सूचनाको शक्ति - The Power Of Information

        

राजनीतिक मिलेमतोमा प्रहरी, ट्रक चालक जेलमा, पीडित भन्छन्– ‘नखाएको विष लाग्नुपर्ने ?’

गत वैशाख २९ गते कुसुममा भएको सडक दुर्घटनामा ट्रक धनीलाई जबरजस्त दोषी करार बनाइयो

दुर्घटनामा संलग्न नै नरहेको मिनी ट्रकलाई प्रहरीले जबरजस्त दोषी बनाएपछि पत्रकार सम्मेलन गर्दै ट्रक धनी लगायत ।

दुर्घटनामा संलग्न नै नरहेको मिनी ट्रकलाई प्रहरीले जबरजस्त दोषी बनाएपछि पत्रकार सम्मेलन गर्दै ट्रक धनी लगायत ।


बाँके । गत वैशाख २९ गते राप्तीसोनारी गाउँपालिका–१ मा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएपछि त्रिपक्षीय विवाद लम्बिँदै गएको छ । सो घटनामा साइकल चालक ४२ बर्षिय गोविन्द कुमाल र मोटरसाइकलमा सवार २४ बर्षिय गणेश कुमालको मृत्यु भयो ।

गोविन्दको उपचारका क्रममा कोहलपुर ल्याउँदै गर्दा सम्शेरगन्ज नजिकै मृत्यु भएको थियो भने गणेशको उपचारको क्रममा १५ दिनपछि काठमाडौंमा मृत्यु भएको थियो । सो दुर्घटनामा प्रत्यक्ष दोषी रहेको साविकको खासकुश्मा गाविस (हाल राप्तीसोनारी) गाउँको नाममा रहेको भे६प ९८२३ नम्बरको सरकारी मोटरसाइकल चालकलाई जोगाउन शक्ति केन्द्रको पहुँच र दवाव प्रयोग हुन थालेको छ ।

सरकारी मोटरसाइकल वडाध्यक्ष चन्द्रबहादुर वलीका छोरा विनोदले चलाएका थिए । मोटरसाइकलमै सवार तीन जना सवार थिए । सवार मध्ये दुर्घटनामा घाइते भएका भीमबहादुर कुमाल उपचारपछि घर फर्किएका छन् । अर्का एक जना अझै उपचारकै क्रममा छन् । मृतकका आफन्तले अहिलेसम्म कहिँकतैबाट क्षतिपूर्ति, उपचार तथा क्रिया खर्च पाउन सकेका छैनन् ।

तर वडाध्यक्षले आफ्नो पहुँच प्रयोग गर्दै घटनालाई अर्कैतिर मोडिदिएका छन् । साइकललाई वडा कार्यालयको मोटरसाइकलले ठक्कर दियो । तर दुर्घटनापछि प्रहरीसँगको मिलेमतोमा शक्ति केन्द्रको प्रयोग गर्दै रा १ क ८५० नम्बरको मिनीट्रकलाई दोषी करार गरियो । सोही मिनी ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा मोटरसाइकल अनियन्त्रित भई विपरित दिशातर्फबाट आइरहेको साइकलसँग ठोक्किन पुगेको प्रत्यक्षदर्शीको भनाई छ ।

दुर्घटनामा संलग्न नै नरहेको मिनी ट्रकलाई प्रहरीले जबरजस्त दोषी बनाउँदा ट्रक धनीले घटनाबारे स्वीकार गरेका छैनन् । ट्रकधनीले घटनाबारे स्वीकार नगरेपछि वडाध्यक्ष शक्ति केन्द्र धाउन थालेका छन् । जसका कारण पीडितले हालसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । विभिन्न प्रलोभन देखाएर घटना स्वीकार्न लगाएको ट्रक धनीले शुक्रबार घटनास्थलमा पत्रकार सम्मेलन गरेर आफुलाई फसाउन खोजिएको आरोप लगाएका छन् ।
मृतकका आफन्त, प्रत्यक्षदर्शी र स्थानीयबासीहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा ट्रक धनीले ट्रकले नभइ मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको प्रमाणहरु हुँदाहुँदै आफूहरुलाई फसाउन खोजिएको आरोप लगाएका छन् । ट्रक धनी विनोद चौधरीले प्रहरीका उच्च अधिकारी, राजनीतिक दल, विभिन्न व्यक्तिहरुबाट जवरजस्ती घटना स्वीकार्न लगाएका प्रमाणहरु पेश गर्दै आफुहरुलाई अनाहकमा फसाएको दावी गरे ।

