सूचनाको शक्ति - The Power Of Information

        

४३ डिग्री तापक्रममा १५ घण्टाको ब्रत !

सिराज खान । बाँके । ४३ डिग्रीको तापक्रम अनि शरीर नै पोल्ने गरी चलिरहेको तातो हावा (लु) मा बाँकेका मुस्लिम समुदायका महिला÷पुरुष १५ घण्टाको निराहार रोजा (ब्रत) बसिरहेका छन् । देशकै सबैभन्दा बढी गर्मी हुने स्थानको रुपमा परिचित नेपालगन्जका अधिकांश मुसलमानले गर्मीको प्रवाह नगरी बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म पानीसमेत नखाई रोजा बसिरहेको धार्मिक अगुवा मौलाना अब्दुल जब्बार मन्जरीले बताए ।

‘यही त उपरवालाको परीक्षा हो, उसले हेर्न चाहन्छ प्रतिकूल मौसममा पनि कसले रोजा बसेर त्याग गर्छ र कसले आफ्नो मनोमानी गर्छ’, धर्मगुरु मन्जरीले भने । अत्यधिक गर्मी र तातो हावामा पनि रोजा बस्नेहरुमा धेरैजसो ती सामान्य मानिस छन् जसले विभिन्न कलकारखानामा काम गर्छन्, रिक्सा चलाउँछन् वा मजदुरी गर्छन् । नेपालगन्ज ११ स्थित तामाको भाँडा बनाउने कारखानामा आगोको भट्टीमा काम गरिरहेका मोहम्मद शादाबले यति धेरै गर्मीमा पनि काम र रोजा दुवै सँगसँगै चलिरहेको बताए ।

उनले ४३ डिग्री गर्मीमा आगोको भट्टीमा बसेर काम गर्नु नै ठूलो चुनौती रहेको जनाउँदै त्यसमाथि १५ घण्टाको निराहार रोजा बस्नु त झनै ठूलो कुरा भएको धारणा व्यक्त गरे । शादाब जस्तै सयौँ युवाले अत्यधिक गर्मीमा पनि एकातिर दिनभरि काम गर्छन् भने अर्कोतिर रोजासमेत बसिरहेका छन् । अरबी क्यालेन्डर अनुसार इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान गत मङ्गलबारबाट सुरु भएको छ । रमजान महिनाभरि हरेक वालिग, समझदार महिला तथा पुरुष मुस्लिमलाई रोजा (ब्रत) बस्नु अनिवार्य गरिएको छ ।

रोजा इस्लाम धर्मका पाँचवटा अनिवार्य आधार स्तम्भमध्ये एक हो । अन्य आधारस्तम्भहरुमा ईश्वरमाथि विश्वास गर्नु, नमाज पढ्नु, जकात दिनु र आर्थिकरुपमा सम्पन्न हुनेले साउदी अरबमा गएर हज गर्नु हुन् । बिहान सूर्योदय हुनुभन्दा पहिलेबाट बेलुकी सूर्यास्त हुनुसम्म पानीसमेत नखाएर उपवास बस्नु नै रोजा हो तर वृद्धवृद्धा, अशक्त वा दीर्घ रोगी, यात्री, गर्भवती, रजस्वला भएकी, सुत्केरी वा दूध चुसाउने महिलाका लागि रोजा अनिवार्य छैन ।

रोजाको वास्तविक उद्देश्य दिनभर खानपिनलाई छोड्नु मात्रै नभई यसले मानिसमा आत्मशुद्धि, सन्तुष्टि र अल्लाहको भय उत्पन्न गराउनुका साथै गरिब र खान नपुगेर भोकै बस्नेहरुको दुःख समेत अनुभव गराउनु भएको धर्मगुरु मौलाना मन्जरी बताउँछन् । रोजाले मानिसलाई भलो र सदाचारी बन्न सहायता गर्ने जनाउँदै उनले रोजाबाट मानिसको आत्मिक एवं चारित्रिक उत्थान हुने जानकारी दिए । धार्मिक मान्यता अनुसार रमजान दान, प्रतिदान र क्षमादानको महिना हो ।

यो महिनामा विशेष गरी रोजा राख्नुका साथै गरिबलाई खाना खुवाउन, रोजा खोल्ने व्यवस्था गर्ने र आफ्नो आम्दानीको अढाइ प्रतिशत रकम गरिब असहायलाई वितरण गर्ने गरिन्छ । जसलाई जकात भनिन्छ । रमजानमा सूर्याेदय हुनुपूर्व रोजाको नियतबाट खानपिन गर्नुलाई सेहरी भनिन्छ । सेहरी खानु पनि अनिवार्य नै गरिएको छ । सूर्यास्तपश्चात् रोजा खोल्नका लागि केही खानपिन गर्नुलाई इफ्तार भनिन्छ । इफ्तारमा ढिला गर्नुहुन्न । रमजान महिनामा हरेक राति विशेष किसिमको नमाज पढिन्छ, जसलाई तराविह भनिन्छ ।

तराविहमा कम्तीमा एक पटक सम्पूर्ण कुरानको पाठ गरिन्छ । रोजा र कुरानबीच घनिष्ठ सम्बन्ध रहेको छ । रमजान महिनामै कुरान अवतरित भएकाले यो महिनाको निकै महत्व छ । त्यसैले यो महिनामा धेरैभन्दा धेरै कुरानको पाठ गरिन्छ । रोजाले मानिसका सबै ज्ञानेन्द्रीयलाई कुकर्म गर्नबाट रोकेर राम्रो काम गर्ने प्रेरणा दिने गरेको अर्का मुस्लिम धर्मगुरु मौलाना जमाल अहमदको धारणा छ । रमजानको २९ वा ३० दिनसम्म रोजा बसेपछि ईदको चन्द्रमा निस्कन्छ ।

सो चन्द्रमा निस्केपछि ईद धुमधामका साथ तीन दिनसम्म मनाइन्छ । ईदलाई रोजाको इनामका रुपमा मनाइने पर्वका रुपमा समेत लिइन्छ । रोजा सुरु भएयता नेपालगन्जलगायत मुस्लिम गाउँबस्तीमा रमजानको रौनक बढेको छ । यतिबेला नेपालगन्जमा अत्यधिक गर्मीका कारण दिउँसो सडक तथा बजार सुनसान जस्तै देखिन्छ । तातो हावा(लु) चलिरहेकाले अत्यावश्यक काममा बाहेक मानिस घर बाहिर निस्कन चाहँदैनन् । गर्मीका कारण हुने बिरामी बढिरहेको अस्पतालहरुले जनाएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १२:४५