सूचनाको शक्ति - The Power Of Information

        

बजेट आएपछि उत्साहित हुँदै बाँकेबासीले भने, ‘कार्यान्वयन महत्वपूर्ण’

बाँके । सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को बजेटमा बाँके जिल्लालाई लक्षित गरी विभिन्न १० ठूला आयोजनाहरु प्राथमिकतामा परेपछि जिल्लाबासी उत्साहित भएका छन् । सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार गर्नुभएको बजेट भाषणमा आयोजनाहरु प्राथमिकतामा परेसँगै प्रदेश राजधानीको सम्भावना टाढिएपछि निराश बनेका बाँकेबासीमा उत्साह थपेको छ ।

संसदमा बुधबार पेश गरेको बजेट सकारात्मक रहेकाले निरास हुनुपर्ने अवस्था नरहे पनि कार्यान्वयनमा ध्यान दिनुपर्ने बाँकेबासीको सुझाव छ । सबै क्षेत्रलाई समेटिएकाले रोजगारी बढाउने खालको बजेट आएको नागरिक अगुवाहरुले बताएका छन् । मुलुकको यथार्थ बुझेर समृद्धिको दिशामा अघि बढ्ने खालको बजेट आएको र निराशाभन्दा उत्साह धेरै रहेकोले कार्यान्वयनका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको नागरिक अगुवाहरुको ठहर छ ।

औद्योगिक क्षेत्रको स्थापना, उद्योग नीतिमा परिवर्तन, कृषिमा अनुदान, बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई सहुलियत ऋणजस्ता योजना र कार्यक्रमले औद्योगिक विकासमा टेवा पु¥याउने देखिन्छ । बजेटमा केही महत्वाकांक्षा देखिएका पनि कार्यान्वयन हुन सके मुलुकलाई लाभ हुने गरी बजेट आएको प्रतिक्रिया छ । उहाले पुराना बजेटको निरन्तरतासँगै नयाँ योजनाहरु समेटिएको बजेटबाट समेटिएकाले सबै क्षेत्रले ठुलो आशा मात्र गरेको नभई कार्यान्वयनलाई महत्वपूर्ण रुपमा हेरेको छ ।

बाँकेलाई आर्थिक समृद्धितर्फ लैजाने गरी ल्याइएका ठूला योजनालाई प्राथमकीकरणसँगै बजेटको निरन्तरता देखिएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका अर्थशास्त्रका प्राध्यापक भुवनेश्वर लामिछाने भन्छन्, ‘बजेट जनमूखी र आर्थिक वृद्धिदर हाँसिल गर्ने दिशातर्फ उन्मुख छ । तर, विकास बजेट पूर्णरुपमा खर्च नभएका विगतका यथार्थहरु हामीसँग छन् । सरकारले बजेट कार्यान्वयन पक्षलाई बलियो बनाउन सके हामीले चाहेको विकास र समृद्धि सम्भव छ ।’

उनले बाँके जिल्लाको सन्दर्भलाई जोड्दै पश्चिम नेपालको आर्थिक केन्द्रविन्दुका रुपमा विकास गर्ने उद्देश्यले बजेट विनियोजन गरेको बताउँदै यस जिल्लाका निम्ति अहिलेसम्मकै सुनौलो अवसरका रुपमा बजेट आएको दावी गरे । ‘यस जिल्लालाई लक्षित गरी बजेटमा समावेश गरिएका योजना अत्यन्तै राम्रा र जनमुखी छन् । हामीले कार्यान्वन पक्षलाई हेर्न बाँकी नै छ । यी योजना सफलरुपमा कार्यान्वयन भए यहाँको विकासले सोचेभन्दा धेरै फड्को मार्नेछ ।’

अर्थशास्त्रकै अर्का प्राध्यापक कृष्णकुमार लम्सालले बजेटले सबै क्षेत्रलाई ओगटेको र समाजमा प्रभाव पार्ने हिसाबले वितरण गरिएकोले सकारात्मक रहेको बताए । ‘बजेट समाजवाद उन्मुख बजेट भनिएको छ, बजेटमा नयाँ आयोजना पनि समावेश गरिएका छन्, पुराना आयोजनालाई निरन्तरता दिनुपर्नेछ । बजेटले सबै क्षेत्रलाई ओगटेको छ । विगतमा पनि बजेटको कार्यान्वयन पक्ष भने चुनौतिपूर्ण र निकै फितलो देखिएको छ, यसमा सुधार जरुरी देखिन्छ,’ प्रध्यापक लम्सालले भने ।

