सूचनाको शक्ति - The Power Of Information

        

‘एक शिक्षक, शुन्य विद्यार्थी’

जनता कल्याणको पीडा

बाँके । विद्यालय भन्ने वित्तिकै हामीले सोच्ने गर्छौ जहाँ विद्यार्थी र शिक्षकहरु हुन्छ । शिक्षकले विद्यार्थीलाई ज्ञानगुणका कुरा सिकाइरहेका हुन्छन् । भविष्यका कर्णधारहरु त्यही विद्यालयमा हुन्छन् । तर कहिलेकाँही तपाईले सोचेभन्दा ठिक विपरित भइदिन्छ । वास्तविकताममा अर्कै कुरा भेटिन्छ ।

तर डुडुवा गाउँपालिका–५ नानुपूर्वामा रहेको एउटा सरकारी विद्यालयमा तपाईले सोचेजस्तो देख्नुहुन्न । विद्यालयको यो नाम जो कोहीले पनि सजिलै बुझ्न सकिने खालको छ । जनता कल्याण अर्थात् जनताको कल्याण गर्नु भन्ने बुझिन्छ । यही नामको छायाँमा भविष्यका कर्णधार भनिने वालवालिकालाई विद्यालय शिक्षाको सुरुवात गराउनुपर्ने हो ।

हामीले सोचेको यही वास्तविकताभन्दा फरक छ, जनता कल्याण राष्ट्रिय प्राथमिक विद्यालयमा । सामुदायिक विद्यालयमा यो वर्षको भर्ना अभियान सकिसकेको छ । तर जनता कल्याणमा भने एक जना विद्यार्थी पनि भर्ना हुन आएनन् । त्यसो त विद्यार्थी नै नभएको विद्यालयका एक्ला शिक्षक हुन्, जगदीशप्रसाद रोका ।

विद्यार्थी नै नभएपछि शिक्षक रोकाको दिनचार्य बिहान विद्यालय जाने र विद्यालय समयभर एक्लै कार्यालयको ढोकामा काटेर फर्कदै ठिक्क भएको छ । उनको यो अवस्था चालु शैक्षिक सत्र शुरु भएपछि मात्र आएको हो । गतबर्ष नै विद्यार्थीको संख्या अत्यन्तै न्यून थियो । अहिले एकजना पनि विद्यार्थी भर्ना नभएपछि उनलाई विद्यालय खोलेर समय बिताउन बाध्य हुनुपरेको छ ।

यस बर्ष एकजना विद्यार्थी पनि विद्यालय भर्ना हुन नआएपछि गत बैशाख २ गतेदेखि विद्यालय खोल्ने र विद्यार्थी आउँछन् की भन्दै कुरेर बस्नुपर्ने बाध्यता छ उनलाई । २०३४ सालमा स्थापना भएको यो विद्यालय कक्षा ५ सम्मको स्वीकृति छ । तर, विद्यार्थी भने एकजना पनि छैनन् । दिनभर विद्यालय कुरेर साँझ परेपछि घर फर्किनु उनको दिनचर्या बनेको छ ।

शिक्षक रोकाले भने, ‘गत शैक्षिक शत्रमा यस विद्यालयबाट १० जनाले मात्र परीक्षा दिएका हुन्, नियमितरुपमा विद्यालय पढ्न आउने विद्यार्थीको संख्या दुई/तीनभन्दा बढी कहिल्यै भएनन् । त्यति बेलादेखि नै हामीले जिल्ला तथा गाउँपालिका र स्थानीय अभिभावकलाई विद्यालयको अवस्थाबारे जानकारी गराएका थियौ । कतैबाट पनि कुनै चासो देखाइएन ।’

उनले विद्यालयमा अंग्रेजी माध्यमबाट निशुल्क पढाउँदा पनि स्थानीय अभिभावकले शुल्क तिरेर आफ्नो बच्चा बोर्डिङ्गमा पढाउछु भनेर बोर्डिङ्गतिरै पठाएपछि विद्यालय विद्यार्थीबिहीन भएको बताए । ‘अभिभावकले नै साथ नदिएपछि हामी शिक्षकले मात्र के गर्न सक्छौं र ? हामीले विद्यालय मर्जका लागिसमेत आग्रह गरेका थियौं, तर कतै सुनुवाई भएन,’ उनले भने ।

