बाँके । बैदेशिक रोजगारीका लागि श्रीमान्कै सहमतिमा साउदी गएकी बाँके सितापुरकी मीना थापा (नाम परिवर्तन) लाई अहिले पारिवारिक र सामाजिक तिरस्कार झेल्न बाध्य छन् । बैदेशिक रोजगारीमा जाँदा महिलाहरुलाई कम खर्च लाग्ने भन्दै श्रीमान्ले मीनालाई विदेश पठाए ।
विदेशमा जेनतेन उनले राम्रै कमाई गरिन् । तर अहिले उनी श्रीमान्बाटै अपहेलित हुनुपरेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण परिवारको आर्थिक अवस्था सुधार र आफ्ना सन्तानहरुको राम्रो शिक्षादीक्षाको सपना बोकेर उनी सल्लाहमै बिदेशिएको बताउँछिन् । अहिले श्रीमान्ले आफूलाई विभिन्न खालका लान्छाना लगाउँदै दुःख दिने गरेको उनले बताइन् ।
परिवारको आर्थिक उन्नतीको सपना बोकेर साढे ३ बर्षको छोरा छाडेर कुबेत गएकी सितापुरकै रचना शर्मा (नाम परिवर्तन)ले पनि अहिले सबैतिरबाट तिरस्कार ब्यहोर्नुपरेको छ । आठ बर्षदेखि मलेसियामा रहेका श्रीमान्ले घर खर्च पनि नपठाएपछि छोराछोरीको भविष्यप्रति चिन्तत हुँदै कुवेत पुगेकी रचना अहिले श्रीमान्, सासु र माइतीबाट समेत अपहेलना ब्यहोर्न बाध्य छिन् ।
उनी भन्छिन्, ‘घरबाट बहिस्कृत हुनुपर्दा अहिले अनुहार लुकाउने ठाउँसम्म छैन । घरमा पनि सासुससुराको अपहेलनासँगै माइतीले समेत राम्रो मान्दैनन् ।’ मीना र रचनाजस्ता थुप्रै महिलाहरुले बैदेशिक रोजगारीबाट फर्किएर पारिवारिक र सामाजिक तिस्कार सहनुपर्ने बाध्यता छ ।
सीता वली (नाम परिर्वतन)लाई पनि आफ्नो पीडा सुनाउन निकै गाह्रो भयो । सुरुमै उनको गला अवरुद्व भयो, उनका आँखा रसाए । उनी बिदेशबाट फर्किएपछि श्रीमान्ले बारम्बार घर छाड्न धम्की दिइरहेका छन् । ‘तँ घरबाट निस्किहाल, म तँलाई राख्दिन भन्दै श्रीमान्ले सधैजसो पीडा दिने गर्छन्,’ उनले भनिन्, ‘श्रीमान्ले राम्रो नगरे समाजले पनि नरामै्र गर्दौरहेछ ।’
बिदेश पुगेपछि पनि आठ महिलासम्म तलब नपाएर दुःख पाएको स्मरण गर्दै सीताले भनिन्, ‘दुःखीलाई जहाँ पनि दुःख नै हुनेरहेछ ।’ बैदेशिक रोजगारमा गएका महिलाहरु स्वदेश फकिर्एपछि सानोतिनो व्यवसाय सञ्चालन गरेर आर्थिकस्तर बढाउने सपना बुन्ने गर्छन् । तर उनीहरुलाई समाजमा अपहेलित हुनुपर्ने डर छ ।
श्रीमान्को मृत्युपछि कमजोर आर्थिक अवस्थाकै कारण बिदेशिएकी सीतापुरकै भावना बिक (नाम परिवर्तन)ले स्वदेश पर्किएपछि चिया पसल सुरु गरिन् । तर उनले त्यसलाई केही समयमै बन्द गर्नुप¥यो । चिया पसल गर्दा समाजले कुरा काट्न थाले । ‘पसलमा आउने ग्राहकसँग मस्किन्छे, आजभोली त यसको धेरैसँग लसपस बढेको भन्दै कुरा काट्न थालेपछि चिया पसल बन्द गर्नुपर्यो,’ भावनाले आसु झार्दै भनिन् ।
