सूचनाको शक्ति - The Power Of Information

        

मालपोतमा कर्मचारी अभाव, कहाँ हराए सरुवा भएर आएका चार शाखा अधिकृत ?

फाइल तस्वीर

बाँके । सरकारी जग्गा निजी व्यक्तिका नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा मालपोत कार्यालय नेपालगन्जका पाँच जना कर्मचारी चैत्र ४ गते प्रहरीको फन्दामा परे । मालपोत कार्यालय बाँकेका नायव सुब्बा रुद्र देवकोटा, टंक शर्मा र रामबहादुर खड्का, कम्प्युटर अप्रेटर यज्ञश्वर वली र प्रेम चन्दलाई प्रहरीले नियन्त्रणमा लिएपछि लामो समयदेखि कार्यालयको काम प्रभावित भइरहेको छ ।

सेवाग्राहीको धेरै भिडभाड हुने कार्यालयमा एकैपटक पाँचजना कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या भएपछि विभागमा कर्मचारी अभाव रहेको भन्दै मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले जानकारी गराए । कर्मचारी अभावका कारण दुई महिनादेखि अस्तब्यस्त रहेको कार्यालयमा चार जना शाखा अधिकृतको सरुवा भएर आएको पत्र आयो ।

कार्यालय प्रमुख दौल्यालका अनुसार सरुवा भएका चार जना शाखा अधिकृतको सरुवाको पत्र कार्यालयमा आएको डेढ महीना भइसक्यो । तर सरुवा भएर आएका शाखा अधिकृत हालसम्म पनि कार्यालयमा हाजिर भएका छैनन् । कार्यालय प्रमूख दौल्यालले भने, ‘सरुवाको पत्र आएको लामो समय भइसक्यो, शाखा अधिकृतहरु हाजिर हुन आउनुभएको छैन ।’

कार्यालयमा एक उपसचिव र पाँच जना शाखा अधिकृतको दरबन्दी छ । तर दुई महिनादेखि एकजना पनि शाखा अधिकृत नभएपछि दैनिक कामकाजमा समस्या उत्पन्न भएको छ । जसका कारण कार्यालय प्रमुख दौल्यालमाथि कामको चाप बढेको छ । एक जना पनि शाखा अधिकृत नभएपछि तोक, सनाखत प्रमाणीकरणदेखि मुद्दा फाँटसम्म प्रमु्ख दौल्यालले हेर्दै आएका छन् ।

प्राविधिक कर्मचारी नहुँदा सेवा प्रवाहमा केही समस्या भए पनि आफुहरु सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिने प्रयत्न भइरहेको उनले बताए । ‘सेवा प्रवाहमा समस्या त देखिएकै छ, हामीले सेवाग्राहीलाई समस्या आउन नदिन सबै फाँटमा पुगेर काम गर्दै आएको छु,’ कार्यालय प्रमूख दौल्यालले भने, ‘चार जना शाखा अधिकृत कहिले हाजिर हुने भन्ने टुङ्गो छैन ।’

सरकारी जग्गा ब्यक्तिको नाममा किर्ते गरेको अभियोगमा पहरी पक्राउ गरेका कर्मचारीहरु जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको कामकाज प्रभावित भएको छ । चारजना शाखा अधिकृतसहित दुई खरिदार, दुई प्राविधिक र कार्यालय सहयोगी एक/एक जना गरी १० जना कर्मचारीलाई घटनामा संलग्नताको आरोप लागेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १७:५६