उनले गाउपालिका र जिल्ला शिक्षा समन्वय ईकाइले चाँडै विद्यालय समाजयोजन वा मर्ज गरेर आफ्नो व्यवस्था गरिदिन आग्रहसमेत गरे । उनले भने, ‘विद्यार्थी भर्नाको लागि विद्यालयको कार्य क्षेत्रका सबै घरघरमा कार्यालय सहयोगीसहित पुगे तर, अभिभावकको बोर्डिङ्ग मोहले विद्यार्थी नै भर्ना नभएपछि विद्यालय खोलेर समय बिताउने काम मात्रै भएको छ ।’

निकै थोरै विद्यार्थी भर्ना हुँदा गतवर्ष नै विद्यालय मर्ज गर्ने कुरा उठे पनि मर्ज नभएपछि यस वर्ष विद्यालयले वैशाखको पहिलो साता भर्नाका लागि घरदैलो गरे पनि एक जना विद्यार्थी भर्ना नभएको शिक्षक रोकाले बताए । उनले भने, ‘विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीले समेत आफ्ना बच्चा बोडिङ्गतिरै पठाएपछि अरुले त झनै पठाउने कुरै भएन ।’

गत वर्षसम्म २५ जना विद्यार्थी र तीन शिक्षक एक कार्यालय सहयोगी भएकोमा तत्कालिन प्रधानाध्यापक शंकर सिंहले बैशाख १ देखि अवकाश लिनुभएको छ भने अर्का शिक्षक मालतीप्रसाद यादवले शिक्षा सेवा आयोग अनुत्तीर्ण भएपछि अनिवार्य अवकास लिएपछि आफु र एक जना कार्यालय सहयोगी मात्र रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर बुढाथोकीले आफ्नो विद्यालयमा भन्दा अभिभावकले बोर्डिङ्गमा नै पढाउन रोजाई बनाएको कारण विद्यालय विद्यार्थीविहीन बन्न पुगेको बताए । उनले भने, ‘मैले आफ्नै नातिनीलाई बोर्डिङ्गमा भर्ना गर्न बाध्य भए । छोरा बुहारीलाई जत्ति सम्झाए पनि मानेन् ।’

२०३४ सालमा खुलेको यो विद्यालय साबिक कम्दी गाविसमा अब्बल मानिन्थ्यो । तर, अहिले अभिभावकको बोर्डिङ मोहले विद्यार्थी शुन्य भएको विव्यसका पूर्वअध्यक्ष नरबहादुर बोहोराले बताए । उनले पञ्चायत कालमै निमावि तह माग गर्दा अनुमति नपाएपछि विस्तारै प्रावि तहमै खुम्चिनुपरेको बताए । ‘विद्यालय अहिले विद्यार्थीविहीन हुँदा दुख लागेको छ,’ उनले भने ।

बोहोराले आफ्ना नातीहरुलाई यसै विद्यालयमा भर्ना गर्न सरकारी जागिरमा रहेका छोराहरुलाई भन्दा नमानेर नजिकको बोर्डिङ्गमा पठाएको दुखेसो गरे । ‘हामी हाम्रा छोराछोरीलाई दाउरा बेचेर भएपनि बोडिङ्गमा पढाउँछौ तपाई नबोल्नुस् भनेर बचन लगाएपछि चुप लागे,’ उनको दुखेसो छ । विद्यालय व्यवस्थापन समितिकै पूर्वअध्यक्ष पदमसिंह बोहोराले राज्यको शिक्षा नीतिको कारण सामुदायिक विद्यालयको अवस्था नै धराशायी भएको आरोप लगाए ।

उनले स्थलगत सर्वेक्षण नै नगरी धमाधम नीजि विद्यालयलाई स्वीकृति दिएकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो रहेको दावी गरे । सो गाउँमा अहिले ५ वटा बोर्डिङ्ग र दुई वटा सामुदायिक माध्यमिक विद्यालय छन् । डुडुवा गाउँपालिकाले विद्यार्थी भर्ना नभएपछि मर्ज गर्ने जनाएको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले भने, ‘गतवर्ष ऐन नबन्दा मर्ज गर्न कठीनाई भएको थियो, यसपटक मर्ज हुन्छ ।’

उनले गाउँपालिकाभित्र विद्यार्थी संख्या न्यून रहेका विद्यालयहरुलाई मर्ज गर्ने तयारी भइरहेको बताए । पक्की ७ वटा कक्षा कोठा रहेको विद्यालयमा विद्यार्थी संख्या घट्दै जाँदा गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले २ कोठा प्रयोग गरेको छ भने एक कोठा विद्यालयको कार्यालय सञ्चालन गरी बाँकी कोठामा ताला लगाइएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १२:५६