उनले राजस्व आम्दानी कम रहेकाले बजेट कार्यान्वयन पक्ष कमजोर हुनसक्ने आँकलन गरे । प्रध्यापक लम्सालले भने, ‘बजेटको तुलनामा राजस्व आम्दानी निकै कम छ । विदेशी अनुदान तथा ऋण सहयोगले पनि केही टेवा पुर्याउँला, तर आन्तरिक आम्दानीलाई व्यवस्थित गरेर राजस्व रकमलाई बढाउनुपर्ने सरकारसँग चुनौति छ । विगतका बजेट कार्यान्वयको पाटोलाई हेर्ने हो भने विकास बजेट निकै कम खर्च भएको अवस्था छ, यसमा विशेष ध्यान दिनुपर्छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नीजि क्षेत्रका लागि समयमै बजेट आउनु स्वागतयोग्य भएको बताए । उनले भने, ‘हामीले बजेटको स्वागत गरेका छौं, नीजि क्षेत्रका केही कुराहरु अट्न सकेका छैनन्, कर वृद्धिका विषयमा हाम्रा केही असन्तुष्टिहरु छन् । तर हामीले समग्रमा बजेट राम्रो भएकामा खुशी व्यक्त गरेका छौं ।’ केन्द्रीय सदस्य श्रेष्ठले नीजि क्षेत्रले उठाएका धेरै विषयहरु बजेटमा समावेश भएको बताए ।

‘बजेटले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरेको छ । यसले नीजि क्षेत्रलाई निकै राहत महसुस भएको छ । तर जसरी ठूलो आकारमा बजेट आउँछ, कार्यान्वयनका समयमा खुम्चिन्छ र निकै कम बजेट खर्च हुन्छ,’ उनले भने, ‘बजेट समयमै सही ढंगले बढीभन्दा बढी खर्च हुनुपर्छ । यसले मात्र सरकारले विकास र समृद्धि हाँसिल गर्न सक्छ र सुखी नेपाली बन्न सक्छन् । बजेट ल्याइसकेपछि कार्यान्वयनमा चासो देखिँदैन । सरकारले ठुलो आकारको बजेट ल्याएर मात्र हुँदैन, कार्यान्वयनमा कडाई गर्नुपर्छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका उपमहासचिव तारा रोकायले बजेटले बाँकेबासीमा उत्साह थपिएको बताइन् । उनले भनिन्, ‘सबै क्षेत्रलाई समेटेर बजेट आएको छ । बाँकेमा मात्रै धेरै ठूला आयोजनाहरु समेटिएका छन् । यसले जिल्लाबासीका लागि सुनौलो अवसरसँगै चुनौति पनि थपिएको छ ।’ सरकारले ल्याएको बजेट कार्यान्वयनमा नागरिकको पनि हातेमालो जरुरी रहेको भन्दै उपमहासचिव रोकायले पनि बजेट कार्यान्वयन पक्षलाई दरिलो बनाउनुपर्ने बताइन् ।

उनले भने, ‘सरकारले प्राथमिकीकरण गरेका आयोजना सम्पन्न गर्न नागरिकले सहज वातावरण तयार गर्नुपर्छ । आयोजना सञ्चालनका क्रममा बाधा अड्चन ल्याउनुहुँदैन । तर सरकारले बजेटमा उल्लेख गरेका आयोजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न बजेट घोषणा गरेर मात्रै हुँदैन, त्यसको कार्यान्वयनलाई पनि दरिलो बनाएर लैजानुपर्छ । अधुरा रहेका आयोजनालाई पूर्णता दिने र नयाँ आयोजनाहरु समयमा सञ्चालन गरी समयमै सक्ने गरी अघि बढ्नुपर्छ ।’

प्राथमिकतामा परेका आयोजना

बाँकेमा विशेषगरी १० ठुला आयोजनालाई महत्वका साथ हेरिएको छ । यहाँका दुई ठुला शहर नेपालगन्ज र कोहलपुरलाई मेघा सिटीका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने बजेटमा समावेश गरिएको छ । कोहलपुर–जमुनाहालाई औद्योगिक करिडोरका रुपमा विकास गर्ने बाँकेको नौवस्तामा निर्माण सुरु गरिएको विशेष औद्योगिक क्षेत्रको कामलाई तीव्रता दिनेगरी बजेटले सम्बोधन गरेको छ । त्यसका लागि आवश्यक जग्गा, विजुली, सडक निर्माणमा बजेट विनियोजन गरिएको छ ।

त्यस्तै नेपालगन्ज भन्सारमा अन्तर्राष्ट्रियस्तरको एकिकृत भन्सार जाँच चौकी निर्माण गर्ने, भेरी अस्पतालको स्तरोन्नती, खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको पूर्ण सञ्चालन, नेपालगन्ज विमानस्थलको स्तरोन्नती, नेपालगन्ज–सुर्खेत रत्न राजमार्गलाई चार लेनको बनाउने र बुटवल–कोहलपुर रेलवे लाइन निर्माण अघि बढाउने गरी यी आयोजनालाई प्राथमिकतामा राखेरै सरकारले बजेटमार्फत सम्बोधन गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार १३:२८