बाँके । जेल सजाय भुक्तान गरिरहेका कैदीहरु चारैतिर पक्की पर्खालसहितको सुरक्षा घेराभित्र हुन्छन् । उनीहरुलाई कारागारभित्र पनि चारैतिर पर्खाल लगाइएको घरभित्र राखिएको हुन्छ । जो कोहीले सहजै भेट्न पाउँदैन । उनीहरुलाई सहजै भेट्नका लागि कारागार प्रशासनको अनिवार्य अनुमतिसमेत लिनुपर्ने हुन्छ ।
तर त्यही बलियो सुरक्षा घेराभित्रका कैदीहरु खुलेआम कारागार बाहिर घुमिरहँदा कारागार प्रशासन र त्यहाँको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमाथि स्वतः आशंका उब्जिन्छ । बर्दिया जिल्ला कारागारमा पनि यस्तै आशंकासँगै सुरक्षामा गम्भीर लाहपर्वाही देखिएको छ । गम्भीर लाहपर्वाहीकै कारण कैदीहरु खुलेआम टाढाटाढासम्म पुग्ने गरेका छन् ।
जिल्ला कारागार बर्दियामा कैद सजाय भुक्तान गरिरहेका एकजना कैदी नेपालगन्ज बजारमा घुमिरहेका थिए । बर्दियाको गुलरिया बजारमा मात्रै होइन, ३५ किलोमिटरको दुरीमा रहेको बाँकेको नेपालगन्जसम्म खुलेआम घुम्न आएको रहस्य त्यतिबेला खुल्यो, जब एकजना कैदी नेपालगन्जमा घुमिरहेकै अवस्थामा पक्राउ परे ।
जिल्ला कारागार शाखा बर्दियामा कर्तब्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका रवि पुनलाई नेपालगन्ज बजारमै घुमिरहेका बेला प्रदेश ब्यूरो कार्यालयले नेपालगन्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्यो, अनि बर्दिया कारागार प्रशासन र कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि आशंका उब्जियो ।
बर्दिया कारागार सुरक्षार्थ खटिएका प्रहरी र कारागार चौकीदारको मिलोमतोमा कैदीहरुलाई बाहिर निस्कन दिने गरेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार ती कैदीहरुबाट केही रकम लिएर कारागार सुरक्षार्थ खटिएका प्रहरी र चौकीदारले रकम बुझेबापत कैदीलाई खुलेयाम बजार निस्कन दिने गर्दछन् ।
पुनलाई कारागर चौकीदार र सुरक्षार्थ खटिएको प्रहरीको मिलोमतोमा बाहिर जानका लागि छाडिएको बाँके प्रहरीले जनाएको छ । नेपालगन्जमा खुलेयाम घुमिरहेको अवस्थामा पक्राउ परेका पुनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।
सत्यपाटी - ।