सूचनाको शक्ति - The Power Of Information

        

पाइप खरिद गरेको डेढ बर्षसम्म अलमलमै

राप्ती खानेपानी आयोजना

बाँके । राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिद भएको डेढ बर्ष वितेपनि अहिलेसम्म उक्त आयोजनाको काम अघि बढ्न सकेको छैन । नेपाल खानेपानी संस्थान नेपालगन्जले राप्ती नदीबाट पिउने पानी ल्याउन आर्थिक बर्ष २०७३/०७४ को अन्त्यतिर पाइप खरिद गर्न टेन्डर आह्वान गरेको थियो ।

पाइप खरिद गरेको लामो समय बित्दासमेत उक्त आयोजनाको काम अघि नबढेको नेपाल खानेपानी संस्थान, नेपालगन्जका प्रमुख इन्जिनियर आशिष कार्कीले बताए । संस्थानले राप्ती नदीको सिधनिया पुल नजिक सम्पवेल मार्फत राप्ती नदीको पानी तानेर नेपालगन्ज ल्याउने योजना बनाएको छ ।

नेपालगन्ज र बुटवलका लागि रु.२५–२५ करोडको पाइप खरिद गरेको देखाइए पनि भन्सार पास गरेको प्रज्ञापनपत्र हेर्दा नेपालगन्ज भन्सारबाट रु.१२ करोड र भैरहवा भन्सारबाट रु.१३ करोडको सामान आयात गरेको देखिन्छ । उक्त आयोजनाका लागि आर्थिक वर्ष २०७४÷७५ मा राप्ती नदीबाट खानेपानी आपूर्ति गर्न पाइप तथा फिटिङ सामान खरिद गर्न रु.२८ करोड ४८ लाख ६३ हजार विनियोजन गरिएको थियो ।

निर्माण गर्न बुटवलका लागि रु.२६ करोड २४ लाख र राप्तीका लागि रु.२५ करोड ७६ लाख लागत तय गरिएको थियो । भूमिगत जलस्रोतबाट नेपालगन्जमा खानेपानीको आपूर्ति गर्दै आएको संस्थानले दीर्घकालीन आपूर्ति व्यवस्थापन गर्न नयाँ योजना ल्याएको जनाएको छ । राप्ती नदी किनारमा इन्टेक बनाएर नेपालगन्जको फुल्टेक्रास्थित नेपाली सेनाको ब्यारेकबाट सुर्जीगाउँतर्फ सहायक लाइन विस्तार गरिने भएको छ ।

‘सहायक लाइनलाई सुर्खेतरोडमा जोडेर नेपालगन्ज उपमहानगरपालिका–२०, मनिकापुरमा पानी वितरण गर्ने योजना छ,’ कार्कीले भने । त्यस्तै राप्ती नदीबाट संस्थानको कार्यालयमा भएको टंकीमा पानी ल्याउने योजना छ । १६ किलोमिटर मेन पाइप लाइनबाट नेपालगन्जमा रहेको संस्थानको मुख्य टंकीमा पानी ल्याउने योजना संस्थानको छ ।

‘हातेपम्प, ट्युववेल, डिप बोरिङ्ग, इनार लगायतका माध्यमबाट उपलब्ध खानेपानीलाई विस्थापित गर्न नयाँ योजना ल्याइएको हो,’ उनले भने । राप्ती नदीबाट राप्तीपथ हुँदै नेपालगन्जसम्म २० इन्च पाइपबाट खानेपानीको मेन लाइन बिस्तार गर्ने योजना छ । राप्ती नदीबाट ल्याइने पानी नेपालगन्जमा रहेको खानेपानी ट्यांकीमा ल्याउने र त्यसैमार्फत वितरण गर्ने योजना रहेको छ ।

अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

पाइप खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारमा उजुरी परेपछि आव २०७४/०७५ मा आयोजनाको काम अघि बढ्न नसकेको कार्यालय प्रमुख कार्कीले बताए । उनले अख्तियारबाट क्लिन चिट आइसकेको बताउँदै योजनाको काम अघि बढाउने तयारी भएको बताए ।

उनले हिराचन मल्ल कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको बताउँदै सम्झौता हुन बाँकी रहेको बताए । उनका अनुसार, हिराचन कन्स्ट्रक्सनले रु.दुई करोड २५ लाखमा निर्माण गर्न ठेक्का सकार गरेको छ । ‘सम्झौता भएको ११ महिनामा काम सक्नेगरी ठेक्का सकार भएको छ,’ उनले भने ।

२८ हजार घरधुरीलाई खानेपानी पुर्याउने योजना

संस्थानले नेपालगन्ज उपमहानगरपालिकाका २८ हजार २०४ घरधुरीलाई पानी वितरण गर्ने योजना बनाएको छ । यसका लागि उसले दैनिक साढे दुई करोड लिटर पानी नेपालगन्ज ल्याउने भएको छ ।

संस्थानले हाल नेपालगन्ज उपमहानगरपालिकाका चार हजार ६०० घरधुरीलाई दैनिक ४० लिटर पानी वितरण गर्दै आएको कार्यालय प्रमुख कार्कीले जानकारी दिए । उनले नेपालगन्ज उपमहानगरपालिकाको हालको जनसंख्यालाई हेरेर नयाँ योजना ल्याएको बताए ।

आयोजनाले संस्थानलाई आर्थिकभार कम

राप्ती नदीबाट पानी ल्याए संस्थानलाई फाइदा हुने भएको छ । कार्कीका अनुसार संस्थानले हाल चार वटा बोरिङ मार्फत पानी तानेर नेपालगन्जबासीलाई वितरण गर्दै आएको छ । विद्युतको सहायताले बोरिङबाट पानी तान्दा महंगो पर्ने उहाँले बताए ।

राप्ती नदीबाट खानेपानी ल्याउने हो भने विद्युत महशुल जोगिने उनको भनाई छ । उनले चारवटा बोरिङको विद्युत महशुल कम्तीमा रु.दुइलाख ४० हजार आउने गरेको संस्थानले जनाएको छ । ‘विद्युत महशुल कम भयो भने संस्थानलाई आर्थिक भार कम हुनेछ,’ उनले भने ।

बर्षातको समयमा राप्तीको पानी खान नमिल्ने

सम्पवेल प्रविधि सफल भएमात्र बर्षभरि नै राप्ती नदीको पानी खान योग्य हुने संस्थानले जनाएको छ । सम्पवेल सफल नभए राप्ती नदीको पानी पाइपमार्फत सिधै नेपालगन्ज ल्याउने योजना छ । पहिलो विकल्पको रुपमा सम्पवेल प्रविधिलाई राखिएको छ ।

कार्यालय प्रमुख कार्कीले यो प्रविधि सफल नभए पाइपमार्फत राप्ती नदीको पानी सिधै नेपालगन्ज ल्याइने बताए । ‘राप्ती नदीमा बाढी आएको बेला र पानी धमिलो भएमा पानी नेपालगन्ज ल्याउन मिल्दैन,’ कार्कीले भने, ‘उक्त समयमा नेपालगन्जको बोरिङबाट पानी तानेर खानेपानी वितरण गरिनेछ ।’

यो योजना सम्पन्न भएपछि दैनिक २ करोड लिटर पानी सहज उपलब्ध हुने कार्कीले बताए । संस्थानबाट मात्र नेपालगन्जमा अहिले ३६ लाख लिटर पानी प्रतिदिन उपयोग भैरहेको छ । नेपालगन्जमा करिब पाँच हजार परिवारले संस्थानबाट खानेपानीको सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार ०८:५३