‘नेपाल–भारत सुरक्षाकर्मी, पत्रकार, औषधी व्यवसायी संघ तथा मुख्य सरोकारवालाहरुबीच’ रुपैडिहामा शनिबार गरिएको अन्तरक्रियामा नेपाल तथा भारतका प्रतिनिधिहरु ।
बाँके । आर्थिक वर्ष २०७४/०७५ मा लागुऔषध ओसारपसारका क्रममा ३१० बाँकेमा पक्राउ परे । लागुऔषध ओसारपसार सम्बन्धी १४२ वटा मुद्दा चले । प्रदेश ५ लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको तथ्यांकअनुसार चालु आवमा यो दर बढेको देखिन्छ ।
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक बीरबहादुर थापाका अनुसार चालु आवको १० महीनामा प्रतिमहिना औसतमा ३० जनाका दरले लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गरिसकिएको छ । यो अवधीमा २९७ जना पक्राउ परेका छन् भने १९२ वटा मुद्दा दर्ता भएका छन् ।
चाल् आवमा पक्राउ पर्नेमा सबैभन्दा धेरै हेरोइनसहित ९४ जना पक्राउ र ६६ वटा मुद्दा, नाइट्रोभ्याटसहित ८७ र ६१ मुद्दा र नाइट्रोजेपामसहित १७ जना पक्राउ र १० वटा मुद्दा परेका छन् । पक्राउ पर्नेमा २० जना भारतीय नागरिक पनि छन् । उमेर समुहअनुसार सबैभन्दा धेरै किशोरकिशोरी पक्राउ परेका छन् ।
यो तथ्यांकले विद्यालय उमेर समुहका किशोरकिशोरीे लागुऔषध कारोबारमा संलग्न रहेको देखाउँछ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको तथ्यांक अनुसार १८ वर्षमूनिका ९ दशमलव ७३ प्रतिशत, १८–२५ वर्षका ५८ दशमलव ४, २५–३५ वर्षका २२ दशमलव १२, ३५–४५ वर्षका ५ दशमलव ३० र ४५ वर्षमाथिका ४ दशमलव ४२ प्रतिशत रहेका छन् ।
प्रहरी निरीक्षक थापाका अनुसार लागुऔषध कारोबार तथा दुर्व्यसनीमा ‘प्लस टु’ पुस्ता धेरै रहेको छ । उनले भने, ‘लागुपदार्थको कारोबार र दुर्व्यसनी बढेको छ । महंगो मुल्यका लागुपदार्थको कारोबारी अझ धेरै छन् ।’ सामान्य मुल्यमा पाइने लागुपदार्थ भन्दा महंगो मुल्यमा खरिद बिक्री हुने लागुपदार्थको कारोबारमा ‘प्लस टु’ पुस्ता धेरै रहेको छ ।
‘एभिल, डाइजोपाम, लुबिक जेसिकजस्ता सामान्य मूल्यका कारोबार घटेको छ तर ब्राउन सुगर, चरेश, अफिम लगायतको महंगो मुल्यको लागुऔषध प्रयोगकर्ता बढेको छ,’ प्रहरी निरीक्षक थापाले भने । लागुऔषध कारोबारका लागि नेपालगन्ज ट्रान्जिट पोइन्ट बन्दै गएपछि लागुपदार्थ दुर्व्यसनी र कारोबारीको संख्या बढ्दो छ ।
खुला सीमामा लागुपदार्थका कारोबारीलाई नियन्त्रण गर्न प्रहरीले तालिम प्राप्त कुकुर नै परिचालन गर्नुपरेको छ । प्रहरी निरीक्षक थापाले भने, ‘लागुपदार्थ दुर्व्यसनी र कारोबारीको संख्या बढ्दै गएपछि आपराधिक घटनाहरु पनि बढ्न थालेका छन् ।’ लागुऔषधको कारोबार बढ्दै गएपछि स्थानीयहरुको चासो बढ्न थालेको छ ।
महंगो मुल्यका लागुऔषध प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै जानु र नेपालगन्जलाई ट्रान्जिट बनाएर साविक मध्यपश्चिमका पहाडी जिल्ला तथा काठमाडौंसम्म लागुऔषधको व्यापार विस्तार भरहेको छ । ‘लागुऔषध कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ नगरेकोे दिन सायदै नहोला,’ प्रहरी निरीक्षक थापाले भने ।
उनका अनुसार प्रतिमहीना औसतमा ३० जनाका दरले लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई पक्राउ परिरहेका छन् । सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता प्लस टु अध्ययनरत विद्यार्थी र होस्टलमा बस्ने छात्रछात्रा रहेका छन् । धेरैजसोमा स्कुलको पढाइ सकेर क्याम्पस जाने समयमा लागुऔषध प्रयोग गर्ने गरेको देखिएको प्रहरी निरीक्षक थापाले बताए ।
