाचन क्षेत्रमा खेलकुद पूर्वाधारका निम्ति रकम छुट्याउँदा क्षेत्रीय खेलकुद विकास समितिको बोर्डमा छलफल नै नगरी अध्यक्षले बजेट छुट्याउने गरेको आरोप समितिका एक पदाधिकारीले नाम नबताउने सर्तमा लगाए ।

उनले भने, ‘हामीले पहिले नै अध्यक्षलाई यसबारे सजग रहन अनुरोध गरेको थियौं । तर उहाँले मान्नुभएन । आठौं राष्ट्रिय तयारीमा सहयोग पुग्छ भन्दै अधिकांश योजना आफ्नै गाउँपालिकामा दिनुभयो । योजना बनाउँदा समितिका पदाधिकारीसँग पनि छलफल भएको छैन । राजनितिक उद्देश्यले नै अध्यक्षले धेरैजसो आफ्नो क्षेत्रमा बजेट खर्च गरेका हुन् ।’ अध्यक्ष ओली खेलकुदको क्रेज भएको स्थानमा धेरै योजना परेको बताउँछन् ।

उनले भने, ‘हामी ग्रामीण खेलकुदको विकास गर्ने अभियानमा छौं । पहिला सहर केन्द्रित थियो खेलकुद । अहिले गाउँगाउँमा पुगेको छ । सहरबाट गाउँमा खेलकुदका योजना लग्ने क्रममा धेरै भएका हुन् । मैले आफ्नो निर्वाचन क्षेत्रलाई मात्र हेरेर लगेको होइन ।’ अध्यक्ष ओलीको गाउँमा निर्माण भइरहेको शुक्र भलिबल एकेडेमीमा सबैभन्दा धेरै रकम १ करोड ६२ लाख ९६ हजार ७८२ रुपैयाँ खर्च भएको छ । त्यसमध्ये दोस्रो फ्रेजको ८७ लाख ६ हजार ११४ रुपैयाँ भुक्तानी हुन बाँकी छ । यसबाहेक विभिन्न विद्यालय र आफूनिकट क्लबलाई खेलकुद मैदान निर्माणका लागि रकम निकास गरिएको छ ।

सरस्वती मावि बैजनाथपुरमा २ लाख ४९ हजार ८२ रुपैयाँ, मनकामना मावि खजुरालाई २ लाख ४२ हजार १५२, भगवती मावि हसनापुरमा १ लाख ७४ हजार ३१८, नेराप्रावि मनकामनामा २ लाख ३२ हजार ७१३, जनसेवा मावि गिजरामा १ लाख ५८ हजार ६०८, शुक्र मावि के गाउँमा ८१ हजार ७९२, नेरा पशुपति विद्यालय ए गाउँमा २ लाख ५० हजार, जनकल्याण मावि खजुरामा १ लाख ८७ हजार ९३५, शान्ति नेपाल राप्राविमा १ लाख ४० हजार २१ रुपैयाँ, जय किसान स्पोर्ट्स क्लबलाई १ लाख ९० हजार, ६७५ रुपैयाँ, सीतापुर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई ४ लाख ३८ हजार ७७५ रुपैयाँ रकम खेलकुद मैदान निर्माण गर्ने भन्दै प्रदान गरिएको छ ।

 

 

#नागरिक दैनिक

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार ०७:२८