सूचनाको शक्ति - The Power Of Information

        

५४२ उम्मेदवारको भाग्य ‘ब्यालेट बक्स’मा, यस्तो छ १० राज्यको एक्जिट पोल

भारतीय लोकसभा निर्वाचन

काठमाडौं । आइतबार सातौं तथा अन्तिम चरणको मतदान सकिएसँगै भारतमा ६ साता लामो आम निर्वाचन औपचारिक रुपमा सम्पन्न भएको छ । तल्लो सदन लोकसभाको ५४२ सिटका लागि भएको निर्वाचनको अन्तिम परिणाम भने आगामी बिहीबारबाट आउन शुरु हुनेछ । मतपरिणाम सार्वजनिक हुनुअघि संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक व्यवस्था भएको मुलुक भारतमा कुन दल र कुन नेता सबैभन्दा शक्तिशाली भएर उदाउलान् भन्ने चासो भारतमा मात्र नभएर सारा विश्वभर छ ।

यही मोहौलमा सत्तारुढ भारतीय जनता पार्टी भाजपा तथा विपक्षी कांग्रेस पार्टीसहित अन्य क्षेत्रीय दलहरु चुनावी होडमा छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्री कार्यकालको जनमत सङ्ग्रहका रुपमा लिइएको यो चुनाव निकै नै प्रतिस्पर्धात्मक हुने विश्लेषण गरिएको छ । भाजपा यसअघि सन् २०१४ मा भएको निर्वाचनको जस्तै नतिजा दोर्होयाउने लक्ष्यमा छ । सन् २०१४ को निर्वाचनमा भाजपाले २८६ सिटमा विजयी भएको थियो । त्यतिमात्र होइन, भाजपा आबद्ध नेशनल डेमोक्र्या्टिक अलायन्सले मात्रै ३३६ सिटमा विजयी भएको थियो ।

सरकार निर्माण गर्न केबल २७२ सिट भए पुग्नेमा भाजपाको यो विजय निकै नै महत्वपूर्ण थियो । यता कांग्रेस पार्टी भने त्यसको ठिक विपरीत लक्ष्यमा छ । कांग्रेस कुनै पनि हालतमा सन् २०१४ को जस्तो नतिजा आओस् भन्ने पक्षमा देखिँदैन । त्यस निर्वाचनमा कांग्रेस पार्टीले इतिहासकै सबैभन्दा नराम्रो पराजय व्यहोरी केबल ४४ सिटमा सिमित बनेको थियो । कांग्रेस पार्टीको लक्ष्य अवश्यपनि, सबैभन्दा ठूलो पार्टी बन्नु रहनेछ । तैपनि त्यो सहज नभएको विश्लेषण गरिन्छ ।

विश्लेषकहरुका अनुसार यो चुनावमा कांग्रेसले सरकार नै बनाउने गरी नतिजा हात पार्ने सम्भावना निकै कम छ । यद्यपि कांग्रेसले यसअघिको चुनावको भन्दा केही बढी सिट जितेर विपक्षमै भएपनि यसअघि भन्दा धेरै प्रभावशाली बन्नसक्ने सम्भावना भने उच्च रहेको विश्लेषण गरिन्छ । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो ५ वर्षमा भारतीय राजनीतिको मुख्य भूमिकामा छन् । उनको हिन्दू राष्ट्रवादी व्यक्तित्व र नेतृत्व क्षमतालाई नै विश्वास गरेर सन् २०१४ मा भाजपाले बहुमत पाएकोमा सायदै दुइमत होला ।

तर, छैठौं ठूलो अर्थतन्त्र रहेको भारतमा अपेक्षा अनुसार अर्थतन्त्रले गति लिन नसकेको, युवाका लागि रोजगारी सिर्जना गर्न नसकेको तथा किसानहरुले आफ्नो उब्जनीको राम्रो मोल पाउन नसकी ऋणमा डुबेको जस्ता समस्याले भारतीय जनताको आम जनजीवनलाई प्रभावित बनाउँदै आएको बताइन्छ । त्यसबाहेक कट्टर हिन्दू राष्ट्रवादी तथा दक्षिणपन्थी छविका कारण उनको कार्यकालमा भारत धार्मिक रुपमा विभाजित भएको भन्दै उनको आलोचना समेत हुँदै आएका छन् ।