दुर्व्यसनीमध्ये सबैभन्दा धेरै विद्यार्थी नै रहेको भारतीय प्रहरीको पनि दावी छ । बहराइच क्राइम ब्यूरो अन्तरगत रुपैडिया थाना क्राइम ब्रान्च प्रमुख हर्षवर्धन सिंहले भारतीय सीमा नाकामा पक्राउ पर्नेको संख्या नेपाल प्रहरीको तथ्यांकसँग मिल्दोजुल्दो भएको बताए । उनले भने, ‘प्रशोधनका लागि नेपालबाट हेरोइन र अफिमजस्ता लागुपदार्थ बढी निकासी हुने गरेको छ ।’
भारतीय सीमावर्ती गाउँ पनि लागुऔषध ओसारपसार बढिरहेको बताउँदै क्राइम ब्रान्च प्रमुख सिंहले सीमा नाकामा लागुऔषध ओसारपसार बढ्दो क्रममा रहेको जानकारी दिए । ‘यो समस्याबाट दुवै देशका सीमा क्षेत्रका गाउँहरु ग्रसित छन् । ओसारपसार बढिरहेको छ, यसमा नेपाल प्रहरीको तथ्यांकजस्तै किशोरकिशोरीहरु धेरै पक्राउ पर्ने गरेका छन् ।’
लागुऔषध ओसारपसारका क्रममा मुख्य कारोबारी पक्राउ कमै हुने गरेको प्रहरी तथ्यांक छ । ‘यहाँ सानो परिमाणमा मात्र हेरोइन आउने गरेको छ । ठूलो परिमाणमा आउने हेरोइन तेर्सो मुलुकमा लैजान नेपाली भूमि प्रयोग गरेको देखिन्छ । सानो मात्रामा आउने खैरो हेरोइन यहाँका स्थानीय दुर्व्यसनीले प्रयोगका लागि ल्याउने गरेका छन्,’ प्रहरी निरीक्षक थापाले भने ।
डरलाग्दो रुपमा लागुऔषधको कारोबार र दुर्व्यसनी बढ्न थालेपछि नेपाल प्रहरीले नेपाल–भारत तालिम प्राप्त कुकुर परिचालन गरी जमुनाहा नाकामा गस्ती, जाँच र निगरानी बढाएसँगै एक दिन सात जना पक्राउ परेपछि एक सातादेखि केही ओसारपसार पूर्णरुपमा नियन्त्रण भएको लागुऔषध नियन्त्रण व्युरो नेपालगन्जका प्रमूख थापाको दावी छ ।
लागुऔषध बरामद उच्च
लागुऔषध नियन्त्रण व्युरो नेपालगन्जका अनुसार १० महीनामा उच्च परिमाणमा लागुऔषध बरामद भएको छ । जसअनुसार खैरो हेरोइन ३३९ ग्राम ६९० मिलिग्राम, नाइट्रोभ्याट ४ हजार ४८ ट्याब्लेट, नाइट्रोजेपाम ८५१ ट्याब्लेट, नाइट्रोसन ११२ ट्याब्लेट, स्पासमो १५४ क्याप्सुल, कोरेक्स ५ हजार ३५० मिलिलिटर, ट्रिगन १०० ट्याब्लेट, चरेश ८ किलो ८२० ग्राम, डाइजेपाम ३७ एम्पुल, फेनारगन ३३ एम्पुल र बुर्पिनर्फिन १० एम्पुल बरामद भएको छ ।
नेपाल–भारत नशा उन्मुलन समिति गठन
नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसारसँगै किशोरकिशोरी दुव्र्यसनमा फस्ने क्रम बढेपछि न्यूनीकरणका लागि दुवै देशका सरोकारवालाहरुले १७ सदस्यीय ‘नेपाल–भारत नशा उन्मुलन समिति’ गठन गरेका छन् । तीन दशकदेखि भारतको रुपैडियामा बसेर पत्रकारिता गरिरहेका हिन्दुस्तान दैनिकमा कार्यरत बरिष्ठ पत्रकार मणीराम शर्मालाई संयोजक तोकिएको छ ।
समितिमा नेपालका तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघका उपमहासचिव तारा रोकाय, सशस्त्र प्रहरी बल ३० नम्बर बटालियनका डिएसपी राजु शाह, लागुऔषध नियन्त्रण व्युरो नेपालगन्जका प्रहरी निरीक्षक बीरवहादुर थापा, वडा प्रहरी कार्यालय नेपालगन्ज प्रहरी निरीक्षक नारायण डाँगी, इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायव निरीक्षक वसन्त वस्नेत, भेरी चिकित्सक संघ बाँकेका अध्यक्ष डा. विनोद कर्ण रहेका छन् ।
त्यस्तै भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) ४२ नम्बर बटालियन प्रमुख अरुणकुमार सिंह, बहराइच क्राइम ब्यूरो अन्तरगत रुपैडिया थाना क्राइम ब्रान्च प्रमुख हर्षवर्धन सिंह, रुपैडिहा व्यापार संघका अध्यक्ष विजयकुमार मित्तल मेडिकल एशोसिएसन रुपैडिहाका अध्यक्ष वैजनाथ गुप्ता, रुपैडिहाका समाजसेवी सनदकुमार शर्मा, डा.उमाशंकर वैश्य लगायतलाई सदस्यमा चयन गरिएको छ ।
सत्यपाटी - ।