सूचनाको शक्ति - The Power Of Information

        

ओभरलोड गाडीलाई एसपीको ‘लाइन’, जहाँ प्रदेशबाटै खटाइन्छ पोष्ट इन्चार्ज

सत्यभित्रको अर्को सत्य

‘पूर्वी क्षेत्रबाट शमशेरगन्ज हुँदै ओभरलोड भएर आउने ट्रिपर तथा ट्रयाक्टरहरुलाई सेटिङ् मिलाएर छाडिदिने एसपीको निर्देशन छ,’ प्रदेश ट्राफिक प्रहरी स्रोतले भन्यो, ‘निर्देशन मान्नै पर्छ हजुर !’

बाँके । ट्राफिक प्रहरीको पहिलो काम ट्राफिक नियम पालना गराउनु हो । योसँगै चालकले मापसे गरे/नगरेको, सीटबेल्ट बाँधे/नबाँधेको, हेल्मेट प्रयोग गरे/नगरेको, सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोके/नबोकेको लगायतका विषयमा ट्राफिक सम्बन्धी भएका ऐन, नियम कार्यान्वयन गरी सवारी दुर्घटना न्यूनीकरण न्यूनीकरण गर्नु हो ।

सवारी साधनको चेकजाँच र नियमन गरी सवारी दुर्घटना न्यूनीकरण गर्न राज्यले लाखौं रुपैयाँ खर्च गरेर तयार गरेको जनशक्ति राज्यकै खिलाफमा अवैध धन्दातर्फ उन्मूख हुँदा आमनागरिकले के बुझ्ने ? ट्राफिक नियम पालना गराउने ट्राफिक प्रहरी नै गलत धन्दामा लागेपछि सवारी साधनको चेकजाँच र नियमन कसले गर्ने ? अहिले बाँकेमा ट्राफिक प्रहरीले सवारी चेकजाँचका नाममा ट्राफिक नियम विपरित चल्ने सवारी साधनलाई नियमित आम्दानीको स्रोत बनाइरहेको छ ।

खासगरी राप्ती नदि आसपासबाट निर्माण सामाग्री (ढुङ्गा, गिट्टी, वालुवा आदी) बोकेर कोहलपुर भित्रिने सवारी साधनबाट ट्राफिक प्रहरी पोष्ट शम्शेरगन्जका इन्चार्जले खुलेआम असुली गरिरहेको पाइएको हो । ट्राफिक प्रहरीले मुख्य राजमार्गहरुमा चल्ने ट्रयाक्टर र ट्रिपरबाट अवैध रकम असुल्ने गरेको पाइएको हो । प्रहरी नायव निरीक्षक बाबुराज जिसीले अवैध धन्दाको नेतृत्व गरिरहेका छन् ।

ढकेरी बजार हुँदै सिक्टा नहर कटिसकेपछि थोरै अगाडीबाट दिपक क्रसर उद्योग जाने बाटो छ । राप्ती नदीबाट अगैया, शम्शेरगन्ज हुँदै ओभरलोड बोकेर आउने ट्रयाक्टर र ट्रिपरलाई सोही क्रसर उद्योगतिर मोड्न लगाइन्छ, अनि ओभरलोड क्रसरमा झारिन्छ । यो दैनिकरुपमा चलिरहन्छ । दिपक क्रसर उद्योग र ट्राफिक प्रहरी पोष्ट शम्शेरगन्ज पोष्टका इन्चार्ज बाबुराम जिसीका बीचमा सोही ओभरलोड झारेको हिसाबकिताब हुन्छ प्रत्येक महिनाको १ गते ।

ओभरलोडबापत उठाएको सो रकम सिधैं प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवल पुग्ने गरेको स्रोत बताउँछ । बाँकेमै धेरै रकम उठ्ने पोष्टका रुपमा लिइने शम्शेरगन्जमा वैधानिकरुपमा मात्रै बार्षिक आधा करोड बढी राजस्व संकलन हुने गरेको छ भने अवैध असुली कति हुन्छ भन्ने अनुमान नै लगाउन सकिँदैन । वैधानिकरुपमा संकलन हुने राजस्वबाहेक पनि ठूलो रकम असुली हुने भएपछि प्रदेश र केन्द्रको सिधा नजर शम्शेरगन्ज पोष्टमा पर्छ ।

