सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यका लागि बहुगुणी र लाभदायक सातु, गर्मीसँगै बिक्री बढ्यो

बाँके । दिनहुँ बढिरहेको गर्मीबाट बच्न नेपालगन्जबासी विभिन्न उपाय अपनाउने गरेका छन् । कोही घरेलु उपायमा चिसो सरवत पानीबाट आफ्नो प्यास मेटाउदै गर्मी छलिरहेका छन् भने कोही विभिन्न प्रकारका चिसो पेयपदार्थ पिएर गर्मी भगाइरहेका छन् । देशकै उच्च गर्मी हुने स्थान नेपालगन्जमा पछिल्लो एक हप्तादेखि गर्मी ह्वात्तै बढेको छ ।

प्रचण्ड गर्मीमा यहाँका स्थानीयबासी गर्मी छल्न सातु खाने गरेका छन् । यसैसँगै सातुको ब्यापार पनि ह्वात्तै बढेर आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २१ पुरैनाका सातु ब्यापारी विजयपाल भुजुवाले दिनहुँ ५० देखि ६० केजीसम्म सातु विक्री गर्ने गरेको बताए । उनले भने, ‘स्वास्थ्य तथा धार्मिक परम्पराको दृष्टिकोणले सातु खानु, दान गर्नु राम्रो मानिन्छ ।’

सदरलाइन, एकलैनी, त्रिवेणीमोड छेउछाउ ठेलामा सातु बेच्दै आएका भुजुवाले दिनहुँ रु.सात हजारसम्मको ब्यापार गर्ने गरेको बताउनुभयो । यस्तो गर्मीको समयमा पनि नेपालगन्जदेखि करिब ४ किमी पूर्व पुरैनाबाट ठेलामा सातु राखेर बेच्दै आउने गरेको सुनाए । यस्तै सोही स्थानका अर्का सातु ब्यापारी रामप्रसाद भुजुवाले दैनिक रु.पाँच हजारसम्मको सातु बेच्ने गरेको बताए ।

उनले भने, ‘गर्मी बढेसँगै सातुको माग ह्वात्तै बढेको छ । जौं तथा चनाबाट बनाइने सातुको माग राम्रो छ ।’ जौँबाट बनेको सातु प्रतिकिलो रु.एक सय तथा चनाको सातु प्रतिकिलो रु.दुई सयमा विक्री हुँदै आएको छ । धार्मिक तथा स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण मानिएको सातुको उपलब्धता भने सहज हुन सकेको छैन ।

पहिले सवैले आफ्नो घरमा जौँको सातु बनाउने र त्यसलाई प्रयोग गर्ने गर्दथ्ये, तर समयसँगै सवैले आ–आफ्नो घरमा सातु बनाउन नसक्ने भएपछि यसको माग पनि विस्तारै घटेर गएको थियो । तर, पछिल्लो समय यसको ब्यापार हुन थालेपछि माग बढेको हो । नेपालगन्जस्थित त्रिवेणी मोडमा सातु बेचिरहेका नेपालगन्ज–२१ का पप्पु भुजुवाले गर्मी समयमा हरेक वर्ष सातुको पसल थाप्ने गरेको बताए ।

उनले भने, ‘सातुको प्रयोग हाम्रा पुर्खाहरुले गर्दै आएका थिए ।’ दुई हप्तादेखि सातुको पसल थापेर हालसम्म रु.३५ हजार बढीको बिक्री गरेको उनी बताउँछन् । उनीसँगै विनोद भुजुवा, सीताराम भुजुवा र अर्जुन भुजुवाले पनि सातु बिक्री गर्दै आएका छन् ।

स्वास्थ्यका दृष्टिकोणमा सातु

गर्मी समयमा बिक्री गरिने सातु स्वास्थ्यका दृष्टिकोणले निकै बहुगुणी मानिन्छ । यसका साथै धार्मिक मान्यता तथा परम्पराले पनि महत्वपूर्ण मानिन्छ । जौंको सातु खाँदा शितलता प्राप्त हुन्छ । यसले रगतको तापमानलाई नियन्त्रण गर्छ । गर्मी तथा ज्वरोलाई रोक्छ । पुरानो ज्वरो, टिबी तथा खोकीका लागि पनि जौंको प्रयोग गर्नु लाभदायक मानिन्छ ।

जौंको प्रयोग गर्नाले शरीर सुन्निएको कम गर्ने, मोटोपन घटाउने, मुलायम त्वचाका लागि तथा गर्भपतन लगायतमा उपयोगी हुने गरेको चिकित्सक बताउछन् । सातुु जौंलाई भुटी पिसेर बनाइएको पीठो हो जसलाई विभिन्न तरिकाबाट उपभोग गर्ने गरिन्छ । सातुलाई चिनी, मिश्री, गुडको मिश्रणमा पानी मिसाएर खाने चलन रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार १३:३२