सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको गर्मीलाई ‘फलफुल र चिसो’

जेठ । नेपालगन्ज उसैपनि गर्मी हुने ठाँउ । यहाँका स्थानीयबासीहरु गर्मी छल्न विभिन्न उपाय अपनाउने गरेका छन् । स्वास्थ्यका दृष्टिकोणले पनि गर्मीयाममा फलफुल खानु उपयुक्त हुन्छ । फलफुलले गर्मीयाममा शीतलता प्रदान गर्नुका साथै शरीरलाई चाहिने जति पौष्टिक पदार्थ प्रदान गर्ने हुँदा प्रयाप्त मात्रामा फलफुल खान चिकित्सकहरुको सुझाव छ ।

नेपालगन्जको गर्मीबाट राहत पाउन फलफुल र जुस पसलमा भीड लाग्ने गरेको छ । गर्मी बढेसँगै यहाँ फलफुल र चिसोको व्यापार बढेको छ । नेपालगन्जका चोकचोकमा राखिएका फलफुल तथा चिसो पेय पदार्थ विक्रीका लागि राखिएका ठेलाको व्यापार गर्मीले ह्वात्तै बढाएको छ । बाँके र बर्दियाका ग्रामीण क्षेत्रमा उत्पादन भएका काँक्रा र तरबुजा नेपालगन्ज बजारमा ठुलो मात्रामा खपत हुने गरेको छ ।

धम्बोझी चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, पुष्पलाल चोक, विपी चोक, नर्सिङ्ग होम, भेरी अस्पताल लगायतका स्थानमा ठेला तथा फुटपाथमा फलफुल र काँक्रा विक्री गर्नेको भीड लाग्ने गरेको छ । धम्बोझीमा तरबुजा र काँक्राको व्यापार गर्दै आएका सलिम राइले दैनिक १५ सयसम्म विक्री वितरण गर्ने गरेको बताए । बजारमा अहिले काँक्रा, तरबुजा तथा गर्मीयामका फलफुल बढिमात्रामा विक्री हुने गरेका छन् ।

नेपालगन्ज त्रिभुवन चोकमा फलफुल विक्री गर्दै आएका गरिब नवाज फ्रुट सेन्टरका सञ्चालक मोहम्मद वारिसले गर्मी बढेसँगै फलफुलको माग ह्वात्तै बढेको बताए । ‘मुस्लिमहरुको रमजानको रोजा (व्रत) चलिरहेकोले केहीदिन यता फलफुलको माग ह्वात्तै बढेको छ,’ उनले भने, ‘विहान बेलुका केही मात्रामा राहत भए पनि विहान १० बजेदेखि बेलुका ४ बजेसम्म गर्मीले काकाकुल भइन्छ ।’

उनले आफ्नो फ्रुट सेन्टरबाट अनार, स्याउ, केरा, अङ्गुर, तर्बुजा, मेवा, मौस तथा खजुरजस्ता फलफुल बिक्री वितरण गरिरहेका छन् । उनको पसलबाट दिनहुँ रु.१० हजारसम्मको ब्यापार हुन्छ । गर्मी बढेपछि चिसो पेय पदार्थको विक्री पनि उस्तै बढेको छ । चिसो पेयपदार्थ अन्तरगत विभिन्न कम्पनीका सोडायुक्र पेय पदार्थ, लस्सी, दही, दुध, फलफुल तथा उखुको जुस, बदामसेक, आइसक्रिम लगायतको ब्यापार ह्वात्तै बढेको छ ।

सोडायुक्त चिसो पेय पदार्थहरुको पनि खपत बढेको किराना व्यवसायीहरु बताउँछन् । गर्मीयामको चर्को घामलाई छल्न चिसो पेय पदार्थले राहत गर्छ । तर, कतिपय चिसो पेय पदार्थ पिउँदा स्वास्थ्यलाई असर गर्ने हुँदा यसतर्फ सजग रहन स्वास्थ्यकर्मीको सुझाव छ । सोडायुक्त चिसो पेय पदार्थभन्दा सर्वत, काँक्रा, तरबुजाको सेवन गर्न स्वास्थ्यकर्मीको भनाई छ ।

यस्तो छ, दररेट

नेपालगन्जमा अहिले आँप प्रतिकेजी रु.१२० देखि रु.१६० मा विक्री हुँदै आएको छ । खजुर प्रतिकेजी रु.२०० देखि रु.४००, तरबुजा रु.४० देखि रु.८०, अनार रु.१५० देखि रु.१८०, अंगुर रु.२००, स्याउ रु.१८० देखि रु.२००, मौसम रु.१६० देखि रु.१८०, मेवा रु.८० र सुन्तला रु.१६० प्रतिकेजी तथा केरा प्रतिदर्जन रु.८० र भुइँकटहर प्रतिगोटा रु.१०० मा विक्री हुँदै आएको छ ।

त्यस्तै चिसो पेयपदार्थमा दुध प्रतिलिटर रु.६५, दही प्रतिलिटर रु.८०, सोडियमयुक्त चिसो जुस प्रतिबोत्तल रु.४०, उखुको जुस प्रतिगिलास रु.१० र रु.२०, फलफुल जुस प्रतिगिलास रु.८०, रु.१०० र रु.१२०, बदामसेक प्रतिगिलास रु.३० र रु.५०, लस्सी प्रतिगिलास रु.७० र रु.१०० र रु.१२०, आइसक्रिम प्रतिकुल्फी, रु.१० देखि रु.१५० सम्ममा विक्री भइरहेको छ । तर पसल र बस्तुको गुणस्तर अनुसार दररेट केही फरक पर्न सक्ने जुस व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार ०९:४०