सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा प्रतिन्धित भारतीय खानेतेल !

बाँके । नेपाली बजारमा भारतीय खानेतेल प्रतिबन्धित छ । भारतीय तेल नेपाली बजारमा गैरकानुनीरुपमा विक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध लगाएको हो । तर नेपालगन्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परिक्षण र चेकजाँच बिना भित्रिरहेको छ ।

भारतीय ब्रान्डका चक्र, तुलसी, जय भारत, सनलाइट, टेक्टर र बैलकोलु, सनमुन, फरट्यून, तड्का लगायतका गुणस्तरहीन खानेतेलहरु खुलेआम नेपाल भित्रिरहेका छन् । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट तस्करहरुले ठूलो मात्रामा अखाद्य मानिएका भारतीय ब्राण्डका तेलहरु नेपाल भित्र्याइरहेका छन् ।

नेपालगन्जका किराना व्यवसायी प्रदीप बर्माका अनुसार तस्करहरुले प्रतिलिटर रु.१० का दरले सामान बोक्ने (क्यारिङ्ग) व्यक्तिलाई दिने गरेका छन् । उनले भारती य तेलका कारण नेपाली उत्पादनमा समेत समस्या भइरहेको बताए । ‘दैनिक करिब दुई हजार लिटरसम्म अखाद्य तेल अवैधरुपमा नेपाल भित्रिरहेको छ,’ उनले भने ।

भारतीय बजारमै अखाद्य खाने तेलको बिगबिगी बढेपछि सीमावर्ती रुपैडिहाका नागरिहरु नेपाली खानेतेलको प्रयोग गर्ने गर्न थालेको रुपैडिहाका कपडा व्यवसायी सुमित चौरसिया बताउँछन् । उनले भने, ‘यहाँको तेलमा धेरै मिसावट छ, हामी यहाँको तेल प्रयोग गर्दैनौं, हामी पनि नेपालबाटै ल्याएर खाने तेल खान्छौं, यहाँको तेल ठीक छैन ।’

ब्रान र तोरीको तेल मिश्रण गरेर बनाइएका यस्ता तेलले स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले बेचबिखनमा प्रतिबन्ध लगाइए नेपालगन्ज बजारमा भने खुलेआम भारतीय अखाद्य खानेतेलको बेचबिखन भइरहेको छ । हानिकारक रसाइन मिसाएर बजारमा तोरीको तेल भनेर बिक्री भइरहेको उपभोक्ताहरुको गुनासो छ ।

भारतबाट भित्रिने अखाद्य मानिएका खानेतेलमा अत्याधिक मिसावट हुने गरेका कारण मानव स्वास्थयमा समेत असर गर्ने भएकाले तत्काल रोक्न स्थानीय प्रशासनले चासो देखाउनुपर्ने बताउँछन्, नेपालगन्ज–१ का विश्वप्रकाश शर्मा । उनले भने, ‘यही उत्पादित तेल गुणस्तरयुक्त छ, अखाद्य भारतीय तेल आयात रोक्न स्थानीय प्रशासनले चासो देखाउनुपर्छ ।’

प्रतिबन्धित भारतीय तेलका कारण नेपाली तेल उद्योग समस्यामा परेका छन् । यसले मानव स्वास्थ्यमा समेत गम्भीर असर पुगेको छ । ‘खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरुले भारतीय खाने तेल ल्याएर नेपाली बजारमा बिक्री वितरण गर्दा नेपाली उद्योग समस्यामा परेका छन्,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने ।

करोडौंको लगानीमा स्थापित नेपाली उद्योग लगानीकर्ताले गुणस्तरहीन तथा प्रतिबन्धित तेलका कारण नेपाली व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेको उनको भनाई छ । सस्तो मुल्यमा पाइने भारतीय तेलका कारण नेपाली तेलको बिक्री घटेको छ । भारतबाट आउने तेल नेपाली तेलको तुलनामा सस्तो पनि हुने गरेको छ ।

चामलको भुसबाट निकालिने उक्त तेल छोटो समयमै बिग्रने, गुणस्तर पनि नहुने हुँदा भारतीय ब्रान्डका त्यस्ता तेल आयातमा प्रतिबन्ध लगाउनु पर्ने नेपालगन्ज उद्योग वाणिज्य संघकी उपमहासचिव तारा रोकायको भनाई छ । उनले भनिन्, ‘स्थानीय प्रशासनले सीमावर्ती बजारमा अनुगमन कडाई गर्नुपर्छ ।’

स्थानीय प्रशासनको फितलो अनुगमनका कारण अखाद्य वस्तु बेच्ने व्यापारीको मनोबल उच्च हुँदै गएको रोकायको भनाई छ । भारतबाट भित्रिने अखाद्य तेल बेच्नेलाई कडा कार्वाही गर्न स्थानीय प्रशासनले चासो नदेखाएको उनको आरोप छ । खुला सिमानाको फाइदा उठाउँदै तस्करले नेपालगन्जमा अखाद्य प्रतिबन्धित खाने तेल भित्र्याउने गरेका छन् ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौला कसैले घरायसी प्रयोजनका लागि एक÷दुई लिटर ल्याएको छ भने व्यवहारिकरुपमा सामान्यतया भन्सार राजस्व नलिएको बताउँछन् । उनले भने, ‘अहिलेसम्म हामीले त्यस्तो चेकजाँच गर्ने गरेका छैनौं । हामीसँग चेकजाँचका लागि प्रविधि पनि छैन र हामीलाई चेकजाँचको अधिकार पनि छैन ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपाली बजारमा भारतीय अखाद्य खानेतेल आयात भइरहेको भन्ने अनुगमन गरेर त्यसमा पूर्णरुपमा रोक लगाउने बताए । ‘यो निकै नै गम्भीर विषय हो । मानव स्वास्थ्यमा असर पार्ने खालका गतिविधि हुन नदिन हामी सचेत छौं । यस विषयमा थप अनुसन्धान गरी अखाद्य खानेतेललाई पूर्ण प्रतिबन्ध लगाउँछु ।’

प्रजिअ भुजेलले भारतीय बजारबाट ल्याइने तेलले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले नेपाल सरकारले प्रमाणित गरेका गुणस्तरीय नेपाली उत्पादन मात्रै प्रयोग गर्न आग्रह गरे । भारतीय तेलको नियम गर्ने निकाय नभएको र जनताको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै सरकारले गतबर्ष नै भारतीय तेल नेपाल आयातमा प्रतिबन्ध लगाइएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतवार १०:३५