बाँके । सद्भावको शहर नेपालगन्ज, एउटा समुदायको चाडपर्वमा अर्को समुदायका व्यक्तिहरुको जमघट हुन्छ । मुस्लिमहरुको चाडपर्वमा हिन्दुहरु सहभागी हुन्छन्, हिन्दुको चाडपर्वमा मस्लिमहरु । यो नेपालगन्जको अत्यन्तै सद्भावपूर्ण धार्मिक संस्कार हो ।
दशैं, तिहार जस्ता चाडपर्वमा परम्परामा मुस्लिमहरु टीका थाप्न हिन्दुहरुका घरमा पुग्छन् भने मुस्लिम समुदायको चाडपर्वमा हिन्दुहरु सहभागी भई शुभकामना आदानप्रदान गर्ने गर्दछन् । मधेशी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको बहुजातीय तथा बहुभाषिक शहर हो, नेपालगन्ज । यहाँ एउटा हिन्दु धर्मावलम्बी घरबाट पूजा सामाग्री बोकेर निस्किँदा मस्जिदको बाटो हुँदै मन्दिर पुगिन्छ ।
त्यस्तै नमाज पढ्न घरबाट निस्केको मुस्लिम धर्मावलम्बी मन्दिरको बाटो हुँदै मस्जिद पुग्नु यहाँको धार्मिक सहिष्णुताको अनुपम नमूना हो । त्यसमाथि एकले अर्को व्यक्तिसँग कुराकानी गर्दा एकै साथ नेपाली, थारु र उर्दु भाषा प्रयोग गर्छन्, अधिकांश नेपालगन्जबासी । त्यसैले त नेपालगन्जमा दशैं, तिहार, होलीजस्तै जितिया, इद र मोहरमजस्ता पर्वको रौनक पनि विशेष हुने गर्दछ ।
धर्मका हिसाबले हिन्दु र इस्लाममा बाडिँएको भए पनि नेपालगन्जका मुस्लिम समुदाय इद, बकरइद र मोहरममा जस्तै दसैं र तिहारमा पनि उत्तीकै आफ्नोपन महशुस गर्छन् । मुस्लिम समुदायले मनाउने चाडपर्वहरुमा हिन्दु समुदायलाई पाहुनाका रुपमा स्वागत गरिन्छ र परम्परा अनुसार नै एकअर्कामा पर्वको उल्लास साटासाट गरिन्छ । ठिक यहि परिपाटी दशैं, तिहार लगायतका चाडपर्वमा पनि देख्न पाइन्छ ।
दुई दिनअघि मात्रै मुस्लिम समुदायको महत्वपूर्ण पर्व ‘इद उलफित्र’ सकिएको छ । ‘इद उलफित्र’को अन्तिम दिन ‘रोजा इफ्तार’मा पहिलो पटक राष्ट्र प्रमूख नै सहभागी भएपछि मुस्लिम समुदायले खुशी व्यक्त गरेका छन् । मुस्लिम समाज बाँकेका संयोजक अब्दुल वाहिद मन्सुरी चुन्ना भन्छन्, ‘हाम्रा लागि राष्ट्र प्रमूखको उपस्थित गौरवमय छ ।’ उनी हिन्दूहरुको महान् पर्व दशैंमा २७ वर्षदेखि टिका थाप्दै आएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चुन्नाले नेपालगन्जमा धार्मिक विभेद नभएको बताए । उनले भने, ‘नेपालगन्ज सहिष्णुताको यो अनुपम नमूना शहर हो । यहाँका सबै धर्मका नागरिकहरुले एक अर्कालाई उच्च सम्मान गर्न जानेका छन् । यो नेपालगन्जका लागि महत्वपूर्ण संस्कार नै भइसक्यो । यसलाई राष्ट्र प्रमुखको उपस्थितिले थप मजबुत बनाएको छ ।’
‘इद उलफित्र’को अन्तिम दिन ‘रोजा इफ्तार’मा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागी हुनुलाई मुलुकमै पहिलो पटक सामाजिक एवं धार्मिक सद्भाव र एकताको सन्देश दिएको नेपालगन्ज–४ का वडाध्यक्ष सफिक बेहनाले बताए । ‘हाम्रा लागि इद र मोहरमजस्तै दशैं र तिहार पनि प्रिय चाडपर्व हुन् । हामी दशैंमात्रै होइन, भाइटीका पनि मनाउँछौं,’ उनले भने ।
