बाँके । नेपाल प्रहरीले पाँच किलो चरेशसहित भारतीय नागरिक देवीदिन विकलाई पक्राउ गरेपछि बाँकेको नरैनापुर असान्त बनेको छ । विक पक्राउ परेलगत्तै उनलाई छोड्न दवाव दिँदै स्थानीयहरुले प्रहरी चौकी घेरा हाल्दै ढुंगामुढासमेत गरेका छन् ।
प्रतिबन्धित लागुऔषध कारोबारी छुटाउन स्थानीयहरुले ढुंगामुढा गरेपछि हवाई फायरसमेत भएको छ । चरेशसहित पक्राउ परेका विकलाई पक्राउपछि मुचुल्का गरेर नेपालगन्ज ल्याउँदै गर्दा कारोबारीहरुको उक्साहटमा स्थानीयहरुले प्रहरीको गाडी तोडफोड गरेका छन् ।
चरेशसहित पक्राउ परेका भारतीय नागरिक विकलाई छुटाउन माग गर्दै स्थानीयहरुले प्रदेश सांसद कृष्ण केसी नमुनालाई पनि घेराबन्दी गरेका थिए । आफ्नो निर्वाचन क्षेत्रमा नयाँगाउँ र खयरभट्टी पुगेर फर्किने क्रममा कारोबारीलाई छुटाउन माग गर्दै स्थानीयहरुले उनलाई घेराबन्दी गरेका थिए ।
नरैनापुर गाउँपालिका कार्यालय नजिकै पसल गर्ने भारतीय व्यवसायीका विकको साथबाट चरेश नियन्त्रणमा लिएपछि स्थानीयहरु आक्रोशित बनेका थिए । स्थानीयहरुले पक्राउ परेका विकलाई रिहा गर्न माग गर्दै प्रहरी चौकी घेरा हालेपछि नेपालगन्जतर्फ आउँदै गरेकी प्रदेश सांसद केसीको गाडीसमेत तोडफोड गरेका थिए ।
सांसद केसीले फोनमार्फत दिएको जानकारी अनुसार चरेशसहित प्रहरी नियन्त्रणमा रहेका भारतीय व्यवसायीलाई मुक्त गराउन माग गर्दै स्थानीयहरुले गाडी तोडफोड गरेका थिए । स्थानीयबासीहरुका साथै सीमावर्ती क्षेत्रबाट आएका भारतीय नागरिकहरुले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
सांसद केसीसहितको टोलीलाई प्रहरीले स्कटिङ्ग गरेर पठाइसकेको छ भने सो घटनामा सशस्त्र प्रहरीका दुई जना घाइते भएको बुझिएको छ । स्थिति तनावपूर्ण बन्दै गएपछि थप सुरक्षाका लागि जिल्लाबाट गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । प्रहरीका अनुसार हिंसात्मक घटना हुन नदिन सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ ।
सत्यपाटी - ।