सूचनाको शक्ति - The Power Of Information

        

नेकपाका केन्द्रीय नेताले आफ्नै छोरालाई जिल्ला सदस्य बनाएपछि…

बाँके । नेपाल कम्युनिष्ट पार्टीको सदस्यता सम्बन्धी विधानले गरेको व्यवस्था विपरित केन्द्रीय सदस्य दिनेशचन्द्र यादवले आफ्नै छोरा विक्रम यादवलाई जिल्ला कमिटी सदस्य बनाएपछि बाँकेमा असन्तुष्टि देखिएको छ ।

जिल्ला कमिटीले पूर्णता पाएसँगै बुवा केन्द्रीय सदस्य भएकै कारण जिल्ला सदस्य हुन योग्यता नै नपुगेका विक्रमलाई जिल्ला कमिटी सदस्य बनाएपछि तत्कालिन एमालेका नेता कार्यकर्ताबीच असन्तुष्टि देखिएको छ ।

‘बुवा केन्द्रीय सदस्य भएकै कारण योग्यता नपुगेका छोरालाई जिल्ला सदस्य बनाइयो,’ नेकपा बाँकेका एक नेताले भने, ‘केन्द्रीय सदस्य भइसकेको व्यक्तिले पार्टीको विधान ख्याल गर्नुपर्दैन ? कि केन्द्रीय सदस्यलाई पार्टीको विधान पढ्नै आउँदैन ?’

पूर्व एमालेका अग्रज नेताहरु शम्सुद्दिन सिद्दिकी, नन्दलाल सिंह सिजापति लगायत जिल्ला कमिटीमा अट्न नसकेका बेला दवावमा छोरालाई जिल्ला सदस्य बनाएको भन्दै केन्द्रीय सदस्य यादवको पार्टीभित्र चर्को आलोचना भएको छ ।

‘बुवाको दवावमा योग्यता नै नपुगेका छोरालाई कसरी जिल्ला सदस्य बनाइयो, यसले पार्टीलाई कुन दिशातर्फ लैजान्छ, यसतर्फ ध्यान दिनुपर्दैन,’ एकजना नेताले भने, ‘पार्टीभित्र विधी र प्रक्रिया हेर्ने कि नातागोता खोज्दै हिड्ने ?’

बुवाकै निगाहमा स्थानीय तहको निर्वाचनमा विक्रमले नरैनापुर गाउँपालिकाको अध्यक्षमा टिकट पाएका थिए । सो निर्वाचनमा नराम्रोसँग पराजय भोगेका विक्रमलाई योग्यताको ख्यालै नगरी पटक–पटक अवसर दिइएको भन्दै पार्टीभित्र आलोचना भइरहेको छ ।

२०७० मा पिता दिनेशचन्द्र अत्याधिक मतले सांसद निर्वाचित भएको क्षेत्रमा विक्रमले गाउँपालिकाको अध्यक्षका लागि टिकट पाउँदा पार्टीले एउटा सदस्य पनि जित्न सकेको थिएन । सो समयमा पनि विक्रमलाई गाउँपालिकामा अध्यक्षको उम्मेद्वार बनाएपछि आलोचना भएको थियो ।

नेकपाका नेता प्रमोद धितालका अनुसार, नेकपाको बिधानमा पार्टी जिल्ला कमिटीको सदस्य हुन मधेसी, मुस्लिम, महिलालाई पार्टी सदस्यता प्राप्त गरेको कम्तिमा चार बर्ष पूरा भएको हुनुपर्ने ब्यवस्था भए पनि विक्रमले भने पार्टी सदस्यताका लागि दिएको आवेदन भर्खरै स्वीकृत भएर आएपनि सपथग्रहण नै गर्न पाएका छैनन् ।

पार्टीभित्र मनपरी गर्न मिल्दैन । योग्यता र क्षमता भएका व्यक्तिहरु जिल्ला कमिटीमा अट्न सक्नुभएको छैन । तर पार्टीको विधान विपरित पारिवारिक नाता सम्बन्धका आधारमा विक्रमलाई जिल्ला सदस्य बनाएको विषयमा आगामी जिल्ला कमिटी बैठकमा समेत कुरा उठाउँछौं,’ तत्कालिन एमालेका नेताहरु बताउँछन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार १६:३१