नेपालगन्जमा सबै धर्मावलम्बीहरुका चाडपर्वमा सबै समुदायले उल्लासपूर्वक मनाउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ भन्छन्, ‘चाडबाड भनेकै एकआपसमा शान्ति, सद्भाव र प्रेम साटासाट गर्ने माध्यम हुन् । हामी पनि त्यही माध्यममार्फत एकअर्कामा जोडिएका हौं । वास्तवमा म आफ्ना चाडपर्वजस्तै अन्य समुदायका चाडपर्व पनि उत्तिकै मन पराउँछु ।’
‘इद उलफित्र’को ‘रोजा इफ्तार’मा राष्ट्रप्रमूख नै आएपछि नेपालगन्जको सामाजिक सद्भाव र एकता थप बलियो बनेको उनको भनाई छ । ‘इद उलफित्रमा राष्ट्रपतिको उपस्थितिले मुिस्लम समुदायमा मात्र नभई देशभर एकता र सद्भावको सन्देश गएको छ । यसले हाम्रो राष्ट्रियता अझ मजबुत छ भन्ने सन्देश दिएको छ ।’
गुणस्तरीय शिक्षामा जोड
राष्ट्रपति विद्यादेवी भण्डारीले बाँके बसाईका क्रममा बुधबार बैजनाथ गाउँपालिका–५ को प्रभात माध्यमिक विद्यालयको कार्यक्रममा सरिक हुँदै बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गरिन् । शैक्षिक चेतनाबिना सामाजिक विकृतिलाई चिर्न नसकिने उनको भनाई थियो ।
उनले शिक्षालाई व्यवहारिक, जीवनउपयोगी र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको औल्याइन् । सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताउँदै राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत सरकारले लगानी गर्नुपर्नेमा जोड दिइन् ।
नखाएको विष लाग्दैछ
विश्व वातावरण दिवसका अवसर बुधबार नै नेपालगन्जमा आयोजित वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्याशाला गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण नेपालीहरुलाई नखाएको विष लागिरहेको बताइन् ।
उनले भनिन्, ‘हामी प्राकृतिक प्रकोप व्यहोर्न बाध्य छौं । जलवायु परिवर्तनमा हाम्रो भूमिका न्यून भए पनि हामीले नगरेको अपराधको सजाय भोग्नु परिरहेको छ ।’ स्वच्छ वायु कायम गर्न सबैको साझा दायित्व भएको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘हामीलाई वन र प्रकृति जोगाउनुपर्ने साझा चुनौती छ । संरक्षणमा हामी सबै एकजुट भएर लाग्नुपर्छ ।’
राष्ट्रिय गौरवका आयोजना निर्माणमा विलम्ब नगरौं
बुधबार साँझ बाँकेका उद्योगी व्यवसायी, नागरिक समाजका अगुवा, यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद तथा पत्रकारहरुसँगको भेटमा राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवका आयोजना निर्माणमा सरकारले विलब्म गर्न नहुने बताइन् ।
राष्ट्रिय गौरवका आयोजना निर्माणमा विलम्ब गर्दा राष्ट्रकै अर्थतन्त्रमा भार पर्ने हुँदा समयमै सम्पन्न गर्न पहल गर्ने बताउँदै उनले भनिन्, ‘राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न सरकारले तदारुकता देखाउनुपर्छ । यसका लागि प्रधानमन्त्रीसँग छलफल गरेर पहल गर्नेछु ।’
सिक्टा सिंचाई आयोजना र भेरी बबई डाइभर्सन परियोजनाजस्ता राष्ट्रिय गौरवका आयोजनालाई समयमै सक्न सरकारसँग आग्रह गरिन् । उनले भनिन्, ‘ठूला आयोजना निर्माणमा ढिलाई भए सरकारलाई खबरदारी गर्नुपर्छ । सरकारले जनतासँग गरेका वाचा समयमै पुरा गर्नुपर्छ ।’
