सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा मनाइयो ‘इद उलफित्र’, सामुहिक नमाजमा मन्त्रीदेखि प्रदेश सांसदसम्म (फोटोफिचर)

बाँके । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद उलफित्र’का अबसरमा बाँकेका मुस्लिम समुदायले धुमधामसँग यो पर्व मनाएका छन् । नेपालगन्जस्थित विपी चौकमा रहेको इदगाहामा सामुहिक नमाज पढेर गर्दै शुभकामना आदानप्रदान गरेका छन् ।

अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बुधवार मुस्लिम समुदायले विशेष नमाज पाठ गरि ठूलाबडासँग आशीर्वाद लिएर खुसीपूर्वक शरिरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्व मनाएका छन् ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन मंगलवार बेलुकी चन्द्रमा देखिएपछि आज इद उलफित्र मनाएएको जामा मस्जिद ईदगाह संचालक समिति नेपालगन्जले जनाएको छ । नेपालगन्ज लगायत आसपासका मुस्लिम धर्मावलम्वीले नेपालगन्जस्थित जामा मस्जिदमा आएर सामुहिक नमाज पढेका छन् ।

नमाजमा १० हजारको हाराहारीमा इस्लाम धर्मावलम्वी सहभागी भएको मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले बताए । उनले अघिल्लो बर्षको भन्दा यसबर्ष नमाज पढ्नेको संख्या थपिएको बताए । उनले यसबर्ष झण्डै थप दुई हजार जना सामुहिक नमाजमा सहभागी भएको बताए । सामुहिक नमाजपछि इस्लाम धर्मावलम्वीले गला मिलाएर एक आपसमा शुभकामना आदान प्रदान गरे ।

शुभकामना आदान प्रदान गर्न हिन्दू धर्मावलम्वीका साथै राजनीतिक दलका नेता, कार्यकर्ता जामा मस्जिद पुगेका थिए । संघीय सरकारका सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई पनि जामा मस्जिदमा आएर सामुहिक नमाजमा सहभागी भए । इस्लाम धर्मावलम्वीलाई शुभकामना दिन प्रदेश सांसद सुरेन्द्रबहादुर हमाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायत जामा मस्जिद पुगेका थिए ।

इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउ अनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । ‘यसलाई जकात भनिन्छ,’ मुस्लिम धर्म गूरु जियाउज मुस्तफा नूरानीले भने ।

इद उलफित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइने गरेको उनले बताए । इद उलफित्रको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ । हातमुख (ओजु) धोएर फजर नमाज पढिन्छ ।

स्नान गरेर नयाँ कपडा पहिरिई मस्जिद, इदगाह (खुला ठाउँ) मा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक बकर इद र इद उल फितरमा विशेष नमाज पढ्ने गरेको नूरानीको भनाई छ ।  सो अवसरमा सहभागीहरुले एकआपसमा शुभकामना आदानप्रदान समेत गरेका थिए । सो अवसरमा अन्य समुदायका व्यक्तिहरु पनि त्यहाँ पुगेर मुस्लिम समुदायकका व्यक्तिहरुलाई ‘इद उलफित्र’को शुभकामना दिएका थिए ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार १२:१०