बाँके । नेपालगन्जका पत्रकार तथा सामाजिक अभियन्ता विशाल राना मगरले शुक्रबार नेपालगन्ज उपमहानगरपालिकालाई व्यंग्य गर्दै फेसबुकमा स्टाटस लेखेपछि उनले स्टाटसमा राखेको फोटो भाइरल भयो । उनले राखेको फोटो एकपछि अर्को गर्दै फेसबुकका भित्ताभर फैलियो । उनले नेपालगन्जको फोहर व्यवस्थापन र मेडिकल माफियाहरुको अटेरीलाई दर्शाउँदै स्टाटस लेखेका थिए ।
उनले फोहरको फोटो कैद गरी सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेपछि नेपालगन्जको फोहर व्यवस्थापन र मेडिकल माफियाहरुको अटेरी छर्लङ्गै बाहिर आएको हो । उनले फेसबुक फोटो शेयर गर्दै प्रश्न तेर्साएका छन्, ‘हामी जनताले प्रत्यक्ष अप्रत्यक्षरुपमा राज्य (नगरपालिका)लाई कर तिर्छौ । तर, नगर सफा राख्नुपर्ने ठेक्का नगरपालिकाको मात्र हो र ?’
उनले यसरी अलपत्र अवस्थामा फालिएको फोहोरलाई केन्द्रित गर्दै भनेका छन्, ‘यसरी फालिएको औषधिजन्य फोहोरले मानव स्वास्थ्यमा असर पार्ने हुदाँ जथाभावी बाटोमा ल्याएर औषधि मिल्क्याउनेलाई पहिचान गरि कारवाही होस् । यसरी सडकमै फोहोरमैला फ्याक्ने तथा सडकको फोहोर ब्यबस्थापनका लागी उपमहानगरपालिकाको ठोस योजना खै ?
उनले शेर गरेका फोटोमा नेपालगन्जका थुप्रै ब्यक्तिहरुले आफ्नो तर्क पनि राखेका छन् । यो त एउटा प्रतिनिधि घटनामात्र हो । तर, दिनहुँजसो नेपालगन्जमा निस्किने जोखिमयुक्त फोहरजन्य पदार्थमा नागरिकको जागरुकता र गल्ती गर्नेलाई कारबाही नगर्दासम्म उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जति नै डम्फू पिटे पनि नगरको फोहोर व्यवस्थापन हुन सक्दैन ।
यस्तो छ उनले फेसबुकमा लेखेको स्टाटस
https://www.facebook.com/bishalnews/posts/10156362356912877
उनले लेखेको स्टाटसले नेपालगन्ज उपमहानगरपालिकाले नगरको फोहर व्यवस्थापनमा उदासिनता देखाएको प्रष्ट झल्को दिन्छ । नगरमा फोहोर गर्ने जोसुकैलाई कारबाही गरी फोहर व्यवस्थापनमा सक्रिए हुने उद्घोष गरेको उपमहानगरपालिका यसप्रति उदासिन बनेको हो । यसअघि नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले कडा अभियान चलायो ।
फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले कुनै कसर बाँकी राखेन । तर, गल्ती गर्नेलाई कानूनको दायरामा भने ल्याउन सकेको अवस्था छैन । यस्तै शुक्रबार नेपालगन्ज उपमहानगरपालिका सुर्खेतरोड सिग्नेट होटल नजिक मेडिकलले ठूलो लापरबाही गरेको छ । मेडिकलबाट खेर गएका औषधि तथा मेडिकलजन्य फोहोरहरु आफूखुसी सडकमा छरपस्ट फालिदिदाँ नगरको सौन्दर्य विग्रनुका साथै मानव स्वास्थ्यमा जोखिम बढेको छ ।
म्याद गुज्रिएका औषधि दादागिरी शैलीमा मेडिकलले सडकमै छरपस्ट फालिदिँदासमेत उपमहानगरपालिकाले दोषी पत्ता लगाई कारबाही गर्नसमेत चासो दिएको छैन । कसले र किन यसरी सडकमा म्याद गुज्रिएका औषधिजन्य बस्तु फाल्यो त्यो अझै पत्ता लाग्न सकेको छैन । औषधि बेचेर मोटो रकम असुल्ने यस्ता नाफाखोर मेडिकलका कारण सर्वसाधारणले सास्तीसमेत खेप्नु परेको छ ।
