दासढुङ्गा (चितवन) । हेर्दा भित्रबाट नै मन अमिलो बनाएजस्तो गरी उभिएका दुई शालिक । एउटाको घाँटीमा बाँधिएको खादा । अर्को, शालिकको टाउकोमा रहेको टोपी खुस्किन तयार भएजस्तै अवस्था । फराकिलो सडकमा एकाहोरो हुइँकिने गाडीको आवाज ।
तलतिर चुपचाप बगिरहेको नारायणी नदी । वर्षौंदेखि घामपानी, हावाहुरी झेल्दै केही आशामा उभिरहेको जस्तो लाग्ने जननेता मदन भण्डारी र जीवराज आश्रितका दासढुंगामा अलपत्र छन् शालिकहरु । केही वर्षअघि नै दुवै नेताको शालिकका चश्मा तोडिए ।
तत्कालीन एमाले विभाजन हुँदा बनेको मालेले स्वर्गीय नेताद्वय भण्डारी र आश्रितका शालिकसहितको केही संरचना बनायो । मदन–आश्रितको शालिक भएको स्थानभन्दा केहीपर जीप खसेको स्थानसम्म जान बार लगाएर पेटी तयार गरियो । त्योभन्दा बढी कसैले केही गरेको छैन । मदन भण्डारी र जीवराज आश्रितको निधन भएको केही वर्षपछि मदन–आश्रित स्मृति विश्रामस्थलको नाममा एउटा समिति बन्यो ।
समितिको अध्यक्ष बनेका जागृतप्रसाद भेटवालको केही वर्षअघि निधन भयो । सो समितिले दुर्घटनास्थलभन्दा उत्तरतर्फ रहेको स्वर्गीय सूर्यबहादुर मास्केको करिब दुई विगाहा जग्गा १० लाख रुपैयाँमा किन्यो र त्यहाँसम्म पुग्ने सडक बनायो । शालिक रहेको स्थानमा सामान्य जाली लगाउने बाहेक अरू काम भएन । सो समितिका उपाध्यक्ष रहेका बद्री अधिकारी समितिको स्मृति पनि धुमिल भएको बताउँछन् ।
समिति अहिले पूर्णरूपमा निष्कृय छ । मदन भण्डारी र जीवराज आश्रितको दुर्घटना हुँदा तत्कालीन नेकपा एमालेको जिल्ला अध्यक्ष रहेका नेता विजय सुवेदी पार्टीले सत्तामा जाँदासमेत दासढुंगा दुर्घटनाको छानविन र सो क्षेत्रको पूर्वाधार निर्माणमा त्यति चासो नदिएको भन्दै आफू दुखी भएको बताउँछन् ।
‘सबैले कुराका लागि कुरा गरे, कामका लागि कुरा गरेनन् केन्द्रीय नेताको प्राथमिकतामा समेत परेन,’ प्रदेश सभाका सांसदसमेत रहेका सुवेदीले भने, ‘प्रि–प्लानसहित जिम्मेवारीपूर्वक काम गर्ने कुनै पनि निकाय भएनन्, पार्टीले पनि यसबारेमा केही सोचेन । दासढुंगा र गाँजीपुर क्षेत्रको विकास कसरी गर्ने भन्ने बारेमा कुनै गुरूयोजना छैन ।’
दास ढुंगामा रहेका मदन भण्डारी र जीवराज आश्रितका शालिकले सडकमा यात्रा गर्ने यात्रुहरुलाई स्मरण गराइरहेका छन्, ०५० साल जेठ ३ गते । अर्थात् नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठक जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा निधन भएको दिन । दासढुंगाकाण्ड भनेर चिनिने यो घटना भएको २६ वर्ष पुग्यो ।
हरेक वर्ष जेठ ३ गते तत्कालीन एमाले आवद्ध स्थानीय नेता–कार्यकर्ता दासढुंगा पुग्ने गर्दछन् । वर्ष दिनको श्राद्ध गरेजस्तै नेताद्वयको शालिकमा फूलमाला चढाउँछन्, मुठ्ठी कस्छन् र फर्किन्छन् । त्यसपछि यो स्थान कुर्ने तिनै शालिकबाहेक कोही हुँदैन । कसैले वास्ता गर्दैन । कसैले संरक्षण गरेको पनि छैन । नदी किनारको छेउमा लगेर थन्काइदिएको जस्तो अनूभुति हुन्छ ।
मदन भण्डारीले राजनीति सिकाएका र सँगै काम गरेका नेता अहिले हेलिकोप्टर चढ्ने भएका छन् । उनीहरूसँग सडकमा गुड्ने समय छैन । सडकमा गुड्ने जनताले सास्ती पाउँछन् । आकाशमा उड्ने नेताहरुले मस्ती गर्छन् । स्वर्गीय नेताको स्मृतीमा हुने कार्यक्रममा कुनै केन्द्रीय नेता आउन आवश्यक ठान्दैनन् । उनीहरूको रोजाई र प्राथमिकतामा दासढुंगा कहिल्यै पर्दैन ।
नेपाली राजनीतिका सर्वा्धिक चर्चित नेताको रहस्यमय ढंगबाट अवसान भएको यो ठाउँको विकासमा पटक–पटक सत्ताको नेतृत्व गरेको साविक एमाले र हालको नेकपाका नेताले यी शालिकको संरक्षणमा सुको पैसा खर्च गरेका छैनन् । नजिकै एउटा मोटर हिँड्ने पुल बनेको छ । बन्दाबन्दै यही पुललाई पनि हावाले उडाइदियो । पछि बनेको पुल अहिलेसम्म उद्घाटन भएको छैन ।
पुलले देवघाटका जनतालाई राहत पक्कै भएको छ । तर, दुर्घटनास्थल क्षेत्रको विकासमा अरू चासो छैन । मदन भण्डारीको नाम भँजाएर गफको रास लगाउने धेरै छन् । गुट चलाउने पनि छन् । संघसंस्था खोल्ने बग्रेल्ती छन् । तर, मदन–आश्रितको रहस्यमय मृत्यु भएको दासढुंगा सधैं उपेक्षामा परेको छ । स्वर्गीय नेता मदन भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी एक कार्यकाल राष्ट्रपति बनेर दोस्रोपटक अहिले पनि राष्ट्रपति छिन् ।
दासढुंगा दुर्घटनापछि तत्कालीन एमालेबाट मनमोहन अधिकारीदेखि केपी ओलीसम्म चारजना प्रधानमन्त्री बने । सरकारको नेतृत्व पाँच पटक गरे । पटक–पटक अरूको नेतृत्वमा भएपनि तत्कालिन एमालेले सत्ताको गुलियो खान छाडेन । तर, दासढुंगालाई सबैले उपेक्षाको नजर लगाए । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले नारायणगढ–मुग्लिन सडकखण्डको नाम ‘रामराजाप्रसाद सिंह’ राखिदिए ।
सत्यपाटी - ।