बाँके । आर्थिक वर्ष २०७४/०७५ मा प्रदेश ५ मा २३९ जना औलो रोगी थिए । आव २०७५/०७६ मा भने औलो रोगीको संख्या घटेर १८५ जनामा झरेको छ । प्रदेश नं. ५ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सबैभन्दा धेरै बाँके जिल्लामा ५२ जना औलो रोगी रहेका छन् ।
कपिलवस्तुमा ४९ जना, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङ्ग १०, अर्घाखाँची र नवलपरासी पूर्व ७/७ र पाल्पामा दुई जना गरी १८५ जना औलो रोगी रहेको सामाजिक विकास मन्त्रालय अन्तरगत प्रदेश नं. ५ स्वास्थ्य निर्देशनालयले आज नेपालगन्जमा आयोजना गरिएको औलो रोग सम्बन्धी अन्तरक्रियामा निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईद्वारा प्रस्तुत तथ्यांकमा जनाइएको छ ।
तथ्यांक अनुसार प्रदेश नम्बर ५ का तीन जिल्लाका तीन वटा वडा अझै पनि मलेरिया (औलो)को उच्च जोखिम रहेका छन् भने पाँच वटा जिल्लाका ३१ वटा वडा मध्यम जोखिममा रहेका छन् । जसअनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं. ३, बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नं. २ र कपिलबस्तुको महाराजगन्ज नगरपालिकाको वडा नं. ४ अझै पनि औलोको उच्च जोखिममा रहेका छन् ।
बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं. १, २ र ४, डुडुवा गाउँपालिकाको वडा नं. २ तथा नरैनापुर गाउँपालिकाको वडा नं. ३ मध्यम जोखिममा रहेका छन् । त्यस्तै बर्दियाको बाँसगढी नगरपालिकाको वडा न. १, २ र ५, बारबार्दिया नगरपालिकाको वडा नं. ६, ठाकुरबाबा नगरपालिकाको वडा नं. १ र ३, दाङ्ग जिल्लाका बबई गाउँपालिकाको वडा नं. ५ र ७, राप्ती गाउँपालिकाको वडा नं. ९, शान्तिनगर गाउँपालिकाको वडा नं. ६ र तुलसीपुर नगरपालिकाको नगरपालिकाको वडा नं. ३ मध्यम जोखिममा रहेको तथ्यांकले जनाएको छ ।
त्यस्तै कपिलबस्तु जिल्लाको यशोधरा गाउँपालिकाको वडा नं. ६, मायादेवी गाउँपालिकाको वडा नं. १ र ६, बुद्धभूमी नगरपालिकाको वडा नं. ७, कृष्णनगर नगरपालिकाको वडा नं. ७, महाराजगन्ज नगरपालिकाको वडा नं. ७ र १०, शिवराज नगरपालिकाको वडा नं. १० तथा रुपन्देही जिल्लाको कोठीमाई गाउँपालिकाको वडा नं. ७, शम्मरीमाई गाउँपालिका वडा नं. ४, देवदह नगरपालिकाको वडा नं. ९ र ११, सिद्धार्थनगर नगरपालिकाको वडा नं. १ र ३ तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको वडा नं. ६ मध्यम जोखिममा रहेका छन् ।
औलो रोग लामखुट्टेबाट लाग्ने भएकाले गाउँघर वरीपरी सफा राखी वातावरण नै स्वच्छ बनाउनुपर्ने, खाल्टा खुल्टी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नेजस्ता विषयमा नागरिकहरु सम्वेदनशील हुनुपर्ने निर्देशक चापागाईले बताए । उनले भने, ‘गर्मीको सिजन छ, औलो नआउँला भन्न सकिन्न । प्रकोप नै फेलिने अवस्था भने छैन । तर सम्भावित हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि हामी तयारी अवस्था छौं ।’ उनका अनुसार औलो रोग लागेपछि काम ज्वरो आउने, शरीर रातो हुने लगायतका लक्षणहरु देखापर्ने गर्दछन् ।
‘आफैबाट सुरु गरौँ, औलोलाई शून्यमा पु¥याऔं, भन्ने मूल नाराको सरकारले सन् २०२५ सम्म देशलाई औलो रोग मुक्त बनाउने उद्देश्यका साथ अभियान चलाएको छ । ‘स्थानीय औलो एक जनामा देखिएपछि निकै खतरा मानिन्छ । अन्य व्यक्तिहरूमा पनि सार्न सक्ने जोखिम उस्तै हुन्छ,’ प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले भने, ‘बिरामी फेला परेका स्थानमा नियन्त्रणका लागि चेकजाँच अभियान पनि चलाउने गरेका छौं ।’ उहाँका अनुसार औलो नियन्त्रणका लागि किटनाशक झुल पनि वितरण गर्ने गरिएको छ ।
‘लामखुट्टेबाट जोगिने भरपर्दो उपाय झुल प्रयोग नै हो । त्यसैले औलो देखिएको स्थानका स्वस्थ व्यक्तिमा रोग सर्न नदिन झुल वितरण गर्ने गरेका छौं,’ बरिष्ठ जनस्वास्थ्य प्रशासक चौधरीले भने, ‘बढी लामखुट्टे भएको स्थानमा विषादी पनि छर्दै आएका छौँ ।’ उनका अनुसार बिरामी फेला परेका घरबाट ५० मिटर आसपासका व्यक्तिको रगत परीक्षण र निगरानी गर्ने गरिन्छ । लामखुट्टेले स्वस्थ व्यक्तिमा रोग सार्न सक्ने भएकाले सूक्ष्म तरिकाले निगरानी गरिन्छ ।
अन्तरक्रिया कार्यक्रममा प्रदेश ५ स्वास्थ्य निर्देशनालयका रेडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा.मदन कोइराला, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसी, स्वास्थ्य अधिकृत रामबहादुर चन्द, दुर्गा गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुरसिंह थारु, पत्रकारहरु तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निर्देशनालयमा कार्यरत नसिंङ्ग अधिकृत थुमा पुनले गरेकी थिइन् ।
सत्यपाटी - ।