पर्यटकीय करिडोरका रुपमा लिइएको जमुनाहा–हिल्सा करिडोर निर्माणको काममा पनि सरकारसँग छलफल निर्माण अघि बढाउन आग्रह गर्ने राष्ट्रपतिले आश्वासन दिइन् । उनले भनिन्, ‘सरकारले जनतालाई आश्वासन मात्रै दिनुहुँदैन । काम पनि गर्नुपर्छ । काम गर्न चाहेमा सरकारले गर्न नसक्ने भन्ने हुँदैन । यसका लागि मैले पहल गर्नेछु ।’
भेटघाटमा सांसद महेश्वर गहतराज अथक, संविधानसभा सदस्य देवराज भार, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलगायतले यस क्षेत्रका शैक्षिक, पर्यटकीय, औद्योगिक क्षेत्रका विभिन्न समस्याहरुका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
बाँकेमा राष्ट्रपतिको व्यस्तता
श्री एयरलाइन्सको जहाजमार्फत मंगलबार दिउँसो २ बजे नेपालगन्ज आइपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी केहीबेरको आरामपछि वेलुकी ५ बजे मुस्लिम समुदायको ‘इद उलफित्र’को ‘रोजा इफ्तार’मा सहभागी भएर शुभकामना दिइन् । नेपालगन्ज बसाईको दोस्रो दिन बैजनाथमा पुगेर शैक्षिक क्षेत्रको विकासका बारेमा बोलेकी थिइन् ।
तीन दिनदेखि नेपालगन्जलाई टुरमुकाम बनाएकी राष्ट्रपति भण्डारी बुधबार दिउँसो २ बजे विश्व वातावरण दिवसका अवसरमा नेपालगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका बारेमा चासो र चिन्ता व्यक्त गरिन् । त्यसलगत्तै राष्ट्रपति भण्डारीले जिल्ला बन डिभिजन कार्यालय बाँकेको हाताभित्र आँपको विरुवा रोपिन् ।
राष्ट्रपति भण्डारीले बुधबार साँझ नै यस क्षेत्रका उद्योगी, व्यापारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, संघीय तथा प्रदेश सभाका सांसद, नागरिक समाजका अगुवा र पत्रकारहरुसँग बाँके जिल्लाका विभिन्न विषयमा छलफल गरेकी थिइन् ।
देखिएन तामझाम
राष्ट्रपतिको सवारीका क्रममा हुने तामझामका विषयमा पटक पटक नागरिकस्तरबाट आलोचना भइरहे पनि नेपालगन्जमा उहाँको सवारीमा खासै तामझाम देखिएन । राष्ट्रपतिको सवारी हुँदा करिब १० मिनेट सडक खाली गराइए पनि आमनागरिकले आवातजावतका क्रममा असहज महसुस गर्नुपरेन ।
राष्ट्रपतिले नेपालगन्ज आउँदा जाँदा तामझाम बिनै श्री एयसलाइन्सको जहाज प्रयोग गरिन् । श्री एयरलाइन्सको १२ः३० बजेको फ्लाइटबाट मंगलबार नेपालगन्ज आएकी राष्ट्रपति भण्डारीको सवारीका क्रममा कुनै तडकभडक देखिएन । ‘नागरिकलाई असहज नहुने गरी उहाँको सवारी भयो,’ बाँकेका प्रमूख जिल्ला अधिकारी मदन भुजेलले भने ।
‘नेपालगन्जको बसाईसँगै विभिन्न कार्यक्रममा पुग्दा आम नागरिकले कुनै दुख भोग्नुपरेन,’ राष्ट्रपति सचिवालयकी सहसचिव दिपा शर्माले भनिन्, ‘फर्किँदा पनि नागरिकलाई असहज हुने गरी त्यस्तो कुनै तामझाम भएन ।’ तीनदिने नेपालगन्ज बसाई सकेर राष्ट्रपति भण्डारी श्री एयरलाइन्सको विहान ९ः३० बजेको फ्लाइटमार्फत काठमाडौं फर्किएकी छन् ।
सत्यपाटी - ।