यस्ता कारणले गर्दा प्रधानमन्त्री मोदीको भाजपाले अघिल्लो चुनावको भन्दा कमजोर प्रदर्शन गर्ने सम्भावना रहेको बताइन्छ । अघिल्लो वर्ष भएका राज्यस्तरको चुनावमा भाजपा पराजित भएबाट पनि उसका लागि यो चुनाव शुभ नरहेको देखिन्छ । यता कांग्रेस पार्टी भने सरकारका यस्ता कमजोरीको फाइदा उठाउने दाउमा छ । कुनै समय कांग्रस पार्टीमा नेतृत्वको अभाव रहेको भन्दै आलोचना हुने गरेको थियो । तर, अघिल्लो वर्ष भएका राज्यस्तरका निर्वाचनमा भाजपालाई पराजित गरेसँगै कांग्रस पार्टी र पार्टी प्रमुख राहुल गान्धीमा बेग्लै उत्साह थपिएजस्तो देखिन्छ । उनी आफ्नो नेतृत्व क्षमतालाई अझ विकास गर्दै दिन प्रतिदिन परिपक्व हुँदै गइरहेका छन् ।

तर, यो मात्र कांग्रेसले चुनाव जित्न पर्याप्त नहुने बताइन्छ । राहुल गान्धीको व्यक्तित्व जस्तो भएपनि प्रधानमन्त्री मोदीको जस्तो प्रभावशाली छैन । त्यसबाहेक कांग्रेस पार्टी आबद्ध युनाइटेड प्रोग्रेशिभ अलायन्स गठबन्धनले निर्वाचनमा बहुमत नै ल्याएपनि गठबन्धनमा आबद्ध अन्य पार्टीले राहुल गान्धीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सम्भावना कम छ । चुनावी समयमा पार्टी र गठबन्धनका लागि यो राम्रो कुरा होइन । अर्कोतर्फ यो निर्वाचनमा यी दुई ठूला मध्ये कुनै पनि पार्टी वा गठबन्धनले स्पष्ट बहुमत ल्याउन नसकेमा क्षेत्रीय स्तरमा निकै नै प्रभावशाली मानिने साना दलहरु मूलधारको भारतीय राजनीतिमा पुनः प्रभावशाली भएर उदाउने छन् ।

खासगरी स–साना पार्टीहरु मिलेर हालै गठन गरिएको महागठबन्धन नामक गठबन्धनमा आबद्ध दलहरुले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेको अवस्थामा मौकाको फाइदा उठाउन सक्नेछन् । पछिल्लो समय भारतीय राजनीतिमा सबैभन्दा महत्वपूर्ण राज्य उत्तर प्रदेशमा महागठबन्धनमा आबद्ध पार्टीहरुले राम्रो प्रदर्शन गर्ने सर्वेक्षण गरिएको छ । भनिन्छ, जसले उत्तर प्रदेश जित्छ, उसले भारतीय चुनाव पनि जित्छ । यसअघिको निर्वाचनमा भाजपा आबद्ध गठबन्धनले उत्तर प्रदेशका ८० मध्ये ७१ सिट जितेको थियो तर त्यहाँका प्रभावशाली दुई दल समाजवादी पार्टी र बहुजन समाज पार्टी आबद्ध महागठबन्धनले भाजपालाई नराम्रो झट्का दिनसक्ने सम्भावना छ ।

यो महागठबन्धन कांग्रेस पार्टीसँग औपचारिक रुपमै नभएपनि भाजपालाई पराजित गर्ने उद्देश्यका साथ ‘ट्याक्टिकल’ रुपमा कांग्रेस पार्टीसँग नजिक छ । यसले पनि भाजपालाई टाउको दुखाई बन्न सक्छ । तैपनि इतिहासमा भारतीय राजनीतिमा अप्रत्याशीत नतिजा नआएका भने होइनन् । सोही कारण यो निर्वाचनमा यो पार्टीले नै सरकार निर्माण गर्ला भनिहाल्न सक्ने अवस्था छैन । चुनावपछिको सरकार निर्माण र संसदीय समिकरणका लागि भने अन्तिम नतिजा कुर्नुको विकल्प भने छैन ।

कुन राज्यमा कसले जित्छ ? यस्तो छ १० राज्यको एक्जिट पोल

आइतबारबाट मतदान सकिएसँगै भारतीय लोकसभा निर्वाचनका एक्जिट पोलहरु आउन सुरु भएको छ । एक्जिट पोलहरुका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखाएको छ । यससँगै नरेन्द्र मोदी फेरि भारतको प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ । एक्जिट पोलमा कुन राज्यको स्थिति कस्तो छ? भन्ने कुरालाई पनि चासोका साथ हेरिएको छ । यस्तो छ, भारतका दश राज्यको एक्जिट पोलको अवस्था :

