सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी संगठनलाई नमूना बनाउने डिआइजी पोखरेलको प्रतिवद्धता

काठमाडौं । नेपाल प्रहरीको डीआइजीमा बढुवा भएका विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयमा आइतबार दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गत बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उप–नियम (४) को प्रावधान अनुसार एसएसपीबाट डीआईजीमा बढुवाको सिफारिस गरेको थियो ।

संगठनमा पोखरेललाई व्यवसायिक प्रहरी अधिकृतको रुपमा चिनिन्छ । पोखरेल यसअघि लागुऔषध नियन्त्रण व्युरोमा कार्यरत थिए । ६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डीआइजी पदमा पोखरेलको एकल सिफारिस भएको थियो । डिआइजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरीमा एक पद रिक्त थियो ।

प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्हद्वारा सुशोभन कार्यक्रममा आइजीपी खनालले संगठनलाई इतिहासकै नमूना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्वास, पूर्ण निष्ठा र नयाँ उर्जाका साथ आ–आफ्नो ठाउँबाट अघि बढ्न निर्देशन दिए । प्रहरीका हरेक काम कानुनसम्मत र व्यवहारिकताका साथ सम्पन्न हुँदै संगठनले गति लिइरहेको चर्चा गर्दै उनले भने, ‘मूलभूत रुपमा संगठन गतिशील हुनैपर्छ ।’

नेतृत्वमा रहँदा लिने निर्णय दुरगामी सोचमा आधारमा हुनुपर्ने विचार व्यक्त गर्दै खनालले पदोन्नतिपछि कसरी राम्रो काम गर्ने भन्ने सोच, आफूप्रति विश्वास, कामप्रतिको लगाव, संगठनप्रति समर्पणभाव र व्यक्तिगत निष्ठाले नै सफलता प्राप्त हुने उल्लेख गरे । कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्दै पोखरेलले नमूना संगठन बनाउने प्रतिबद्धता, आकांक्षा र योजनाका साथ प्रहरी महानिरीक्षकले निर्धारण गरेका संगठनका प्राथमिकताको कार्यान्वयन गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरीको इतिहासमा ऐतिहासिक कार्यक्रमको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै पोखरेलले यसलाई संस्थागत रुपमा विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ०८:१७