‘सबै काम गर्नुपथ्र्यो, घरमा १०÷१२ जनाको रेखदेख गर्नुपथ्र्यो । साहुले काम गराएर पैसा दिन खोज्दैन्थ्यो साहु । माग्यो भने उल्टै थर्काउथ्यो । उजुरी गरु कहाँ गरुँ अर्काको ठाउँ । उनीहरुको रुखो व्यवहारले रातभर आखा भरिन्थ्यो,’ पावर्ती राना (नाम परिवर्तन)ले सुनाइन् । उनी श्रीमान्ले दोश्रो विहे गरेपछि छोराछोरीको पालनपोषण र राम्रो शिक्षा दिनुपर्छ भन्ने सपना बोकेर साउदी अरब गएकी थिइन् ।
परिश्रम र समय एउटै भएपनि खाडी मुलुकमा बस्ने नेपालीले आफ्नो श्रमको उचित मुल्य पाउन नसकेको उनको भनाई छ । उनले भनिन्, ‘लामो समयसम्म काम गराउने, खान नदिने, कुटपिट गर्ने, गालि गलोच गर्ने र यौन दुव्र्यवहार गर्ने गर्छन् ।’ उनका अनुसार यातना सहन नसकि घरेलु कामदारको रुपमा गएका अधिंकाश नेपाली महिलाले आत्महत्या समेत गर्ने गरेका छन् ।
दोश्रो बिहे गरेर भारत गएका पार्वतीका श्रीमान् हालसम्म फर्किएका छैनन् । फोनमा सम्पर्क गर्दा पैसा छैन कसरी घर आउने भन्ने जवाफ दिन्छन् । उनले अहिले माइतीमै बसेर छोराछोरीको पालनपोषण र शिक्षादिक्षा दिइरहेकी छन् । खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलाको संख्या बढ्दो छ । ती मुलुकबाट हिंसामा परेर फर्किने महिला पनि बढेका छन् ।
वैदेशिक रोजगारबाटै फर्किएकी सीतापुरकी पवित्रा बस्नेत (नाम परिवर्तन)ले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘म विदेश जसरी गए, त्यसरी नै आए, पैसा पनि कमाए, तर नेपाल आएपछि समाजबाट गर्ने व्यवहार र विभेदका कारण मानसिकरुपमा बहिस्कृत भएको महसुस गरेकी छु ।’ वैदेशिक रोजगारमा हुने भेदभाव र हिंसा न्यूनीकरण गर्न सरोकारवालापक्ष बीच समन्वय हुनु जरुरी रहेको बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको भनाई छ ।
‘महिलाको कमाई स्वीकार्न नसक्ने र कमाउने आफूलाई मालिक सम्झिने पुरुषवादी सोच त्याग्न जरुरी छ,’ उनीहरु भन्छन् । वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई घर परिवारमा सहज वातावरण बनाइदिन उनीहरुले सम्वद्व निकायहरुसँग आग्रह गरेका छन् । नेपाली महिलाहरुलाई पछिल्लो समयमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सचेतना जागेको छ । तर, स्वदेशमै रोजगारीको अवसर निर्माण नहुँदा हजारौ महिलाहरु बैदेशिक रोजगारीको बाटो रोज्न बाध्य छन् ।
बैदेशिक रोजगारीबाट फकिर्एका महिलालाई समाजले झन् पीडा दिने गरेको उनीहरुको भनाई छ । रोजगारीका लागि विदेश जाने इच्छा नभएपनि पारिवारीक समस्याले गर्दा महिलाहरु बिदेशिनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुमा जति नै पीडा भए पनि एकाधबाहेक अन्यले आफ्ना भोगाई सार्वजनिक गर्न चाहँदैनन् । वैदेशिक रोजगारबाट स्वदेश फर्केका महिलालाई समाज एवं घरपरिवारमा घुलमिल हुन पनि निकै समस्या छ ।
