बाँके । भारतीय सेनामा भर्ना गराइदिने भन्दै रकम असुली गरिरहेका सात जनालाई बाँके प्रहरीले रु.३८ लाख रकमसहित पक्राउ गरेको छ । बाँकेका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सातै जनाको नाम भने गोप्य राखिएको छ । पक्राउ परेकामध्ये दुई जना महिला छन् । पक्राउ परेकाहरुले भारतीय सेनामा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाएको स्वीकार गरे पनि कोसँग कति रकम असुल गरेको भन्ने नखुलेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
उनले भने, ‘विशेष सूचनाका आधारमा सोमबार राती नेपालगन्जस्थित होटल स्नेहाबाट पक्राउ गरेका छौं । अहिलेसम्म पीडित पक्ष सम्पर्कमा नआएकाले उनीहरुले क–कसबाट कति रकम असुलेको भन्ने खुलेको छैन । पीडित पक्षले जाहेरी नदिएसम्म सबै कुरा खोल्न मिल्दैन । हामी अनुसन्धानकै क्रममा छौं ।’
नेपालगन्जमा भारतीय सेनाको छनोट चरण चलिरहेका बेला उनीहरुलाई नियन्त्रणमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिइए पनि हालसम्म कतैबाट लिखित उजुरी नआएकोले पक्राउ परेका ब्यक्तिको विस्तृत विवरण दिन नमिल्ने प्रवक्ता सापकोटाले बताए । नेपालगन्जस्थित प्रहरी तालिम केन्द्रमा गत जेठ १६ गतेदेखि आज २१ गते सम्म भारतीय सेना भर्ना छनोट भएको थियो ।
आफू भारतीय सेनामा कार्यरत रहेको र भारतीय सेनामा भर्ना हुने युवाको कागजपत्र संकलन गर्न आएको भन्दै पक्राउ परेका उनीहरुले रकम असुलेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ठगीको आरोप पुष्टि भएमा उनीहरुलाई सैनिक ऐन तथा संगठित अपराध ऐनअन्तरगत कारबाही हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।
साविक मध्य तथा सुदूर पश्चिम विकास क्षेत्रका २४ जिल्लाबाट युवाहरु भर्नाका लागि आएका थिए । यो भर्ना छनोटमा ३७० जना कोटा छ । जसमा शारिरीरक र लिखित परीक्षा सकिसकेको छ । शारीरिक र लिखित परीक्षामा ४४७ जना छनोट भएका छन् । छनोट भएकाहरु भारतको गोरखपुरमा हुने मेडिकल जाँचका लागि जानेछन् । जसमध्ये मेडिकल फेल हुनेहरुका लागि भारतीय सेनाको ढोका बन्द हुनेछ ।
सत्यपाटी - ।