बाँके । नेपालगन्जमा गर्मी अन्यन्तै बढेको छ । शनिबार यहाँको तापक्रम अहिलेसम्म कै उच्च विन्दुमा पुगेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जका अनुसार शनिबार अधिकतम ४३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।
कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले भनिन्, ‘शनिबार यहाँ यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरियो । जुन अघिल्ला वर्षको यही अवधिको तापक्रमभन्दा धेरै हो । उहाँका अनुसार नेपालगन्जमा सन् २०१२ जुन १४ मा अहिलेसम्मकै सर्वाधिक तापक्रम ४५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सर्वाधिक गर्मीका साथै तातो हावा (लु) चल्न थालेपछि यहाँको जनजीवन झन उकुसमुकुस बनेसँगै नेपालगन्जमा गर्मी छल्न प्रयोग गरिने विद्युतीय सामाग्रीको व्यापार ह्वात्तै बढेको छ । गर्मी बढेसँगै चिसो रहनका लागि आवश्यक समान किन्न बजार धाउनेहरुको संख्या बढ्न थालेको छ । गर्मी बढेसँगै विद्युतीय सामाग्रीप्रति उपभोक्ताको आकर्षण बढ्दो छ ।
गर्मीबाट बच्न उपभोक्ताहरु पङ्खा, एसी, कुलर लगायतका विद्युतीय सामाग्रीप्रति आकर्षित बनेका छन् । त्यसैले पनि यी व्यवसायमा सक्रियहरुलाई यतिवेला भ्याइ नभ्याइ छ । वैशाखको सुरुवातदेखि नै बढेको पङ्खा, एसी, कुलरको व्यापार महीनाको अन्तिमसम्म आइपुग्दा दोब्बरले बढेको छ । अझै पङ्खा, एसी, कुलर लगायतका विद्युतीय सामाग्रीको ब्यापारमा बृद्धि हुने व्यवसायीहरुको विश्वास छ ।
नेपालगन्जको घरबारी टोलमा रहेको सहनाज इलेक्ट्रोनिक्सका सञ्चालक सफिक अहमद साहका अनुसार गर्मी बढेसँगै गर्मीका समयमा प्रयोग गरिने विभिन्न घरायसी विद्युतीय सामाग्रीहरुको व्यापार बढेको छ । गर्मीमा प्रयोग गरिने पङ्खा, एसी, कुलरलगायतका सामाग्रीहरुको माग बढ्दै गएको सञ्चालक साहले जानकारी दिए ।
बजारमा एलजी, सामसुङ ब्रान्डका साथै भारतीय ब्राण्डका पंखा, कुलर, एसीजस्ता समाग्रीहरुको माग बढी भएको उनले बताए । उनको पसलबाट पछिल्लो एक सातायता यस्ता सामाग्रीहरुको दैनिक विक्री संख्या तुलानात्मक रुपले बढेको पाइएको छ । सञ्चालक साहले भने, ‘गर्मी बढेपछि औषत व्यापार हुने भएपनि केहि दिनयता गर्मी छल्न प्रयोग गरिने घरायसी सामाग्रीहरुको खपत बढेको छ ।’
नेपालगन्ज–१९ का रविन शर्मा गर्मी अत्याधिक बढ्ेका कारण आफूले घरमा एसी जोड्न बाध्य हुनुपरेको बताउँछन् । ‘गर्मीले रातभर सुत्न गाह्रो भयो, एसी जोडेपछि गर्मीबाट बच्न थोरै भएपनि राहत मिलेको छ,’ शर्माले भने । गर्मी अत्याधिक बढेपछि उपभोक्ताहरुले विद्युतीय सामग्रीहरु खरिद गरेर प्रयोग गर्न थालेका हुन् ।
नेपालगन्जमा तीन दर्जन बढी इलेक्ट्रोनिक्स पसल रहेका छन् । यी सबै पसलमा गर्मी छल्न प्रयोग गरिने घरायसी सामाग्रीहरुको विक्री बढेको छ । व्यवसायीहरुले अघिल्लो बर्षको तुलनामा यसबर्षको गर्मीमा ५० देखि ६० प्रतिशतसम्मको व्यापार बढ्ने लक्ष्य लिएका छन् । उनीहरुका अनुसार अहिले नेपाली बजारमा दर्जनौं नाम तथा ब्राण्डका हिटरहरु भित्रिएका छन् ।
नाम र कम्पनी अनुसार मूल्य पनि फरक फरक रहेको व्यवसायीहरु बताउँछन् । बजारमा नक्कली सामानको बिगबिगी रहेकाले उपभोक्ताले पनि सामग्री खरिद गर्दा त्यसको ग्यारेन्टी, वारेन्टी, ब्रान्ड तथा फिचरका बारेमा सजग हुन जरुरी छ ।
सत्यपाटी - ।