प्रदेश ५ का ट्राफिक प्रहरी प्रमूखले नै यो पोष्टमा आफूअनुकलका व्यक्तिलाई इन्चार्ज बनाएर पठाउने गरेका छन् । स्रोतका अनुसार हालका शम्शेरगन्ज पोष्टका इन्चार्ज सई बाबुराम जिसी प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमूख प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दका विश्वासपात्र मानिन्छन् । उनलाई प्रहरी उपरीक्षक चन्दले सोझै प्रदेशबाट खटाएका छन् । जिसी ट्राफिक नियम कार्यान्वयनभन्दा ओभरलोड गाडीबाट रकम असुलीमै व्यस्त हुने गरेको ढकेरीबासीहरु बताउँछन् ।

‘ट्राफिक नियम कार्यन्वयन गराउनुको सट्टा ओभरलोड गाडीहरु हेर्दै यहाँका ट्राफिकको दिन बित्ने गरेको छ,’ एक जनाले नाम नछाप्ने सर्तमा भने, ‘उहाँहरु पैसा असुल्नमा मात्रै व्यस्त हुनुहुन्छ ।’ ट्राफिक प्रहरीको असुल्ने धन्दा मात्र चलाएकोले ट्राफिक व्यवस्थापनको दिगो समस्याको सामधान हुन नसकेको उनले आरोप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिरेन्द्र रोकाय आएपछि अवैध असुली पूर्णरुपमा बन्द जस्तै भएको थियो ।

प्रदेशको निर्देशनमै शम्शेरगन्ज पोष्टका इन्चार्जले कमाउधन्दा चलाउँदा जिल्ला ट्राफिक प्रहरीले केही गर्न सक्ने अवस्था नभएको स्रोतको भनाई छ । एसपी गणेश चन्दकै निर्देशनमा शम्शेरगन्ज पोष्टमा खटिएका प्रहरी नायव निरीक्षक बाबुराम जिसीले सानो–सानो कुरामा सवारी चालकहरुलाई दुख दिने गरेको एक जना ट्रयाक्टर चालकले नाम उल्लेख नगर्ने शत्रमा बताए । उनले भने, ‘अनेक बहानामा दुख दिन थालेपछि महिनाको चार/पाँच हजार रुपैयाँ बुझाउँछु, अनि निर्धक्क गाडी चलाउँछु ।’

उनका अनुसार प्रतिट्रयाक्टर चार हजार रुपैयाँदेखि सात हजार रुपैयाँसम्म शम्शेरगन्ज ट्राफिकमा बुझाउनुपर्छ । छतमा धेरै लोड हाल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, भाडा धेरै लिने लगायतका विषयमा प्रहरी नायव निरीक्षक बाबुराम जिसीलाई कुनै वास्ता नभएको शम्शेरगन्जबासीहरुको गुनासो छ । प्रहरी नायव निरीक्षक जिसीले ट्राफिक नियम कार्यान्वयनभन्दा एकान्त सडकमा सवारी रोकेर रकम असुल्ने गरेको सवारी चालकहरुको दुखेसो छ ।

ट्रयाक्टर तथा टिपर व्यवसायीहरुले पनि ट्राफिक प्रहरीले आफुहरुलाई दुख दिने गरेको गुनासो पोखेका छन् । व्यवसायीहरुले आफुहरु ट्राफिक प्रहरीबाट सदैव प्रताडित हुँदै आएको बताएका छन् । एकजना ट्रयाक्टर व्यवसायीले पछिल्लो करिब एक वर्षयता आफुहरुले निर्माण सामाग्री ढुवानीको समयमा ट्राफिक प्रहरीबाट निक्कै समस्या भोग्नुपरेको बताए । शम्शेरगन्जमा ट्राफिक प्रहरीको रवैयाले हामीहरुलाई निकै मार परेको छ,’ नाम नछाप्ने सर्तमा उनले भने ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको असुली बटमलाइन पनि बाँकेको शम्शेरगन्ज ईलाका नै हो । प्रदेश ट्राफिक प्रमुख एसपी गणेश चन्दले शम्शेरगन्ज ट्राफिक प्रहरी पोष्ट इन्चार्जका रुपमा (सई) बाबुराम जिसीलाई खटाएसँगै उक्त क्षेत्रमा अवैध असुली एकाएक बढेको हो । सबैभन्दा बढी सर्वसाधारणहरु तथा सवारी साधानहरुको ओहोरदोहोर हुने क्षेत्र भएकै कारण एसपी चन्दले उनलाई त्यहाँ खटाएको ट्राफिक प्रहरी स्रोतले भन्यो ।