अझ मेडिकलबाट निस्किने जोखिमयुक्त फोहरहरु पनि सडकमै मनोमानी ढंगबाट फालिदिँदा सो स्थान भएर हिड्ने मानव तथा पशुलाई समेत यसले असर पार्ने जोखिम बढेको छ । यद्यपी उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई ध्यानमा राख्दै फोहोर व्यवस्थापनमा ध्यान नदिने नगरबासीलाई कडा कारबाही गर्ने यसअघि नै बताइसकेको छ । तर, उपमहानगरको फोहर व्यवस्थापनमा यहाँका नागरिकले देखाएको उदासिनताप्रति उपमहानगर मौन छ ।
घर, ब्यवसाय, पसल, होटल तथा उद्योग लगायतबाट निस्किने हुने फोहोरजन्य पदार्थलाई यत्रतत्र सर्वत्र फालिएको देखिन थालेको छ । पछिल्लो समय अस्पताल तथा अस्पतालजन्य फोहोरले नेपालगन्जको सौन्दर्य विगार्नुका साथै विभिन्न रोग र संक्रमणको जोखिम बढाएको छ । नेपालगन्जको सुर्खेतरोड होटल सिग्नेट नजिक शिवाज र साई फर्मा अगाडी म्याद गुज्रिएका विभिन्न ब्राण्डका औषधि सडकमै छरपस्ट फालिएका छन् ।
म्याद गुज्रिएका ट्याबलेट, औषधीका बोतल सडक पेटीसँगै त्यसै फालिँदासम्म सम्बन्धित मेडिकल स्टोरलाई पहिचान गरि कारबाही समेत गर्न उपमहानगरपालिकाले चासो दिएको छैन । अझ उपमहानगर क्षेत्र वरपर उत्पादन हुने अधिकांस फोहर सडकमै जलाइने गरिएको छ । उपमहानगरभित्रका मुख्य र सहायक सडकहरुमा विहान र साँझको समयमा फोहर संकलन गरी जलाइने गरिन्छ ।
नेपालगन्जमा दिनहुँ उत्पादन हुने गरेको ३५ टन फोहरमध्ये २० टनमात्र व्यवस्थापन गर्ने गरिएको एक तथ्यांकले यसअघि प्रष्ट्याएको छ । नगरको फोहोर व्यवस्थापन पूर्णरुपमा नहुँदा बाँकी फोहर सडकमै जलाइने गरेको स्थानीयको भनाई छ । जस्तुसुकै फोहर सडकमा राखेर जलाउँदा नगरको वातावरण दिन प्रतिदिन विग्रदै गएको स्थानीयले गुनासो समेत गरेका छन् ।
किराना पसल, रेष्टुरेण्ट, मेडिकल लगाएतबाट दिनहुँ निस्कने फोहोरको सहि व्यवस्थापन हुन नसक्नु र मनपरी सडकमा फाल्नु, जलाउनुले मानव शरीरमा यसले नकरात्मक असर पार्ने चिकित्सकहरु बताउँछन् । यसरी छरपस्ट फालिने र जलाइने फोहोरले स्वासप्रस्वास, दम, एलर्जी तथा घातक रोगसमेत लाग्न सक्ने सम्भावना बढ्ने चिकित्सक बताउँछन् । सडकमा फ्याँकिने र जलाइने यस्ता फोहरहरु अधिंकास प्लाष्टिक तथा अस्पतालजन्य (मेडिकलबाट) उत्पादन भएका फोहरहरु हुन्छन् ।
विभिन्न अध्ययनहरुले खुलारुपमा मेडिकलजन्य फोहोर तथा प्लाष्टिक फालिदिँदा र जलाइँदा वातावरणसँगै मानव तथा पशुपक्षीमा नकारात्मक प्रभाव पार्ने देखाएको छ । त्यसबाट निस्कने धुवाँका कारण दम, मुटुको रोग लाग्ने, टाउको दुख्ने र कलेजो एवं मृगौलालाई नकारात्मक असर गर्ने देखिएको छ । प्लाष्टिक जलाउँदा निस्कने डाइअक्सिन र फ्युरान्स नामक विषादीहरु क्यान्सर र स्वासप्रस्वास सम्बन्धी रोगको कारक बन्ने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ ।
वातावरणमा दीर्घकालिन असर गर्ने मेडिकलजन्य फोहर र प्लाष्टिक खुलारुपमा सडकमै छरपस्ट फाल्नु र जलाउनुले नेपालगन्जलाई स्वच्छ बनाउन चुनौतीपूर्ण छ । नेपालगन्ज उपमहानगरभित्र सञ्चालन भइरहेको सरसफाई अभियानलाई नै लत्याएर फोहर गर्नेलाई उपमहानगरले कस्तो कारबाही गर्ला ?
सत्यपाटी - ।