सूचनाको शक्ति - The Power Of Information

        

जनता झुक्याउदैं नेपालगन्ज उपमहानगर, भित्री सडक घुमेको घुम्यै !

बाँके । नेपालगन्ज उपमहानगरपालिकामा अहिले सडक निर्माण, ढलनिकास जस्ता विकासका कामहरु धमाधम भइरहेका छन् । नगरका विभिन्न वडामा निमार्णाधिन तथा निर्माण भएका कतिपय सडक र नालाहरुको निर्माण भने हास्याँस्पद देखिएका छन् । सडकहरु नागबेलीजस्तो मात्र छैनन् सडकको बीच भागमा बिजुलीका पोलहरु ठाडिएका छन् ।

समथर भाग रहेको र सडक सीधा बनाउन सक्ने अवस्था रहँदा पनि स्थानीय निकायको लापरबाही तथा सडक निर्माणको जिम्मा पाएका ठेकेदारकै बदमासीका कारण सडकहरु घुमाउरो भएका छन् । उपमहानगरभित्र आरयुडिपी आयोजना अन्तरगत निर्माणाधिन तथा निर्माण भएका अधिकांस सडक तथा नालाहरु नागवेली जस्तै छन् । जहाँ गाडी घुम्नै समस्या पर्छ ।

नागवेली सडक तथा नालाहरु निर्माण हुनुले विकासे कामको गुणस्तरता कस्तो होला भन्ने प्रष्ट हुन्छ । अझ सडकमै विजुली र टेलिफोनका पोलहरु रहनुले सडक दुर्घटनाको झन् जोखिम बढेको छ । यस्ता सडक तथा नाला निर्माण हुदाँसम्म उपमहानगरपालिकाबाट रोक्नु वा सुधार्नु त परै जाओस् प्रभावकारी अनुगमनसमेत हुने गरेको छैन ।

अनुगमन भएको भए यस्ता नागबेली सडकहरु समयमै सुधार गरिन्थ्यो । यसरी निर्माण भएका सडक तथा नालाले सडक दुर्घटनाको जोखिम बढाउनुका साथै उपमहानगरलाई नै गिज्याइररहेको छ । सवारी साधन चलाउने हुन् वा सडकमा पैदल यात्रु सबैजना यस्ता बाटोबाट आवातजावत गर्दा दोधारमा पर्ने गरेका छन् ।

उपमहानगरपालिकाकै काम गर्ने तरिका यस्तो छ, भने स्थानीय तहमा गठित स्थानीय उपभोक्तामार्फत गरिएका कामहरुमा समेत त्रुटि देखिएको छ । सडक, नाला सबैलाई चाहिएको छ, तर सडक र नालाका लागि एक ईन्च पनि जग्गा दिन मान्छेहरु तयार छैनन्, उनीहरुसँग प्रभावकारी समन्वय र सहकार्य पनि गरिएको छैन ।

जसरी पनि आफूले पाएको जिम्मा पुरा गर्ने र छिटोछिटो हिसाबकिताब मिलान गर्ने चटारोका कारण ठेक्का पाएका ठेकेदारदेखि उपमहानगरपालिका कर्मचारीहरुसमेत जनतालाई झुक्याउदैं गुणस्तरीयभन्दा पनि संख्यात्मक विकासका योजना दिइरहेका छन् । विकास हुनुपर्छ तर, विकासका लागि केटाकेटी पाराले सडक, नाला निर्माण गर्नु बुद्धिमता नभएको स्थानीय गौरव सिंह बताउँछन् ।

उनले होटल रोयलबाट पूर्व गएको भर्खरै पीच गरिएको सडकका बारेमा बोल्दै भने, ‘यस्तो सडकले त जुनसुकै बेला पनि दुर्घटना निम्त्याउँछ । यसरी सडक निर्माण गर्नुभनेको यो बाटो भएर हिँड्नेलाई मृत्युको मुखमा धकेल्नुसरह हो ।’ पुष्पलाल चोकस्थित रोयल होटलबाट पूर्वतिर गएको बाटोलाई हेर्दा नेपालगन्ज उपमहानगरपालिकामा कस्ता प्राविधिक विज्ञ छन् भन्ने यथार्थता पुष्ट्याँउछ ।

यतिमात्र होइन मध्यपश्चिम ढुवानी सेवा नजिक रहेको नागवेली सडक यति साँघुरो र घुमाउरो छ कि सामान्य चारपाङ्ग्रे सवारी त्यो ठाँउमा सजिलै पार हुन हम्मेहम्मे हुन्छ । उपमहानगरपालिकाले विकासका लागि थालेको काम सकारात्मक छ । हाम्रा वडा वस्तीहरु पीच हुँदैछन्, ढल निकासीका लागि नालाहरु निर्माण भइरहेका छन् । तर, दीर्घकालिन सोँच नराखी जबरजस्त नागबेली सकड र नाला निर्माण गर्नु विकास नभइ धराप हो स्थानीय केशर पुनले बताए ।

उपमहानगरपालिकाले निर्माण गरेको सडक तथा नाला प्रतिनिधी घटना मात्र हो । यस्ता नागबेली सडक तथा नालाहरु हामी उपमहानगरपालिकाका विभिन्न वडाहरुमा छरपस्ट देख्न सक्छौं । नेपालगन्ज उपमहानगरभित्रका कारकाँदो रोयल होटल पूर्वी लाइन, बेलासपुर, गणेशपुर, पुरैना, बाँकेगाँउ लगायतका क्षेत्रमा निर्माण भएका र भइरहेका सडक तथा नालाहरुको अवस्था पनि उही नै छ ।

यी सवै स्थानका सडक तथा नालाहरु ठेकेदार र उपभोक्ताले आफूखुसी सिमिति ब्यक्तिलाई खुसी पार्न बनाइदिदाँ सडक निमार्णसगैं दुर्घटनाको जोखिम पनि बढेर आएका छन् । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालित विकास निर्माणको गुणस्तरता तथा यसको प्राविधिक मापन कसले गर्ने ? भविष्यमा हुने जोखिमको जिम्मेवारी को बन्ने ? भन्ने जस्ता थुप्रै प्रश्न उपमहानगरपालिकाप्रति तेर्सिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतवार १५:४९