घरपरिवारमा हुने विभेद, श्रीमानसँगको बढ्दो दूरी, सम्बन्धविच्छेद, बहुबिवाह, घरेलु हिंसाका कारण विदेशिन बाध्य भएका महिलाहरुमा विशेष गरेर यस्तो समस्या देखिएको छ । नेपाली महिलाका लागि रोजगारी प्रतिबन्ध भएका देशमा नेपालबाट जान बन्देज भए पनि भारतीय बाटो प्रयोग गरी बिदेशिने गरेका छन् । धेरै महिलाले अवैधरुपमा जोखिमपूर्ण यात्रा गर्छन् । स्वदेश फर्केपछि समाजले हेर्ने समाजले गलत दृष्टिकोणले हेर्ने भएकै कार उनीहरुलाई पुनःस्थापित हुन पनि समस्या छ ।
खाडी मुलुकमा श्रम र यौन शोषण
भारतलगायत खाडीमा काम गर्न पुगेका अधिकांश महिला यौन र श्रम शोषणमा पर्ने गरेको चेलिबेटी बेचविखनविरुद्व क्रियाशिल संस्था माइती नेपालको तथ्यांक छ । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार दलालको प्रलोभनमा परी भारत र खाडी मुलुक पुगेका महिलाहरू यौन र श्रम शोषणमा परेका घटना बढ्दो क्रममा छन् । माइती नेपालमा जोखिममा परेका महिलाहरुको उद्दार पनि निरन्तर गरिरहेकै छ ।
यौन शोषणका कारण कैयौं महिला मानसिकरुपमा विक्षिप्त अवस्थामा पुगेका छन् । भारत र खाडी बाहेक पछिल्ला दिनमा दलालले नेपाली महिलालाई वंगलादेशमा पुर्याएर देहव्यापारमा लगाएको घटनासमेत फेला परेका छन् । संयोजक कोइरालाका अनुसार कुवेत, लेवनान, वहराइन र साइप्रस पुगेका थुप्रै महिला यौन शोषणमा परेको र उद्वारका लागि आग्रह गर्दै निवेदन पर्ने गरेका छन् ।
घरेलु कामदारका रुपमा महिलालाई विदेशमा नपठाउन आग्रह भइरहे पनि नबुझेर धेरै महिला खाडी मुलुक जाने र दुःख पाउने क्रम बढ्दो रहेको उनको भनाई छ । राम्रो काम र तलब पाइने आशाले विदेश पुगेका महिलाहरू शोषणमा पर्ने क्रम बढेपछि उद्वारका लागि पीडित र आफन्तले माइती नेपाल, प्रहरी लगायतका निकायमा दिने निवेदनको संख्या बढ्दो छ । कोइरालाका अनुसार खाडी मुलुकबाट उद्वार गर्ने बलियो संयन्त्र नभएका कारण थुप्रै महिला वर्षौदेखि पीडित छन् ।
बैदेशिक रोजगार विभागको २०७४/०७५ को तथ्यांक अनुसार बाँकेका १३६ जना महिला वैदेशिक रोजगारीमा रहेको देखिन्छ । यो संख्या विभागबाट वैधानिकरुपमा श्रम इजाजत लिएर विदेशिएको संख्यो हो । तर सो संख्या भन्दा धेरै महिला अवैधरुपमा भारत हुँदै बैदेशिक रोजगारीका लागि तेस्रो मुलुकमा गएको अनुमान छ ।
विभागका अनुसार बैदेशिक रोजगारीमा जाने महिला कामदारमा सबैभन्दा धेरै कतार र संयुक्त अरब इमिरेट्स (युएई) मा ३०/३० जना गएका छन् भने मलेसियामा २७ जना, कुवेत २०, साउदी अरब १४, पोल्याण्ड र साइप्रस ३/३ जना गएका छन् । त्यस्तै ओमान र माल्दिभ्समा २/२ जना तथा बहराइन, जोर्डन र हङकङमा १/१ जना रहेको विभागको तथ्यांकमा जनाइएको छ ।
सत्यपाटी - ।