राधा पोखरेल
युद्ध शब्द आफैँमा भयानक लाग्छ । साह्रै अप्रिय र कर्णकटु लाग्छ । तर बिडम्बना, मानव सभ्यताको अधिकांश इतिहास युद्धले भरिएको छ । नेपालको इतिहास पनि त्यसको अपवाद छैन । पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरणको युद्ध भनौं वा राणा शासन बिरूद्ध नेपाली काँग्रेसले गरेको लडाइँ वा पन्चायत बिरूद्ध अहिलेका एमाले नेताहरूले गरेको संघर्ष वा पछिल्लो माओवादीको नेतृत्वमा भएको जनयुद्ध ।
यी सबै युद्ध र आन्दोलनहरूमा गरेर हजारौं हजार मानिसहरूको ज्यान गएको छ । लाखौं लाखको अंगभंग भएको छ । नानीहरू टुहुरा भएका छन्, आमाहरूको काख रित्तिएको छ, चेलीहरूको सिन्दुर पुछिएको छ । घरबार बिहीन भई विस्थापित हुनेहरूको त कुरै नगरौं । तर पनि समयसँगै सबैले आफूलाई सम्हाल्दै आएका छन् । किनकि, यी सबै देशको लागि थियोस परिबर्तनका लागि थियो ।
तर अचेल मान्छेमा नैतिकता स्खलित भइरहेको छ । मानवता मरिरहेको छ । आशा निराशामा रूपान्तर भइरहेको छ । सरकार सुतिरहेको छ । हामी नागरिक तमासे बनिरहेका छौं । अझ यसो भनौं, हामी सबै आ–आफ्नो स्वार्थमा ब्यस्त छौं । आ–आफ्नै खुसीमा मस्त छौं । आजकल आफूजस्तै अरू मान्छेको दुःखले हाम्रो मुटु दुख्दैन । पीडा र वेदनाले हाम्रो मन रूँदैन । मानौं हामी मान्छे होइनौं, चौरास्ताको शालिक हौं ।
व्यक्ति–व्यक्तिमा विश्वासको संकट, घरघरमा विग्रह, समाजमा मूल्य, मान्यताको विघटन आजको नेपाली समाजको विशेषता बन्न पुगेको छ । देशको शैक्षिक तथ्यांक हेर्दा वर्षै्पिच्छे साक्षर, शिक्षित र उच्च शिक्षा हाँसिल गर्नेहरूको संख्या बढेकै छ । तर समाजमा विकृति विसंगतिको ग्राफ दिनानुदिन बढिरहेको छ ।
मागेजति दाइजो पाइँन भनेर श्रीमतीलाई जिउँदै आगो लगाउने, सम्पत्ति कमाउने र अंश खाने छोरो जन्माइन भनेर श्रीमतीलाई यातना दिने, दाजुभाइमा अंशको लोभमा काटमार गर्ने, सम्पत्तिको लोभमा आफैँलाई जन्मदिने आमाबाबुलाई बृद्धाश्रममा लगेर बिचल्ली पार्ने, जतिसुकै अनैतिक तबरले वा हत्याहिंसा गरेर भए पनि सम्पत्ति कमाउने जस्ता कामहरू पनि समाजमा भइरहेको छ ।
त्यस्तै सानाले ठुलाको सम्मान नगर्ने, ठुलाले सानोलाई मायाँ नगर्ने, आपतमा एकले अर्कालाई सहयोग नगर्ने, समाज र देशको भन्दा आफ्नोमात्र हित हेर्नेजस्ता अराजक र स्वार्थीहरू पाइलैपिच्छे भेटिन थालेको छ । अवसर र जिम्मेवारीको नाममा बाबुआमा र पुरानो पुस्तालाई बेवारिस बनाउनु चाहिँ नैतिकता र मानवीय मूल्य गुमाउनु हो । जब मान्छेमा नैतिकता र मानवीयता बाँकी रहन्न तब मान्छे, मान्छे नभएर पशु बन्दछ ।
आमाबाबु भनेका जिउँदो भगवान हुन् भने पुरानो पुस्ता भनेको जिउँदो इतिहास । घरको भगवानलाई सधैं रूवाएर मन्दिरमा राखिएको पत्थरको भगवान पुज्नुको के अर्थ ? जिउँदो इतिहासको मानमर्दन गरेर इतिहासको पोथा कण्ठ पार्नुको के अर्थ ? आखिर किन यस्तो भइरहेको छ ? यसको जिम्मेवार को हो ? अनि समाधान के हुन सक्दछ ? पहिलो कुरा भौतिक परिवेश हो । गरिबी र बेरोजगारी हाम्रो देशको मुख्य समस्या हो ।
बर्षेनी ५ लाख युवाहरू श्रम बजारमा आउने गर्छन् । त्यसमध्ये बढीमा एक लाखले मात्र रोजगारी पाउँछन् । बाँकी चार लाख युवाहरू बेरोजगार हुन्छन् । त्यसको मुख्य कारण भनेको जीवनोपयोगी प्राविधिक शिक्षा नहुनु हो । हाम्रो शिक्षा नीति र शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेको छ । तसर्थ, सबभन्दा पहिला हाम्रो शिक्षा नीति परिवर्तन गर्न जरूरी छ ।
त्यस्तै, देशभित्रै सरकारले रोजगारी सिर्जना गरी बिदेश जाने युवाहरू र देशभित्रै कुलत, दुर्व्यसन र विकृति, विसंगतिमा लागेका युवाहरूलाई काममा लगाउनुपर्दछ । दोश्रो कुरा, हामीमा श्रम संस्कृति हराउँदै गइरहेको छ । काम गरेर खाने सानो र ठगेर, ढाँटेर, भ्रष्टाचार गरेर खाने ठूलो मान्छे हुन्छ भन्ने संस्कृति मैलाइरहेको छ । यसमा हाम्रो घरपरिवार, समाज, शिक्षा र सरकार सबैको दोष देखिन्छ ।
श्रमविना प्राप्त सम्पत्ति भ्रष्टाचार हो, भ्रष्टाचार अपराध हो भन्ने सन्देश कतैबाट पनि नयाँ पुस्तालाई दिन सकिएको छैन । चिहान खोतलेर अपराधी करार गर्दै जाने होभने बिस्तारै खाटा बस्दै गरेको घाउ उकुच नपल्टेला भनेर कसरी भन्ने ? बदलाभावले परिवार,समाज,देश कहिँ पनि शान्ति ल्याउँदैन । बदलाभावको अनिबार्य परिणती हत्या, हिंसा र द्वन्द नै हो । के हामी फेरि अर्को द्वन्द चाहन्छौं ? पक्कै चाहँदैनौं । हामी चाहन्छौं, एकता, शान्ति र समृद्धि ।
मान्छे, क्षमाशील प्राणी हो । त्यही भएर ठुलाठुला युद्धपछि पनि मान्छेले मिलेर सुन्दर सभ्यताहरूको सिर्जना गरेका छन् । मलाई लाग्छ, बुद्धभूमिका हामी नेपालीहरू झनै बढी क्षमाशील छौं । मेरो अनुरोध छ, हामी अझै क्षमाशील बनौं । एकता, शान्ति र समृद्धिको लागि सबै मिलेर अघि बढ्दै समाजमा असल संस्कृति निर्माण गर्दै सभ्य सुसंस्कृत समाजको निर्माण गरौं । (लेखिकाको फेसबुक पेजबाट)
राधा पोखरेल - ।