उनले भने, ‘नियतबस हामीलाई फसाइएको छ । ट्रकमा न कुनै किसिमको स्क्राच छ न कुनै क्षति छ, गाडीलाई विमा रकम दाबी गर्नकै लागि दोषी देखाउन खोजिएको छ । विनाकारण आफुहरु कसरी दोषी सावित बनौं ? २५ दिनदेखि इलाका प्रहरी कार्यालय कोहलपुरमा गाडी छ ड्राईभरलाई विनाकारण जेल चलान गरिएको छ कसरी न्याय पाउने ?’ उनले सरकारी मोटरसाइकलमा तीन जना चढ्ने, मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदाको परिणाम भएको बताए ।

क्षतिपूर्ति नपाएको पीडा पोख्दै मृतक गोविन्द कुमालकी श्रीमति, छोरा र भाई पत्रकार सम्मेलनमा ।


उनले भने, ‘मोटरसाइकल चालकसँग कुनै कागजात पनि नभएपछि हामीलाई फसाइएको छ । प्रहरीकै मिलेमतोमा मोटरसाइकलमा दुई र साइकलमा दुई जना सवार रहेको मुचुल्का गरिएको छ । प्रहरीको नियत के हो ? हामीलाई नखाएको विष लाग्नुपर्ने ?’ उनले ट्रकमा कहीकतै ठोक्किएर दागसमेत नलागेको अवस्थामा कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले हथौडाले हानेर दाग लगाइदिने धम्कीसमेत दिएको बताए ।

ट्रक धनी विनोद चौधरीले सत्य तथ्य छानविन गरेर दोषीलाई कारवाही गरी पीडित परिवारलाई न्याय दिनुपर्ने बताए । विनाकारण आफुहरुलाई धम्क्याएर जवरजस्ती घटनाको दोष लिन स्थानीय राजनीतिक दल र प्रहरीले प्रशासनले दवाव दिइरहेको उनले बताए । गरिव दुखीको लागि न्याय कहाँ छ ?,’ उनले भने ।

न्याय त निष्पक्ष हुनुपर्ने हो तर प्रहरी प्रशासन नै कानुन मिचेर मुद्दालाई कडा पार्ने प्रयास गरिरहेको उनको भनाई छ । राजनीतिक प्रभावमा प्रहरीले आफुहरुलाई फसाएको उनले बताए । पत्रकार सम्मेलनमा बोल्दै मोटरसाइकलमा सवार उपचारपछि घर फर्केका भीमबहादुर कुमालले आफुहरु विभिन्न होटलहरुमा मादक पदार्थ सेवन गरेको, चालक विनोद वलीको लाइसेन्स नभएको स्वीकार गरे ।

उनले भने, ‘विभिन्न होटलहरुमा मापसे गर्र्यौ, तीव्र गतिमा जाँदा रानीगजुरी पुलनजिकै दुर्घटना भयो, मोटरसाइकल नियन्त्रण गर्न नसकेकै कारण ट्रकलाई ओभरटेक गरेर अघि बढ्न खोज्दा साइकललाई ठक्कर दियो ।’ दुर्घटनाका प्रत्यक्षदर्शी कृष्ण चौधरीले दुर्घटनामा ट्रकको कुनै दोष नरहेको स्पष्ट पारे ।

प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले गाडी चालकलाई म्याद थप गरि मुद्दा अघि बढाइ सकिएको जानकारी दिए । उनले गाडीको कुनैपनि भागमा खासै दाग, चिनो नभए पनि स्थानीय बासी, प्रहरी, जनप्रतिनिधिले ट्रक दोषी भएको कागज गरेको उल्लेख गरे । यता मृतक गोविन्द कुमालकी श्रीमती पाती कुमालले उचित क्षतिपूर्ति र क्रिया खर्च अहिलेसम्म नमिलेको जनाइन् ।

उनले क्षतिपूर्ति, उपचार खर्च र क्रिया खर्च कसैले नदिएको गुनासो गर्दै समयमा पाउनुपर्ने माग राखिन् । ‘क्षतिपूर्ति पाउनुहुन्छ ढुक्क हुनुहोस् भन्ने आश्वासन मात्र पाएका छौं । अहिलेसम्म कुनै रकम पाएका छैनौं,’ उनले भनिन्, ‘आश्वासन मात्रा पाएका छौं, कसले दिने हो, कहिले दिने हो त्यसबारेमा कुनै जानकारी छैन ।’

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार ०७:१७