एसपी चन्दले सई जिसीलाई सोझै शमशेरगन्ज पोष्टमा पठाएपछि एसपीकै आडमा असुलीलाई तीब्र बनाएका जिसीले चेकिङ्गका नाममा दुख दिने गरेको स्थानीय प्रदीप ओलीले बताए । ‘बिभिन्न बहानामा असुली गरिरहेकै हुन्छन्, धेरै पटक त म आफैले दुख पाएको छु, अनावश्यकरुपमा जरिवाना तिरेको छु,’ ओलीले भने, ‘उनी ट्राफिक व्यवस्थापनमा भन्दा जरिवाना काट्ने र पैसा असुल्ने नियतले मात्र सडकमा चेकिङ गरिरहेका हुन्छन् । सर्वसाधारणलाई दुख दिएर पैसा असुल्ने काममा मात्र ब्यस्त हुन्छन् ।’

शमशेरगन्जको इन्चार्ज भएर जिसी खटिएपछि कमाउ धन्दाको लागि जथाभावी चेकिङ गरेर सानो–सानो कुरामा सवारी चालकहरुलाई दुःख दिने काम भैरहेको एक जना ट्याक्टर चालकले नाम उल्लेख नगर्ने शर्तमा बताए । ट्राफिक प्रहरी स्रोतका अनुसार एसपी साबले खटाएको मान्छे भन्दै जिसीले मनपरी ढंगले रकम असुली गरिरहेका छन् । एक ट्रयाक्टर चालक भन्छन्, ‘जरिवाना भन्दै रकम असुल्छन्, कहिलेकाहीँ त रसीद पनि दिँदैनन् ।’

सई जिसीले रसीद नदिएरै असुलेको जरिवाना आफ्नै खल्तीमा हाल्ने गरेका छन् । ट्रयाक्टर चालक भन्छन्, ‘जरिवाना भन्दै रकम लिन्छन्, रसीद दिँदैनन् । अनि हामीले अर्को पोष्टमा फेरि जरिवाना तिर्नुपर्छ । रसीद नदिँदा दोहोरो मारमा परेका छौं । जिसी सर, आएपछि दैनिकजसो विभिन्न बहानामा दुःख पाइरहेका छौं ।’ जिसीको रवैयाले कमाईभन्दा दुख भइरहेको उनले बताए । त्यसो त सो क्षेत्रबाट ढुवानी हुने ढुंगा, गिट्टी, मौरङ्ग, र बालुवा जिल्लामा अन्य नाकाभन्दा दोब्बर बढी भित्रिन्छ ।

सो नाका भएर नदीजन्य पदार्थ जिल्लामा धेरै भित्रिने भएकै कारण एसपी चन्दले उनलाई खटाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय स्रोतले बताएको छ । ‘पूर्वी क्षेत्रबाट शमशेरगन्ज हुँदै ओभरलोड भएर आउने ट्रिपर तथा ट्रयाक्टरहरुलाई सेटिङ् मिलाएर छाडिदिने एसपीको निर्देशन छ,’ प्रदेश ट्राफिक प्रहरी स्रोतले भन्यो, ‘निर्देशन मान्नै पर्छ हजुर !’ सवारी चेकजाँचका नाममा शमशेरगन्ज क्षेत्रमा जिसीले एसपीकै निर्देशनमा ओभरलोड ट्रिपर तथा ट्रयाक्टरहरुबाट राम्रै आम्दानी गरिरहेको स्रोतले बतायो ।

‘ओभरलोड सिँधै क्रसर उद्योगमा जान्छ, हरेक महीनाको १ गते हिसाबकिताब भएर रकम आउँछ,’ स्रोतले भन्यो, ‘ट्राफिक प्रहरी स्रोतका अनुसार ओभरलोड भएर आएका ट्रिपरहरु सेटिङ्मा सञ्चालन गरेर उनीहरुबाट मासिकरुपमा राम्रै रकम कमाई भइरहेको छ ।’ यस विषयमा बुझ्न खोज्दा प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमूख प्रहरी उपरीक्षक गणेश चन्दको ९८५१२८०९९७ नम्बरको मोवाइल नम्बरमा बारम्बार सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।

तत्कालिन क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको सेटिङ्मा ओभरलोड ट्रिपर तथा ट्याक्टरहरुलाई ‘लाइन’ दिइन्थ्यो । हाल प्रदेश ट्राफिक प्रहरी कार्यालयले राम्रो कमाई हुने भन्दै शम्शेरगन्ज पोष्टमा सोझै आफू निकटका व्यक्तिलाई पठाउन थालेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले नै ‘लाइन’ दिएपछि ओभरलोड ट्रिपर तथा ट्रयाक्टरहरु महेन्द्र राजमार्गबाट कोहलपुर हुँदै आसपासका गन्तव्यमा पुग्ने गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १३:३१