बिहार

टाइम्स नाउ र बीएमआरको एक्जिट पोलका अनुसार बिहारमा भाजपा नेतृत्वको एनडीएलाई ३० र कांग्रेस नेतृत्वको यूपीएलाई १० सिट प्राप्त हुने अनुमान गरिएको छ । यस्तै जन कि बातको एक्जिट पोल अनुसार एनडीएले २९, यूपीएले १० सिट र अन्यले एक सिट जित्ने अनुमान छ । यसैगरी सि भोटरको एक्जिट पोल अनुसार एनडीएले ३३ र यूपीएमा सात सिट जित्ने अनुमान गरिएको छ ।

महाराष्ट्र

टाइम्स नाउ र बीएमआरको एक्जिट पोल अनुसार महाराष्ट्र राज्यमा भाजपा नेतृत्वको एनडीएले ३८ र कांग्रेस नेतृत्वको यूपीएले १० सिट जित्ने अनुमान गरिएको छ । यस्तै सी भोटरको एक्जिट पोल अनुसार एनडीएले ३४ र युपीएले १४ सिट जित्ने अनुमान छ । माई एक्सिसको एक्जिट पोल अनुसार महाराष्ट्रमा एनडीएलाई ४० र यूपीएलाई केवल ८ सिट मात्रै प्राप्त हुने अनुमान गरिएको छ ।

दिल्ली

इन्डिया टुडे र एक्सिसको एक्जिट पोल अनुसार दिल्लीका सात सिटमध्ये भाजपालाई ६ देखि ७ र कांग्रेसलाई बढीमा एक सिटमात्रै प्राप्त हुने अनुमान छ ।

कर्नाटक

टाइम्स नाउ र बीएमआरको एक्जिट पोल अनुसार भाजपा नेतृत्वको एनडीएले २१ र कांग्रेसले सात सिट जित्ने अनुमान छ । यस्तै माई एक्सिसको एक्जिट पोल अनुसार भाजपाले २३ र यूपीएले ४ सिट जित्ने अनुमान छ भने न्यूज नेशनको एक्जिट पोल अनुसार एनडीएले १८ र यूपीएले १० सिट जित्ने अनुमान छ ।

मध्यप्रदेश

एबीपी न्यूज र नीलसनको एक्जिट पोल अनुसार मध्यप्रदेशका २९ सिटमध्ये भाजपालाई २४ सिट प्राप्त हुनसक्ने अनुमान छ । कांग्रेसलाई केवल पाँच सिट मात्रै प्राप्त हुने अनुमान गरिएको छ ।

पश्चिम बंगाल

टाइम्स नाउ र बीएमआरको एक्जिट पोल अनुसार भाजपाले ११, कांग्रेसले दुई र अन्य दलले २९ सिट जित्न सक्ने अनुमान छ । यस्तै सि भोटरको एक्जिट पोल अनुसार भाजपालाई ११, कांग्रेसलाई दुई र अन्यलाई २९ सिट प्राप्त हुन सक्नेछ । यसैगरी जन की बातको एक्जिट पोलका अनुसार भाजपाले २२, कांग्रेसले ३ र अन्य दलले १७ सिटमा जित हात पार्ने अनुमान छ ।

उत्तराखण्ड

एबीपी न्यूज र नीलसनको एक्जिट पोल अनुसार उत्तराखण्डमा भाजपाले चार र कांग्रेसले एक सिट जित्ने अनुमान छ ।

गुजरात

एबीपी न्यूज र नीलसनको एक्जिट पोल अनुसार गुजरातको २६ सिट मध्ये भाजपाले २४ र कांग्रेसले दुई सिट जित्ने अनुमान गरिएको छ ।

उत्तर प्रदेश

एबीपी न्यूज र नीलसनको एक्जिट पोल अनुसार उत्तर प्रदेशमा भाजपाले २२, कांग्रेसले दुई र समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनले ५६ सिट जित्ने अनुमान गरेको छ । यस्तै सी भोटरका अनुसार भाजपाले ४६, कांग्रेसले दुई र सपा–बसपाले १५ सिट जित्ने अनुमान छ । यसैगरी सुवर्णा न्यूजको एक्जिट पोल अनुसार भाजपाले ५१, कांग्रेसले ३ र सपा–बसपाले २६ सिट जित्ने अनुमान गरिएको छ ।

राजस्थान

टाइम्स नाउ र बीएमआरको एक्जिट पोल अनुसार राजस्थानमा भाजपाले २० सिट कांग्रेसले ४ सिट मात्रै जित्ने अनुमान छ । यस्तै न्यूज २४ चाणक्यको एक्जिट पोलका अनुसार राजस्थानमा भाजपाले २५ सिट र कांग्रेसले एक सिट पनि नजित्ने अनुमान छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार ०८:१३