सूचनाको शक्ति - The Power Of Information

        

१४ जिल्लामा हतियार ‘विप्लव’ लडाकु समूह, गाउँदेखि जंगलसम्म ‘सर्च’ अभियान

काठमाडौं । केही जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका लडाकुको शंकास्पद गतिविधि देखिएको सुरक्षा निकायले बताएको छ । नेपाल प्रहरी स्रोतका अनुसार १४ जिल्लामा विप्लवका लडाकु दस्ता हतियारसहित देखिएका छन् । सुरक्षा निकायलाई प्राप्त ‘इन्टेलिजेन्स रिपोर्ट’ अनुसार पहाडी र चुरे क्षेत्रसँग जोडिएका जिल्लामा विप्लव समूहका लडाकु देखिएका हुन् ।

रातको समयमा सुरक्षाकर्मीको सहज उपस्थिति नभएका इलाकाहरुमा उनीहरु हतियारसहित देखा परेको बताइएको छ । एक उच्च सुरक्षा अधिकारीले भने, ‘विप्लव समूहको हतियासहितको गतिविधि बढेको सूचनापछि जनशक्ति बढाएका छौं । शंकास्पद स्थानमा छापा, जंगलमा सर्च अभियान पनि चलाएका छौं ।’

सुरक्षा अधिकारीका अनुसार बर्दिया, भोजपुर, अछाम, सोलुखुम्बु, संखुवासभा, रुकुममा लडाकु समूहले आफ्ना गतिविधि बढाउँदै लगेको छ । यस्तै कालीकोट, जुम्ला, जाजरकोट, मोरङ, उदयपुर, रोल्पा र कैलालीमा पनि विप्लव समूहले हतियारसहितका गतिविधि गर्न थालेको पाइएको ती अधिकारीले बताए । लडाकु समूहमा पूर्व लडाकु, युवा, विद्यार्थी छन् । महिलाको संख्या निकै कम छ ।

राति गाउँमै खाना खाएर पार्टी सदस्यता विस्तार गर्ने लगायतका काम लडाकु समूहले गर्ने गरेको सुरक्षा निकायको भनाइ छ । तीन साता अघिमात्रै सिन्धुलीको एक गाउँमा राति नौ बजेपछि विप्लव समूहका लडाकु घरघरमा पसेर खाना पकाउन स्थानीयलाई आग्रह गरेको स्थानीयले बताएका छन् । फागुन अन्तिम साता सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि उनीहरु सार्वजनिक रुपमा देखिन छाडेका छन् ।

कालीकोट, जाजरकोट लगायत जिल्लामा जनसकारको नामबाट उनीहरुले स्थानीय निकायलाई तोकेरै चन्दाको मागसमेत गरेका छन् । सुरक्षा अधिकारीका अनुसार विप्लव समूहले पहाडी जिल्लामा प्रहरीमाथि भौतिक कारवाहीसम्मको योजना बनाएका छन् । तर, विप्लव समूहले सुरक्षा फौजमाथि आक्रमणको नीति नलिएको दाबी गर्दै आएको छ । एक प्रहरी अधिकारीले भने, ‘गस्तीमा गएको प्रहरीमाथि भीरबाट ढुङ्गा खसाल्ने, प्रहरी भ्यानमा बम हान्ने, ठाउँठाउँमा विस्फोट गर्ने अनि आक्रमणको योजना छैन भन्ने ?’

चारवटै कमान्डको इन्चार्ज फेरबदल

विप्लव समूहका तीनवटा मात्रै भनिएको कमान्ड संरचना चारवटा बनाइएको छ । एक नेताका अनुसार चारवटै कमान्डको इन्चार्जसमेत हालौमात्र फेरबदल गरिएको छ । पूर्वी कमान्डको जिम्मेवारी सन्तोष बुढामगरलाई दिइएको छ । यसअघि पूर्वी कमान्ड इन्जार्ज अनिल शर्मा थिए । यस्तै मध्यकमान्डको जिम्मेवारी खड्गबहादुर विश्वकर्मालाई दिइएको छ ।

मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली पक्राउ परेपछि विश्वकर्मालाई नयाँ जिम्मेवारी दिइएको हो । लुम्बिनी, धौलागिरी र गण्डकी कमान्डको इन्चार्जमा विप्लवकै ठूलो दाइ चन्द्रबहादुर चन्द ‘वीरधन’ र कर्णाली, भेरी, राप्ती र सुदूरपश्चिम कमान्डको जिम्मेवारी धर्मेन्द्र बास्तोलालाई दिइएको छ । तत्कालीन नेकपा माओवादीले युद्धकालीन समयमा बनाएको पार्टी संरचनाअनुसार नै विप्लव समूह अगाडि बढेको बताइएको छ ।

विप्लव समूहका गतिविधिबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले गोप्य सूचना संकलन गरी प्राप्त विवरणको विश्लेषणबाट आन्तरिक सुरक्षामा चुनौती थपिएको निष्कर्ष निकालेका छन् । कर्णाली प्रदेशका कतिपय स्थानीय तहमा विप्लव समूहले कुल बजेटको दुई प्रतिशत बजेट आफ्नो जनसरकारका लागि छुट्याउन चेतावनी दिएका छन् ।

प्रहरी अधिकारीका अनुसार निर्वाचनपछि विप्लवले संगठन विस्तारमा तिव्रता दिएका छन् भने चन्दा आतंक डरलाग्दो रुपमा जारी राखेका छन् । प्रतिबन्धपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले एक्लाएक्लै र संयुक्त रुपमा ‘सर्च एन्ड अरेस्ट अपरेसन’ सुरु गरेको थियो । ‘सर्च एन्ड अरेस्ट अपरेसन’ चलाएपछि सबैजसो नेता–कार्यकर्ताले सदरमुकाम र गाउँ छाडेका छन् । प्रहरी अधिकारीका अनुसार विप्लव लगायतका सबै शीर्ष नेता भूमिगत छन् ।

यसअघि गाउँमा रहेका नेता–कार्यकर्ता सुरक्षा कारवाहीबाट बाच्नका लागि विकट ग्रामीण इलाका, चुरे पहाडको क्षेत्र र जंगलमा लुक्न थालेका छन् । पार्टीका बैठक, भेला र प्रशिक्षण पनि जंगलमै हुने गरेको छ । एक प्रहरी अधिकारीले भने, ‘प्रहरीले विप्लव समूहका नेता–कार्यकर्ताको कल डिटेल, लोकेसनलगायत कुरा हेर्न थालेपछि शीर्ष नेताहरुले मोबाइल प्रयोग गर्न छाडेका छन् भने तल्लो तहका नेता–कार्यकर्ताले मोबाइल सेट र सिमकार्ड फेर्न थालेका छन् ।’

 

 

#बाह्रखरी

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार १४:२५